बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
हायात हाेटल

हायात होटल : तोडफोड र असुरक्षाले बन्द भयो कि आफ्नै कारणले ?

दुई महिना अघि नै रिनोभेट गर्ने तयारी गरेको थियो हायातले
आइतबार, ०९ कात्तिक २०८२, २० : २७
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • जेनजी आन्दोलनका कारण हायात होटल बन्द, मर्मत र पुनर्निर्माणका लागि सेवा बन्द गरिएको सूचना जारी गरियो।
  • होटल व्यवस्थापनले कर्मचारीलाई कानुनअनुसार सेवा सुविधा दिने र ट्रेड युनियनसँग छलफल गर्ने जनाएको छ।
  • कर्मचारीले भने व्यवस्थापनको निर्णय श्रम कानुन विपरीत भएको र यसको प्रतिरोध गर्ने बताएका छन्।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेको होटल हायात बन्द भएको छ । तिहारअघि अर्थात् कात्तिक २ गते होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले सूचना जारी गर्दै होटलको मर्मत तथा पुनर्निर्माणका लागि व्यावसायिक सेवा प्रवाह पूर्ण रूपमा बन्द गर्नुपर्ने जनाएको हो । सोही कारण होटलका कर्मचारीलाई अर्को सूचना प्रेषित नहुँदासम्म होटल परिसरमा उपस्थित नहुन भनिएको छ । 

सोही दिन अर्को सूचना जारी गर्दै होटल व्यवस्थापनले कर्मचारीको सम्बन्धमा कानुन अनुसारको सेवा सुविधा दिएर घर पठाउने उल्लेख गरेको थियो । यो सम्बन्धमा होटलमा क्रियाशील ट्रेड युनियनसँग छलफल समेत भएको सूचनामा उल्लेख छ । 

होटलले जारी गरेको उक्त सूचना ५ दिनपछि मात्रै बाहिर आयो । उक्त सूचना बाहिरिएपछि होटल बन्दबारे प्रधानमन्त्रीले चासो राखेको र अर्थमन्त्रीले यस सम्बन्धमा होटल व्यवस्थापनलाई होटल सञ्चालन गर्न भन्दै सुरक्षाको प्रत्याभूति सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्ने उल्लेख गरेको बताइएको छ । 

तिहार बिदापछि आइतबारदेखि कार्यालय खुलेको छ । तर आगजनीपछि बुकिङ बन्द गरेर बसेको उक्त होटलमा कर्मचारीहरू हाजिर हुन गए । यसअघि नै ‘नआउनू’ भन्ने सूचना जारी गरेको होटलमा प्रवेश पाइने हो कि होइन भन्ने आशङ्काबिच कर्मचारीहरू कार्यालय पुगेका थिए । अपेक्षा अनुसार नै उनीहरूलाई प्रवेशमा अवरोध गरियो । 

जो स्थायी रूपमा नियुक्त कर्मचारी थिए, उनीहरूलाई पार्किङ एरियासम्म प्रवेश दिइयो, अन्य कर्मचारीलाई भने गेटबाटै फर्काइयो । होटल व्यवस्थापनको सूचना अनुसार ट्रेड युनियनलाई वार्तामा बोलाउने अपेक्षासहित ट्रेड युनियनका प्रतिनिधिहरू केही समय पर्खिए, यसको छाँटकाँट नदेखिएपछि होटलभित्र क्रियाशील तीन वटै ट्रेड युनियनका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गरे । यसको आशय थियो– ‘होटल व्यवस्थापनको निर्णय श्रम कानुन विपरीत छ, यसको प्रतिरोध गर्छौँ ।’

साँझ होटल व्यवस्थापनले वक्तव्य निकाल्यो । कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले जारी गरेको वक्तव्यमा होटलमाथिको आक्रमणको बारेमा निन्दा गरिएको छ । सरकारले आवश्यक सहयोग दिने बचन दिएकोमा धन्यवाद व्यक्त गरिएको छ भने होटललाई स्तरोन्नति र पुनर्निर्माण गर्दै फेरि अझ उत्कृष्ट सेवासहित आउने वाचा समेत गरिएको छ ।

होटलले सात पटकसम्म पर्यटन क्षेत्रबाट उत्कृष्ट कर तिर्ने कम्पनीको सम्मान पाएको र २ पटकसम्म पर्यटन क्षेत्रको सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने कम्पनी बन्न सफल भएको उल्लेख समेत गरेको छ । यद्यपि दिउँसो कर्मचारी युनियनले दर्जनौँ संस्थालाई बोधार्थ पठाएर जारी गरेको वक्तव्यको सम्बन्धमा भने केही उल्लेख गरिएको छैन ।

होटल किन बन्द भयो ? 

जेनजी आन्दोलनका कारण सबैभन्दा धेरै क्षति व्यहोरेको एउटा होटल हो– हायात रिजेन्सी काठमाडौँ । होटल हिल्टनपछि यसले नै सबैभन्दा धेरै क्षति व्यहोरेको अनुमान गरिएको छ ।

हिल्टनले त झण्डै ८ अर्ब रुपैयाँको क्षति व्यहोरेको सार्वजनिक गरिसकेको छ । हायातले भने अहिलेसम्म पनि मूल्याङ्कनकै चरणमा रहेको भन्दै क्षतिको यथार्थ विवरण सार्वजनिक गरेको छैन । 

जेनजी आन्दोलनका क्रममा हायात होटलमा एक जना भारतीय पर्यटकको मृत्यु समेत भयो । होटलको अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, रेस्टुरेन्ट, ब्याङ्क्विट, चैत्य लगायत समष्टिगत संरचनामा ठुलो क्षति पुगेको कार्यकारी निर्देशक श्रेष्ठ उल्लेख गरेका छन् । आगजनीका क्रममा ७० वटा भन्दा बढी गेस्ट रुम जलेको बताइएको छ । 

तर, के यही कारणले होटल बन्द गर्न लागिएको हो त रु यो सम्बन्धमा भने सरोकारवाला पक्षबिच एकमत छैन । कर्मचारीहरू जेनजी आन्दोलनलाई देखाएर कर्मचारी हटाउनको व्यवस्थापनले यो प्रपञ्च गरेको आरोप लगाएका छन् । 

‘होटलले स्तरोन्नति (रिनोभेसन) गर्ने योजना २ महिना अघि नै बनाएको थियो । त्यही समयदेखि कर्मचारीलाई कसरी हटाउने भन्ने सोचिरहेको थियो, अहिले जेनजी आन्दोलनको निहुँ बनाइएर कर्मचारी हटाउन यो गर्न लागिएको छ,’ होटलका ट्रेड युनियनका एक जना पदाधिकारी भन्छन्, ‘होटलको स्तरोन्नति गर्न १८ देखि २४ महिना समय लाग्ने भनिएको छ । त्यो बेलासम्म स्थायी कर्मचारीलाई बेतलबी बसोस् भन्ने व्यवस्थापनको चाहना रहेको देखिन्छ । हामीसँग कुरा नगरी गरिएको यो निर्णय मान्य छैन ।’ 

होटलले अत्याधुनिक सुविधासम्पन्न हुनेगरी रिनोभेसन गरेर होटलले ‘हायात रिजेन्सी ग्राण्ड’ ब्राण्डबाट सेवा दिने तयारी गरेको थियो । २६ वर्षअघि सञ्चालनमा आएको होटलका कोठाहरु अत्याधुनिक बनाउनुपर्ने भन्दै कोठा नयाँ बनाउन लागिएको थियो । यसका लागि असोजदेखि नै रिनोभेसन सुरु गर्ने होटलको तयारी थियो । 

२८० वटा कोठा भएको होटलमा सुरुमा १४० वटा कोठा भत्काएर फेरि बनाउने र त्यो सम्पन्न भएपछि फेरि अर्को १४० कोठाको रिनोभेसन गर्ने होटलको योजना थियो । यसो गर्दा यो अवधिमा आधा मात्रै बुकिङ लिने तयारी थियो । दुई चरणको यो रिनोभेसनका लागि करिब १८ महिना लाग्ने अनुमान गरिएको थियो ।

जेनजी आन्दोलन अघिसम्म उक्त होटल र क्यासिनोमा गरी करिब एक हजार जना कार्यरत थिए । यसमध्ये होटलमा झण्डै ४०० जना र होटल परिसरमा रहेको क्यासिनो प्राइडमा झण्डै ६०० जना कार्यरत थिए । आन्दोलनका कारण क्यासिनो कक्षमा पूर्ण क्षति भएका कारण तत्काल चल्न सक्ने अवस्था नभएको कर्मचारीहरूकै स्वीकारोक्ति छ । तर, होटल भने बन्द गर्नुपर्ने अवस्था नभएको उनीहरूको दाबी छ । 

‘होटलको केही भाग मात्रै जलेको हो, होटल बन्द गर्नुपर्ने अवस्था छैन । यहाँ हाम्रो रोजीरोटीको कुरा छ, तर व्यवस्थापनले कर्मचारीको भावनालाई बेवास्ता गरेर बन्द गर्ने निर्णय लियो, ट्रेड युनियनको सामान्य मर्यादा समेत राखिएन, यो हामीलाई मान्य छैन’ ट्रेड युनियनका अर्का एक पदाधिकारीले भने ।

त्यसो त, कार्यरत कर्मचारीको विषयमा ध्यान नै नदिई होटल बन्द गर्ने निर्णय गरेकोमा ट्रेड युनियन महासङ्घहरूले पनि आपत्ति जनाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले होटल व्यवस्थापनले श्रमिकको हठात होटल बन्द गर्नु र कर्मचारीलाई प्रवेशमा बन्देज लगाउनु न्यायसङ्गत नभएको बताएको छ ।

एनटीयूसीका महासचिव अजय कुमार राई होटल व्यवस्थापनले नेपाल सरकारको कानुनलाई अवलम्बन गर्दै श्रमिकहरूसँग आपसी संवादद्धारा वर्तमान समस्याको समाधान निकाल्नुपर्ने र सरकारले पनि यस मुद्दालाई गम्भीरताका साथ लिनुपर्ने बताउँछन् । 

यस्तै भनाइ नेपाल ट्रेड युनियन महासङ्घ जीफन्टका उपाध्यक्ष जनक चौधरीको समेत छ । असुरक्षाकै कारण होटल व्यवस्थापनले सञ्चालन बन्द गर्नुपर्ने अवस्था भए त्यसको जिम्मेवार सरकार हुने र यो नभएको अवस्थामा कर्मचारीको भविष्य अन्योलमा पारेर होटल बन्द गर्न नहुने उनको भनाइ छ । 

बन्द गर्नुपर्ने कारणबारे के भन्छ व्यवस्थापन ?

होटल व्यवस्थापनले पनि असुरक्षाकै कारण होटल बन्द गर्नुपर्ने अवस्था भने नरहेको बताएको छ । तर जेनजी आन्दोलनका कारण भएको क्षतिको पुनर्निर्माण र यसअघि योजना बनेको स्तरोन्नतिलाई सँगै लगेर तत्काल होटल राम्रोसँग सञ्चालन गर्न सकिने अवस्था नभएकोले होटल बन्द गर्न लागिएको बताएको छ । 

‘सुरुमा स्तरोन्नति र सञ्चालन सँगै लैजाने भनेकै हो । त्यही अनुसार दुई चरणमा काम गर्ने योजना बनेको थियो । आन्दोलनपछि जुन क्षति व्यहोर्नुपर्‍यो, त्यसको पुनर्निर्माण समेत गर्दा सेवा सञ्चालन गर्न उपयुक्त नदेखिएकोले केही समयको लागि बन्द गरौँ भनिएको हो,’ व्यवस्थापनसम्बद्ध होटलका एक अधिकारी भन्छन्, ‘यो देशकै उत्कृष्ट सेवा दिने होटलमध्ये एक हो । यसले सुविधा र सुरक्षालाई सँगै अघि बढाउनुपर्छ । निर्माण स्थलमा जाँदा सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नुपर्छ, हेल्मेट लगाएर सेवा दिन र सेवा लिन कसरी सकिन्छ ?’

व्यवस्थापनले कर्मचारी हटाउन षड्यन्त्र गरेको कर्मचारीको आरोपबारे उनी भन्छन्– हामी निजी क्षेत्रबाट सञ्चालित संस्था हौँ । हामीले नाफा नै गर्ने हो । हामी सबैभन्दा धेरै कर तिर्ने संस्था पनि हौँ, नाफा भएरै कर तिरिएको हो । नाफामा गइरहेको एउटा संस्थाले सञ्चालन गर्न सक्ने अवस्था छ भने किन बन्द गराउन चाहन्छ रु जहाँसम्म कर्मचारीको कुरा छ, व्यवस्थापनले कानुन अनुसार सुविधा दिएरै कर्मचारीलाई बिदा गर्ने वा होल्डमा राख्ने भनेको छ ।’

होटल बन्द नगर्न सरकारले गरेको आग्रहबारे उनी भन्छन्, ‘सुरक्षाको कारण होटल बन्द गर्न लागेको भन्ने म्यासेज गलत रूपमा प्रवाह भएको रहेछ । यसबारे अर्थमन्त्रीज्यूले चासो राख्नुभएको हो । हामीले बाह्य सुरक्षाको कारणले बन्द गर्न लागेको होइन, निर्माणका क्रममा कर्मचारी र सेवाग्राहीलाई प्रत्याभूत गर्नुपर्ने आन्तरिक सुरक्षाको सवाल उठाइएका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप