बागमती सरकारद्वारा तीन महिनामा सात अर्ब ६४ करोड राजस्व सङ्कलन
सारांश
- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक लक्ष्यको ११.३४ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
- घरजग्गा रजिष्ट्रेसन र सवारी साधन कर राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ, तर लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन।
- आर्थिक तरलता, जेनजी आन्दोलनका कारणले राजस्व सङ्कलनमा कमी आएको सूचना अधिकारी पौडेलले बताए।
हेटौँडा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशतअर्थात् रु सात अर्ब ६४ करोड ५० लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ ।
घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउनदेखि असोजसम्ममा लक्ष्यको १४ दशमलव २१ प्रतिशतअर्थात् रु चार अर्ब ३८ करोड ८३ लाख १३ हजार मात्र राजस्व सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।
उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकमा तीन महिनाको अवधिमा त्यसको करिब १३ दशमलव ३१ प्रतिशत अर्थात रु एक अर्ब दुई करोड ५२ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।
यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारी चालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शिर्षकबाट आव २०८२/८३ मा रु आठ अर्ब २५ करोड अनुमान गरिएकामा असोजसम्म २१ दशमलव १७ प्रतिशत अर्थात रु एक अर्ब ७४ करोड ६१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।
प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा रु एक अर्ब १५ करोड ४६ लाख आठ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु ४२ करोड ११ लाख ३३ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सङघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा रु दुई अर्ब ३३ करोड ९९ लाख १६ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए ।
यस्तै चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा रु ८७ करोड आठ लाख २० हजार मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारी साधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण