शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन

बिहीबार, ०६ कात्तिक २०८२, १४ : २९
बिहीबार, ०६ कात्तिक २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् । 

तिहार, नेपाल सम्वत र छठ लगायत वर्षका अवसरमा मङ्गलवार ललितपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए । उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे । 

‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौँ र अरू दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौँ ।’

केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए । 

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेड म गएका थियौँ । हामीले भन्यौंं  चुनावको पक्षमा छौँ । हामी चुनावको वातावरण बनाउँछौँ तर अरूका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौँ,’ पुनले भने ‘आज पनि सात पार्टीहरूलाई राष्ट्रिय पार्टीहरूलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ । हामी जान्छौँ ।  हामी यही कुरा भन्छौँ ।’

पुनले २३ गनेको जेनजी आन्दोलन सही भएको र २४ गतेको विध्वंस जेनजीले नभई घुसपैठिया समूहले गराएको बताए । २३ र २४ गतेका दुवै अपराध कर्ममा संलग्नमाथि कारबाही गर्न पुनले सरकारसँग माग गरे । 

विघटित प्रतिनिधिसभाका दुई ठुला दल काँग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेनजी आन्दोलनमार्फत विष्फोट भएको पुनको भनाइ थियो । 

ओलीको स्वेच्छाचारिता, निरङ्कुशता र भ्रष्ट चरित्रविरुद्ध नयाँ पुस्ताको अगुवाइमा जनता सडकमा आएको पुनले बताए । प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटक पटक कार्यशैली सुधार्न र जनताको भावना बुझ्न आग्रह गरे पनि सरकारले नसुन्दा विस्फोटको अवस्था आएको उनले उल्लेख गरे । 

आफ्ना अध्यक्ष प्रचण्डले जनताको सोही आक्रोश समयमै बुझेर लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्नै आउँछन् भनेको स्मरण पुनले गरे । तर, सोही भनाइलाई आधार बनाएर अहिले केही शक्तिले सिंहदरबार जलाउन माओवादी संलग्न रहेको भन्दै आरोपित गर्न खोजेको बताए ।

प्रचण्डले सिंहदरबार जलाउन नभई सरकारलाई जनतामा बढ्दै गएको असन्तुष्टिलाई साङ्केतिक रूपमा व्यक्त गरेको व्याख्या पुनले गरे । माओवादी र अरू पार्टी एकै हुन् भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइराखेको भन्दै उनले सुशासनको मामिलामा अरू र माओवादी फरक भएको दाबी गरे । संयोजक प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेको काम त्यसको उदाहरण भएको तर्क पुनको छ । 

पुनले विगतमा चर्चामा रहेका सबै भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने भन्दै त्यसमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए । 

आफूहरूले सरकारमा बसेर पार्टी नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप