युवाहरूलाई राजनीतिमा हस्तक्षेप गर्न आह्वान
सारांश
- राष्ट्रका लागि युवा अभियानले फागुनमा हुने निर्वाचनमार्फत युवाहरूलाई राजनीतिमा हस्तक्षेप गर्न आह्वान गरेको छ।
- वक्ताहरूले वर्तमान राजनीतिक दलहरू अध्यक्षहरूको निजी कम्पनीसरह बनेको र युवा पुस्तालाई नेतृत्वमा पुग्न नदिने वातावरण बनाएको बताए।
- जेनजी विद्रोह पवित्र उद्देश्यका साथ सुरु भए पनि घुसपैठले आन्दोलनलाई दूषित बनाएको र युवाहरूलाई सशक्त आवाज उठाउन आह्वान गरिएको छ।
जनकपुरधाम । राष्ट्रका लागि युवा अभियानले आउँदो फागुन महिनामा हुने निर्वाचनमार्फत युवाहरूलाई राजनीतिमा हस्तक्षेप गर्न आह्वान गरेको छ।
शुक्रबार जनकपुरधाममा आयोजित ‘बदलिँदो परिस्थितिमा देश, मधेस र युवाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले जेनजी विद्रोहको मूल म्यान्डेट भ्रष्टाचारको अन्त्य र राजनीतिमा युवा पुस्ताको नेतृत्वदायी भूमिकाको सुनिश्चितता भएको बताउँदै, अब युवाहरूले मतदान र चुनावी हस्तक्षेपमार्फत परिवर्तन ल्याउनुको विकल्प नरहेको धारणा व्यक्त गरे।
वक्ताहरूका अनुसार, वर्तमान राजनीतिक दलहरू अध्यक्षहरूको निजी कम्पनीसरह बनेका छन्, जसले नयाँ पुस्तालाई नेतृत्वमा पुग्नै नदिने वातावरण बनाएको छ। उनीहरूले त्यस्तो प्रवृत्तिको विरुद्धमा विद्रोह अपरिहार्य भएको बताए।
राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाले जेनजी आन्दोलनले भ्रष्ट नेताहरूका लागि ठुलो चेतावनीको काम गरेको उल्लेख गर्दै भने, ‘शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डका जलेका घरलाई म्युजियम बनाएर राखिनु पर्छ, जसले भविष्यका नेताहरूलाई भ्रष्टाचार नगर्न प्रेरणा देओस्।’
उनका अनुसार, जेनजी विद्रोह पवित्र उद्देश्यका साथ सुरु भए पनि त्यसमा भएको घुसपैठले आन्दोलनलाई केही हदसम्म दूषित बनाएको छ । उनले घुसपैठ र अवसरवादका विरुद्ध युवाहरूलाई सशक्त आवाज उठाउन पनि आह्वान गरे ।
डा. झाले सङ्घीयताको विरुद्धमा उभिएका पुरातनवादी सोचका नेताहरूको आलोचना गर्दै भने, ‘सङ्घीयता र पहिचानको पक्षमा मधेसी युवाहरूले दृढ र सशक्त प्रतिकार गर्नुपर्छ ।’
वक्ताहरूले आगामी निर्वाचन स्वच्छ र निष्पक्ष हुने सम्भावना रहेकोले युवा पुस्ताका लागि यो सुनौलो अवसर भएको पनि बताए।
जनमत पार्टीबाट विद्रोह गरेका नेताहरूको अगुवाइमा सुरु भएको ‘राष्ट्रका लागि युवा अभियान’ ले मधेसका सबै जिल्लामा यस्ता अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ।
कार्यक्रममा अभियानका अगुवाहरू डा. शरदसिंह यादव, संजय यादव सहित जनकपुरधामका दर्जनौँ युवाहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण