शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अतीतबाट साभार

लेखक : कोही खामबन्दी, कोही भिखारी

शनिबार, ०८ कात्तिक २०८२, ०९ : ००
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • लेखकलाई थ्री पिस सुट उपहार दिँदा प्रकाशक र लेखक दुवैलाई दुःखका दिन सुरु भए।
  • लेखकलाई सुटको कपडा दिएकोमा प्रकाशकको आलोचना भयो, र उनलाई जालसाजीको आरोप लाग्यो।
  • लेखकलाई भिखारी लेखकको श्रेणीमा राख्दै, खामबन्दी लेखकलाई प्राथमिकता दिइयो।

उपहारमा थ्री पिस सूटको कपडा प्राप्त भयो । वास्तवमा यत्रो उपहार पाएर सुखका दिन सुरु हुनुपर्ने हो, तर सुरु भए दुःखका दिन । उपहार दिने प्रकाशक थियो, उपहार पाउने लेखक । दिने मनकारीले दियो, पाउने हकवालाले पायो । यहाँसम्म कुरो ठिकै थियो । तर दिनु र पाउनुको क्रिया सम्पन्न हुनु के थियो, दुबैका दुःखका दिन सुरु भए । उपहार दिने मनकारी प्रकाशकका पनि, उपहार पाउने सौभाग्यशाली लेखकका पनि ।

असलमा उपहार दिने मनकारी मनुवा मेरा प्रकाशक हुन् । उपहार पाउने सौभाग्यशाली लेखक मै हुँ । झ्याट्ट सुन्दा जोकोहीलाई यो कुरा पत्याउन गाह्रो पर्ला । प्रकाशकले लेखकलाई उपहार दिन्छ ? त्यो पनि नेपालमा ? त्यो पनि थ्री पिस सूटको दामी कपडा ? यी प्रश्नमा प्रकाशकको अनुदार र कन्जुस चित्र खिचिन्छ । खासमा भोगिएको कटु यथार्थको सही चित्र हो यो । तर मेरा प्रकाशकले सरदर प्रकाशकको परिचित प्रवृत्ति विपरीत कर्म गरे । तिनले मलाई थ्री पीस सूटको कपडा खसोखास उपहार दिए । यो मेरा लागि सर्वथा अनपेक्षित र असम्भव लाभ थियो । 

यथार्थतः प्रकाशक लेखकलाई दिउँला भनी बाकाइदा सहीछाप ठोकेको लेखकस्व पनि दिँदैन । सरदर प्रकाशक सहीछाप ठोकेर पाण्डुलिपि लिन्छ, पुस्तक छाप्छ र हिजोको आजै बोलकबोल बिर्सिन्छ । म्यासेज पठायो, उत्तर आउँदैन । फोन गर्‍यो, फोन उठ्दैन । धाएर प्रकाश कहाँ गयो, पैसो घरैमा पठाइदिउँला भनी भाका राखेर लेखकलाई खाली हात फर्काउँछ । भाका गुज्रिन्छ, पैसो आउँदैन । तर अपवादजन्य यो मामिलामा उदेक भयो, प्रकाशकले लेखकलाई उपहार दियो ! उपहार पनि चानचुने होइन, थ्री पिस सूटको कपडा ! कपडा पनि चानचुने होइन, गाउँको मैमत्त ठालु वा सिंहदरबारको ठ्याण्के मन्त्रीले सूट लाउने दर्जाको शानदार कपडा ! 

जे एन दाइले ‘पहिलो पटक राजधानी टेकेपछि सूट त लाउनैपर्छ’ भने । मलाई पैसा फारु गर्नु थियो । तर जे एन दाइको वचन नमान्न असम्भव भयो ।

मलाई नचिताएको उपहार प्राप्त भयो, र मेरा लागि यो विरल खुशीको कुरा भयो । तर यो उपहार मैले गर्ने के ? मलाई पर्‍यो फसाद । सूट लगाउने न मेरो हैसियत छ, न त यसमा मेरो रुचि र बानी नै छ । यति लामो जीवनमा मैले जम्मा दुई पटक सूट सिलाएको छु । यी दुवै पटकका सूट मेरो रुचि र रोजाइका नतिजा किमार्थ होइनन् । 

तेइस सालमा आइएको जाँच दिन पूर्वी पहाडी भित्तोबाट काठमाडौँ आएँ । पूर्वनिवासी नाताले कुटुम्ब पर्ने कृपाकारी जनले काठमाडौँमा मलाई आश्रय दिए । आश्रयथलोमा एकजना जयनारायण सेढाईँ उर्फ सबैका जे एन दाइ थिए । हास्यरसप्रेमी जे एन दाइ मेरा प्रेमिल अभिभावक बने । घरबाट मैले लुगाभित्र कम्मरमा छरितो पटुकामा ६ सय रुपियाँ लुकाएर ल्याएको थिएँ । 

जे एन दाइले ‘पहिलो पटक राजधानी टेकेपछि सूट त लाउनैपर्छ’ भने । मलाई पैसा फारु गर्नु थियो । तर जे एन दाइको वचन नमान्न असम्भव भयो । सूटको कपडा उनैले किनिदिए । मलाई टेलरकहाँ लगेर उनैले सूट छेकाए । जे एन दाइको करले सिलाएका चिटिक्क परेका सूट लगाएर पिच रोडमा छालाका चुच्चे जुत्ता ट्याकट्याक बजाउँदै मैले त्रिचन्द्र कलेजमा बीएको पढाइ छिचोलेँ । 

‘सूट किन्न न मसँग मनग्गे पैसा छ, न लाउन मलाई रहर छ,’ आफ्नो औकात र रुचिको कुरा मैले गरेँ ।

पछि एकतीस सालमा बन्दिपुर, तनहुँबाट बिहाका लुगाफाटो किन्न म काठमाडौँ आएँ । किनमेलको अनुभव मसँग एकरत्ती थिएन । किन्नुपर्ने के–के हो ? खल्तीमा बोकी ल्याएको पैसाले कुन मार्काका के–के जिनिस किन्न पुग्ने हो ? यो अज्ञात व्यवहारमा म वाम गायक रायनको पूरापूर भर परेँ । मित्र रायन परे प्रतिशतमा अलि बढी प्रगतिशील, अलि कम कर्मकाण्डी । भनूँ भने, करिबन एकाउन्न प्रतिशत प्रगतिशील, उनन्चास प्रतिशत कर्मकाण्डी । आफ्ना कुरामा जोड दिँदै रायन दाइले भने, ‘एकबारको जुनीमा एक पटक गरिने बिहामा सूट त लाउनैपर्छ खगेन्जी ।’ 

‘सूट किन्न न मसँग मनग्गे पैसा छ, न लाउन मलाई रहर छ,’ आफ्नो औकात र रुचिको कुरा मैले गरेँ । रायन दाइको जरुवा जिद्दी न हो, जिद्दी गर्न छाडे पो ! आखिरमा उनको अटल जिद्दीको मान राख्न सूट सिलाउन म विवश भएँ । थर्ड क्लासको कपडा किनियो र सामान्य तहको टेलरकहाँ सूट सिलाइयो । अनि सूट लगाएर मेरो बिहा भयो । बिहामा खिचेको मेरो सूटधारी फोटो जीवनको फ्याँ नाटकको लज्जालु जोक्करको जस्तो देखियो । 

बन्दिपुरमा मेरा एक रैथाने लाल मित्र थिए, मिस्टर राजकुमार प्रधान । उनलाई बिहामा लगाउन सूट नभई भएन, सूट सिलाउन उनको औकात थिएन । त्यसैले मेरो बिहाको सूटमा सजिएर उनको बिहा भयो । सूट थियो एक थान, बिहा गरायो त्यसले दुई जबानको— गजप भयोे ! मित्र राजकुमारको बिहाको सूटधारी फोटो पनि जीवनको प्mयाँ नाटकको लज्जालु जोक्करकै जस्तो देखियो । 

एक पटक होइन, दुई पटक होइन, कति पटक ढाँट्नु ? आखिरमा मैले थ्री पिस सूटको कपडाका दुईवटा प्यान्ट सिलाएँ ।

आयो कुरा फेरि उही थ्री पिस सूटको कपडाको । उपहार हातलागीको सुखद अनुभूतिसँगै मेरा अनेक झ्याउला सुरु भए । राम्रै टेलर रोजे सूट सिलाईको ज्याला कम्ता लाग्दैन । त्यति ज्यालाले त गाँठे, मलाई एकसरो लुगा हाल्न पुग्छ । अब गर्ने के ? भेट भयो कि मेरा दानशील प्रकाशक प्वाक्क सोध्छन्— ‘दाइ, खोई त सूट ला’को ?’ सूट लगाउने शुभमुहूर्तको पर्खाइमा छु यार् भनेर म ढाँट्छु । 

एक पटक होइन, दुई पटक होइन, कति पटक ढाँट्नु ? आखिरमा मैले थ्री पिस सूटको कपडाका दुईवटा प्यान्ट सिलाएँ । आज एउटा प्यान्ट लगायो, भोलि अर्को प्यान्ट लगायो । दुईवटा प्यान्ट लगाएको केवल आपूmलाई थाहा छ, देख्नेले दिनदिनै एउटै लगाएको देख्छ । एक दिन एउटा चीलआँखे प्रकाशकले सोध्यो, ‘हैन, एकै पटक एउटै कपडाका अनेक प्यान्ट सिलाएको पो हो कि ? जहिले हेर्‍यो उस्तै लाएको देख्छु त ।’ ‘अनेक होइन महोदय, एकै पटक उस्तै दुईटा सिला’को चाहिँ हो ।’ 

कुरै कुरामा मेरो खुकुलो जिब्रोबाट थ्री पिस सूटको अन्तरकथा फुत्क्यो । प्रकाशकको अनुहारको भाव किञ्चित विकृत भयो । एकरत्ती नपत्याएर उसले मसँग केरकार गर्‍यो, ‘ठट्टा गरेको ?’ 

‘कुरो खसोखास साँचो हो ।’ मैले पुनः सत्य बोलेँ । 

यो सुन्दा प्रकाशकलाई मानौँ मुटुमा अडिरको काँडोले च्वास्स घोचे भैmँ भयो । आहत प्रकाशकले ओठ टोक्यो, आँखा झिमझिम पार्‍यो, र वैचैनीयुक्त दीर्घ निश्वास पोख्यो । एक कान, दुई कान हुँदै थ्री पिस सूटको कथा प्रकाशक जगत्भरि पैmलियो । गाइँगाइँ सुन्नमा आयो— कुलमध्ये लगभग पन्चानब्बे प्रतिशत प्रकाशक विरोधको मोर्चामा एकमत भएछन् । 

ती एकमतले मेरा दानी प्रकाशक र म निजका लेखकलाई जालसाजीको आरोप लगाएछन् । रिसले रन्किँदै ती डुक्रिएछन्— ‘ल हेर ! प्रकाशक पाजीले लेखक पाजीलाई केही चटाएर आप्mनो दानशीलताको बखान गर्न लाएछ । के सुन्नुपर्‍या हो त्यसका बाउको यो थ्री पिस सूटको वाहियात उपहार !’

अनि भिखारी लेखक ? भिखारी लेखकको याचनाको आफ्नै मर्म छ । यो याचनामा खासमा लेखकको प्रतिभा, साधना र सिर्जनाको थोरै लाभांशको दाबी निहित छ । 

 पञ्चानब्बे मण्डलीले लेखकहरुलाई दुई कित्तामा बाँडेछ, खामबन्दी लेखक र भिखारी लेखकमा । तिनको विभाजनमा म परेछु भिखारी कित्तामा । बुमबुम पन्चानब्बेका नजरमा खामबन्दी लेखक अब्ब्ल मानिदो रहेछ, भिखारी लेखक चुत्थो ।

आखिर किन ? किनभने खामबन्दी लेखकको पाण्डुलिपिसँगै प्रकाशकलाई खामबन्दी कोसेली आउँछ । त्यो बन्दखाममा लुकेर प्रकाशकलाई यथेष्ट दाम आउँछ । उता भिखारी लेखकचाहिँ एक हातले पाण्डुलिपि बुझाउँछ, र लेखकस्वको दाबी गर्दै याचक मुद्रामा अर्को हात पसार्छ । त्यसैले त पन्चानब्बेका नजरमा खामबन्दी लेखक अब्बल, भिखारी लेखक चुत्थो । 

छन त जगत्मा यी दुई थरी लेखकको कर्मलाई हेर्ने अर्को कोण पनि छ । खामबन्दी लेखन द्रूत मार्गबाट शिघ्र नाम कमाउने छटेल धन्दा हो । यसलाई बन्दखामको थैलोले झटपट नाम किन्ने चुत्थो धन्दा भने पनि फरक नपर्ला । पैतृक सम्पत्तिको उत्तराधिकारमा प्राप्त वा लामा हात गरी चोरबाटोबाट प्राप्त पैसा हुने तर लोकदृष्टिमा पहिचान नहुने दुःखी जिबात् यो धन्दामा लिप्त हुन विवश छ । 

अनि भिखारी लेखक ? भिखारी लेखकको याचनाको आफ्नै मर्म छ । यो याचनामा खासमा लेखकको प्रतिभा, साधना र सिर्जनाको थोरै लाभांशको दाबी निहित छ । 

