शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बिमा

सोमबार, १० कात्तिक २०८२, १६ : ५४
सोमबार, १० कात्तिक २०८२

सारांश

  • जुम्लामा हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन्।
  • स्वास्थ्य बिमाको महत्वबारे जानकारी पाएपछि स्थानीयहरू यसप्रति आकर्षित भएका छन्।
  • सरकारले अपाङ्गता भएका, अशक्त, ज्येष्ठ नागरिक र गरिब परिवारलाई निःशुल्क बिमाको व्यवस्था गरेको छ।

जुम्ला । जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । 

आठ स्थानीय तह रहेको जुम्लामा बिमा लागू भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बिमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बिमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए ।

ज्येष्ठ नागरिक तीन हजार ७२६, अति अशक्त अपाङ्गता ८७ र महिला स्वास्थ्य स्वयंसेविका २८८ जनाको परिवार स्वास्थ्य बिमामा आबद्ध भएको कार्यालय प्रमुख भण्डारीले बताए । उनले भने, ‘जिल्लाका १३ हजार बढी घरपरिवार बिमामा आबद्ध छन्, विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बिमाको सेवा विस्तार भएको हो ।’

स्वास्थ्य बिमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्ण रूपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् । अहिले बिमा सहजकर्ता घरघरमा गएर बिमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बिमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । 

सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अति गरिब घरपरिवारलाई निःशुल्क बिमा गर्ने व्यवस्था गरेको छ । अन्यको हकमा शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्ने गरिएको कार्यालयले जनाएको छ । 

बिमाको जथाभाबी प्रयोगले अहिले स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा नै पठाएर नागरिकलाई बिमामा सहभागी गराउने अभियानमा रहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप