बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महिला विश्वकपको सेमिफाइनलमा वर्षाको डर

सोमबार, १० कात्तिक २०८२, १० : ५९
सोमबार, १० कात्तिक २०८२

सारांश

  • महिला एकदिवसीय विश्वकप २०२५ को सेमिफाइनलको तालिका सार्वजनिक भयो, जसमा इङ्ल्याण्ड र अस्ट्रेलियाले प्रतिस्पर्धा गर्नेछन्।
  • अस्ट्रेलिया लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा छ, भने दक्षिण अफ्रिका दोस्रो स्थानमा छ।
  • सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे राखिएको छ र वर्षाको कारण खेल प्रभावित भएमा नियमहरू तय गरिएका छन्।

नयाँ दिल्ली । महिला एकदिवसीय विश्वकप २०२५ को सेमिफाइनलको तालिका सार्वजनिक भएको छ । पहिलो सेमिफाइनलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना बुधबार गुवाहाटीमा गर्नेछ भने डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले आयोजक भारतसँग बिहीबार नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा खेल्नेछ । सेमिफाइनलको यो भिडन्त सन् २०१७ को प्रतियोगिताकै पुनरावृत्ति हो ।

अस्ट्रेलिया लिग चरणमा अपराजित रहँदै प्रतियोगितामा कुनै हार नबेहोर्ने एकमात्र टोली बनेको छ । उसले सातमध्ये छ खेल जितेको छ । शनिबार इन्दौरमा दक्षिण अफ्रिकाविरुद्धको पछिल्लो जितसँगै अस्ट्रेलिया १३ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका भने १० अङ्कका साथ दोस्रो स्थानमा छ । उसले पाँच जित र दुई हार बेहोरेको छ ।

६ खेलबाट नौ अङ्कका साथ हाल तेस्रो स्थानमा रहेको इंग्ल्याण्डले न्युजिल्यान्डलाई हराएमा दोस्रो स्थानमा उक्लिन सक्छ । भारतले ६ खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको छ । भारतको एक खेल नवी मुम्बईमा बङ्गलादेशविरुद्ध बाँकी छ । यी दुवै खेल आइतबारका लागि तय भएका छन् ।

पहिलो सेमिफाइनल हुने दिन गुवाहाटीमा पानी पर्ने सम्भावना रहेको छ । नवी मुम्बईमा पनि मौसम बदली रहने र साँझ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सेमिफाइनल र नोभेम्बर २ मा नवी मुम्बईमा हुने फाइनलका लागि रिजर्भ डे (वैकल्पिक दिन) राखिएको छ । यो दिन निर्धारित दिनमा अपूरो रहेका खेलहरूलाई निरन्तरता दिन प्रयोग गरिनेछ । यद्यपि, ओभर घटाएर भए पनि खेल निर्धारित दिनमा नै सम्पन्न गर्न हरसम्भव प्रयास गरिनेछ । ओभर घटाउँदा पनि खेलले परिणाम नदिएमा मात्र वैकल्पिक दिनमा खेललाई निरन्तरता दिइनेछ ।

आईसीसीको खेल नियमअनुसार, यदि निर्धारित दिनमा पूरा ५० ओभरको खेल सुरु भयो र १९ ओभरमा वर्षाका कारण खेल प्रति टोली ४६ ओभरमा घटाइयो । तर, त्यस दिन ओभर घटाएपछि पनि थप खेल हुन नसकेमा वैकल्पिक दिनमा पूरा ५० ओभरको खेलको रूपमा सुरु हुनेछ । 

तर, यदि वर्षाका कारण ओभर घटाएर ४६ ओभरको खेल सुरु भयो र फेरि वर्षाका कारण खेल स्थगित भएमा, वैकल्पिक दिनमा खेल ४६ ओभरकै रूपमा निरन्तरता पाउनेछ, थप वर्षा भएमा ओभर घटाइनेछ ।

यदि कुनै पनि सेमिफाइनलमा नतिजा नआएमा, अङ्क तालिकामा उच्च स्थानमा रहेको टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनलमा नतिजा नआएमा भने ट्रफी बाँडिनेछ । महिला विश्वकपको नकआउट खेलहरूमा अस्ट्रेलियाले भारतसँग तीन पटक प्रतिस्पर्धा गरेको छ, जसमा दुई पटक जित र एक पटक हार बेहोरेको छ । इंग्ल्याण्डले ५० ओभरको विश्वकपको नकआउट खेलहरूमा दक्षिण अफ्रिकालाई दुई पटक पराजित गरेको छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप