बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खुला पत्र

सम्पूर्ण आमाहरूलाई खुला पत्र

शनिबार, ०८ कात्तिक २०८२, १३ : ००
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • लेखकले आमाप्रतिको माया र भरोसाबारे चर्चा गर्दै भद्रपुरको आन्दोलनमा एक आमाको पीडालाई स्मरण गरेका छन्।
  • लेखकले २३ गते युवामाथि भएको दमन र त्यसपछिका घटनाक्रमबारे प्रश्न उठाएका छन्, जसले आमाहरूको भूमिकामाथि प्रश्न खडा गर्छ।
  • लेखकले आमाहरूले मानवीय समवेदना र शान्तिको बाटो खोज्ने अपेक्षा गरे पनि विपरित घटना देखेको अनुभव व्यक्त गरेका छन्।

प्रिय आमाहरू,

कसैले मलाई ‘आमालाई कति माया गर्छौ ?’ भनेर सोध्यो भने सायद म ठोस जवाफ दिन सक्दिन । जब म आफ्नी आमालाई– मलाई कति माया गर्नु हुन्छ ? भनी सोध्छु, सायद उहाँ पनि ठ्याक्कै भन्न सक्नु हुन्न । किनभने न मैले माया देखाउन जरुरी ठान्छु, न उहाँलाई ममाथि शङ्का छ । तर एउटा कुरा म निःसन्देह भन्न सक्छु– संसारका सबै आमालाई आफ्ना छोरा–छोरीप्रति सबैभन्दा धेरै भरोसा र माया हुन्छ । आमा सबै कुरा गुमाउने कल्पना गर्न सक्छिन् तर आफ्ना सन्तान गुमाउने कल्पना गर्न सक्दिनन् । आफ्नो त के, कुनै आमा अर्की आमाको कोख रित्तिएको देखेर शान्त बस्न सक्छिन् भन्ने पनि लाग्दैन ।

भदौ २४ गते भद्रपुरमा शान्तिपूर्ण आन्दोलन सुरु हुँदा मैले एक जना आमालाई देखेँ । उहाँको अनुहारमा यति गहिरो पीडा झल्किन्थ्यो, शब्दमा वर्णन गर्न कठिन छ । ‘त्यति साना नानीहरूलाई कसरी गोली हानेर मार्न सक्यो ?’ भनी उहाँ चिच्याइरहनु भएको थियो । सुरुमा स्कुटीमा पछाडि बस्नु भएकी उहाँ व्याकुल हुँदै स्कुटीबाट झर्नु भयो । उहाँलाई पाइला चाल्न कठिन भइरहेको आभास हुन्थ्यो– सम्भवतः अपाङ्गता वा घाउ–चोट लागेको हुनुपर्छ । तर, खल्ट्याङ–खल्ट्याङ गर्दै भिडसँगै अघि बढ्नु भयो । त्यो दृश्यले मेरो मुटुको गति रोकियो । म उहाँलाई चिन्दिन; चिन्न पनि आवश्यक थिएन– उहाँ आमा हुनुहुन्थ्यो र आमालाई कुनै विशेषण लाई राख्नु पर्दैन । 

२३ गते स्कुले पोसाकमा सडकमा ओर्लिएका युवाहरूलाई राज्यद्वारा गरिएको बर्बर दमनको दृश्य देखेर कुन आमाले सहन सकिन होला र ? तर म आश्चर्यचकित त्यति बेला भएँ, जब केही दिनपछि धेरै आमाहरू आन्दोलनलाई दमन गर्नेको पक्षमा जिन्दाबाद भन्दै पार्टीको झण्डा लिएर उत्रिनु भयो । 

मलाई लागेको थियो पार्टीका बैठकहरूमा सबैभन्दा बढी प्रश्न आमाहरूले गर्ने छन् । मानवीय समवेदना के हो बुझाउने छन् । जो हिंसा मन पराउँछन् उनीहरूलाई शान्तिको बाटो देखाउने छन् । रित्तिएका काखसँग जलेका भित्ताहरूको तुलना हुँदैन भनी भन्नेछन् तर अहँ ! त्यस्तो हुँदै भएन ।

२४ गते भएको भौतिक क्षतिमा पुराना शासकहरूको आपत्ति पक्कै होला । देश नै जल्दा पक्कै सबैको मन रोयो पनि होला । तर त्यसले के अघिल्लो दिनको बर्बरतालाई पखाली दिन्छ ? शासकहरूको अकर्मण्यता, दम्भ र अहङ्कारलाई त्यसले बिर्साई दिन्छ ? देशलाई हिंस्रक स्थितिमा पुर्‍याउने युवा थिए वा पुराना शासक के त्यसको मूल्याङ्कन गरियो ?

के यो देशका आमाहरूले भदौ २३ बिर्सन सक्छन् ? युवाहरूको आलो रगतमा लतपतिएको बानेश्वरकै सडकले त्यो दिन बिर्सन सक्ला ? मानवीय क्षति ठुलो हो वा भौतिक भनी मूल्याङ्कन होला ? रित्तिएका कोख भन्दा जलेका भित्ताहरू कारुणिक कहिलेदेखि हुन थाले महोदय ? के पार्टीका आमाहरूले आफ्ना सन्तानलाई मात्रै माया गर्छन् वा देशभरका सन्तानको चिन्ता लाग्छ उहाँहरूलाई ?

उही तपाईंको,

विद्रोही छोरा

विकास

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विकास पाण्डे
विकास पाण्डे
लेखकबाट थप