तर पन्चानब्बे महलको कुरा अर्कै छ । गाइँगुइँले भन्यो— पन्चानब्बे मण्डलीमा भिखारी कित्ताका लेखकको नित्य निन्दाजनक चर्चा चल्छ । आखिर किन ? किनभने पन्चानब्बेका दृष्टिमा यो भिखारी शोधविधिले जीवनका अदृश्य पत्रपत्रको खोजी गर्दैन । यो पाजी आफुनो लेखनीमा ठोस तथ्य टेकेर सटिक तर्क गर्दैन । के–के सोचे झैँ गरी यसो निधार चाउरी पार्छ, र  किबोर्डका अक्षर कच्याक–कच्याक थिच्दै धाराप्रवाह लेख्छ । 

यसरी निजको झुत्रो कृति मिलिक्कै तयार हुन्छ । यस्तो झुत्रे लेखकलाई प्रकाशकको तर्फबाट उपहार ! त्यो पनि लर्तरो होइन, थ्रि पिस सूट । त्यो पनि जस्तोतस्तो होइन, दामी । अल्छीतीघ्रे भिखारी लेखकभन्दा त बरु मालअड्डाको लेखनदास मिहेनत गर्छ । लेखनदास दिनभरि घाममा टट्टिएर ‘लिखितम धनीका नाम’ लेख्छ । र, कत्रो जोखिम उठाएर टेबुलमुनिबाट घुस ख्वाउने लाइन मिलाउँछ !

निजको चर्मरक्षा गर्न प्रकाशकलाई सजग गराउनु मेरो जरुरी कर्तव्य थियो । तर म गरुँ कि नगरुँको कष्टप्रद दुबिधामा परेँ । थ्री पिसका मेरा प्यान्ट खुइलिइसके ।

यहाँनेर पन्चानब्बे मण्डलीको क्रोधको लप्का मेरा प्रकाशकमाथि हवात्तै खनिएछ, ‘तेरा छुसी ! त्यत्रो उपहार दिएर भिखारीका चित्तमा अतिरिक्त लोभ जगाउने ? भिखारी नाथेलाई उहारले पल्काउने ? आफू दानी भइटोपलेर हाम्लाई मक्खीचुस देखाउने ? यस्तालाई गर्ने हो कारबाइ !’

पन्चानब्बे मक्खीचुसका कुरा सुनेर म झसङ्ग भएँ । माओवादीको जगजगी कालमा कारबाइ तीन तहका हुन्थे । जन कारबाइ, भाटे कारबाइ र भौतिक कारबाइ । जन कारबाइमा गाला पड्काइन्थ्यो । भाटे कारबाइमा करङ कुच्याइन्थ्यो । भौतिक कारबाइमा ज्यानै चेट हुन्थ्यो । मेरा प्रकाशकमाथि कुन तहको कारबाइ हुने हो ? डरले म भएँ त्यसैत्यसै थुरथुर । 

निजको चर्मरक्षा गर्न प्रकाशकलाई सजग गराउनु मेरो जरुरी कर्तव्य थियो । तर म गरुँ कि नगरुँको कष्टप्रद दुबिधामा परेँ । थ्री पिसका मेरा प्यान्ट खुइलिइसके । मेरा प्यान्टको दारुण दशा देखेर दानी प्रकाशकले मलाई अर्को थ्री पिस सूट उपहार दिन लाग्या पो होलान् कि ? कारबाइको सुइँको पाएर भयभीत भई दिनै लाग्या थ्री पिस नदिने पो हुन् कि !

गाइँगुइँले भन्यो— पन्चानब्बे मण्डलीको अपर्झट बैठक बसेछ । बैठकको विषय रहेछ— प्रकाशक र लेखकमा न्यायको उचित वितरण । गम्भीर विमर्शपछि बैठकले निरुपण गरेछ— न्याय उच र निच, बढी र घटी किमार्थ हुनुहुन्न । न्याय दुवै पक्षलाई बराबरी हुनुपर्छ । आखिर के हो त्यो बराबरी ? 

त्यो हो— लेखकलाई नाम, प्रकाशकलाई दाम । लेखकलाई यश, प्रकाशकलाई ऐश्वर्य । लेखकलाई गौरव, प्रकाशलाई छनछन । तसर्थ बन्दखामबाहक लेखक चिरायु रहोस् ! भिखारी लेखकको अबिलम्ब नर्कबास होस् !

बस्, अहिले यत्ति नै । सीमान्त अल्पसंख्यक ‘भिखारी’ लेखकले ठुला कुरा गर्नु हुँदैन । मूलधारे बहुसंख्यक पन्चानब्बेको डर लाग्छ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप