बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थतन्त्र

पहिलो त्रैमासको दबाबमा बैंकिङ क्षेत्र, यी चार कारणले असुलीमा समस्या

मङ्गलबार, ११ कात्तिक २०८२, ०७ : २४
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशनको तयारीमा बैंक तथा वित्तीय संस्थाहरू छन्।
  • राष्ट्र बैंकले तिहारको कारण देखाउँदै असुलीका लागि समय थप गरेको छ, तर असुलीको अवस्था कमजोर देखिएको छ।
  • बैंकहरुले किस्ता तथा ब्याज उठाउन कसरत गरिरहेका छन्, तर निष्क्रिय कर्जा दर बढेको छ र असुलीमा दबाब छ।

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म)काे वित्तीय विवरण प्रकाशनको तयारीमा छन् । कात्तिक २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले यो अवधिको रिपोर्ट प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन छ ।

यसअघि त्रैमास सकिएको ७ दिनभित्रै वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था थियो ।  यसपटक विशेष परिस्थिति भन्दै केन्द्रीय बैंकले थप २१ गतेसम्मको समय दिएको छ । त्यस्तै, असोज मसान्तसम्ममा उठ्नुपर्ने रकम कात्तिक १५ भित्र उठेको अवस्थामा पनि यसलाई पहिलो त्रैमासिककै आम्दानीमा गणना गरेर रिपोर्ट प्रकाशन गर्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले यो व्यवस्था गर्नुको पछाडि पछिल्लो अवस्था र सामान्य अवस्थामा भन्दा छिटो परेको चाडपर्वलाई देखाएको छ । त्रैमासको अन्तिम समयमा तिहारको माहौल सुरु हुने र रिपोर्ट प्रकाशन गर्न एक साता मात्रै समय पाउने व्यवस्था रहेकोमा आर्थिक अवस्थालाई मध्यनजर गर्दै यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्थापछि कारण तिहार बिदापछि पनि बैंक तथा वित्तीय संस्थाहरू किस्ता तथा ब्याज उठाउन कसरत गरिरहेका छन् ।

अब किस्ता तथा ब्याज असुलीका लागि पाँच दिनमात्रै बाँकी छ । यो अवधि हेर्दा कस्तो आउँदै छ त आगामी रिपोर्ट ? ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल अहिले पनि बैंकहरु असुली गर्ने क्रममै रहेकोले र यो साताको अन्त्यमा मात्रै असुली अवस्थाबारे यकिन रूपमा भन्न सकिने बताउँछन् ।

‘असोजमा धेरै चाडबाड पनि भयो । इकोनोमीको अवस्था पनि राम्रो छैन, प्रेसर परेकै छ,’ पोखरेल भन्छन्, ‘राष्ट्र बैंकले १५ गतेसम्मको असुलीलाइ पनि गणना गर्न पाउने भनेर सहुलियत दिएको अवस्था छ । हामी प्रयास गर्दैछौं, सबै बैंकहरुले प्रयास गरिरहेकै छन् ।

बैंकरहरुले यसो भनिरहे पनि अहिले बैंकहरुले असुलीको चरम समस्याको महशुस गरिरहेका छन् । अहिलेसम्म अघिल्ला वर्षको तुलनामा आधा पनि असुली नभएको बैंकर्सको भनाइ छ । छठको बिदा सकिएर कार्यालय खुलेकोले पाँच दिनमा केही असुलीको सम्भावना भए पनि धेरै ठुलो आस गर्नसक्ने अवस्था भने नरहेको उनीहरूको भनाइ छ ।

चार कारणले असुली दबाबमा बैंक

अहिले बैंक तथा वित्तीय संस्थाहरू चौतर्फी दबाबमा छन् । विगतका केही वर्षदेखि चल्दै आएको अधिक तरलता समस्या र बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियानका कारण ऋण उठाउन धौ धौको अवस्थामा रहेका बैकहरुलाई पछिल्लो पटकको आन्दोलन, यसले पारेको क्षति र प्राकृतिक प्रकोपको भारले थिचेको छ ।

आर्थिक क्षेत्रमा देखिएको शिथिलताका कारण बजारमा ऋणको माग असाध्यै कम छ । उता बढ्दो रेमिट्यान्स र यससँगै देखिएको शोधनान्तरको सकारात्मक अवस्थाका कारण  बैंकमा निक्षेप थपिएको थपियै छ । बैंकले चाहेर पनि निक्षेप घट्न रोकिने अवस्था छैन । त्यसैले न्यूनतम ब्याज तिर्नु परिरहेकै अवस्था छ ।

विगत केही वर्षदेखि ती संस्थाहरू अधिक तरलताको समस्या झेल्दै आएका छन् । आर्थिक क्षेत्रमा देखिएको शिथिलताका कारण बजारमा ऋणको माग असाध्यै कम छ । उता बढ्दो रेमिट्यान्स र यससँगै देखिएको शोधनान्तरको सकारात्मक अवस्थाका कारण  बैंकमा निक्षेप थपिएको थपियै छ । बैंकले चाहेर पनि निक्षेप घट्न रोकिने अवस्था छैन । त्यसैले न्यूनतम ब्याज तिर्नु परिरहेकै अवस्था छ ।

'हामीलाई अहिले निक्षेप चाहिएकै छैन, निक्षेपकर्ताले राख्छु भनेपछि नराख्नुस् भन्ने कुरा भएन, पैसा राखेपछि खाता अनुसारको ब्याजदर दिनु परिहाल्छ, त्यो पैसा लगानी हुँदैन,' एक बैंकर भन्छन्, 'राष्ट्र बैंकको मार्केट अपरेसनमा लगानी गर्नेबाहेक अर्को विकल्प छैन ।'

विगतदेखि नै बैंकको पैसा नतिर्न आह्वान गर्ने समूहहरू क्रियाशील रहँदै आएका छन् । बैंकको ऋण मिनाहा हुन्छ, कसैले पैसा तिर्नु पर्दैन भन्दै भड्काउँदै हिँड्ने समूहका कारण विगतमा ठुलो असुली समस्या देखियो । पछिल्लो राजनीतिक परिस्थितिपछि विशेषगरी सानो ऋणीको समूह बैंकको ऋण तिर्नमा उदासीन देखिएको अनुभव बैंकहरुको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तसम्मको बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा दर ४.६२ प्रतिशत पुगेको छ । ५५ खर्ब ९४ अर्को कर्जा लगानीमध्ये यो २ खर्ब ५८ अर्ब रुपैयाँ बराबर हो ।

यसअघिदेखि नै यी दुई अवस्थाबाट बैंकहरु गुज्रिरहेकै थिए । अहिले पहिलो त्रैमासको अवधिमा देशले एकपछि अर्को ठुला विपत्तिको सामना गर्नुपर्‍यो । खासगरी साउनमा दक्षिणी क्षेत्रमा भएको खडेरी र उत्तरी चिनियाँ नाकामा साता उत्तरी भन्सार नाकामा देखिएको अवरोधका कारण व्यापार रोकियो । भदौ अन्तिम साताको जेनजी आन्दोलनपछिको अवस्थाले आर्थिक वातावरण मात्रै बिग्रेन, ठुला ऋणीको रूपमा चिनिएका व्यावसायिक घराना नै आक्रमणको निशानामा परे । यसले गर्दा शिथिल अर्थतन्त्रका कारण उठ्ने प्रयास गरिरहेका धेरै व्यवसायीहरू ऋण तिर्नसक्ने अवस्थाबाट टाढा पुगे ।  

यी सबै अवस्थाले असुलीको वातावरणलाई कमजोर बनाएको बैंकरहरुको अनुभव छ । पछिल्लो समय त ऋणीको प्राथमिकता परिवर्तन हुन थालेको छ । ‘अहिले ऋणीहरूले बैंकको किस्ता वा ब्याज भुक्तानीलाई भन्दा अन्य तत्कालका आवश्यकता टार्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ’ ती बैंकर भन्छन्, ‘बैंकको किस्ता तिर्ने भन्दा पनि अरू जोहो गर्नेतिर केन्द्रित भएको पाइएको छ । यसले गर्दा अहिलेको रिपोर्ट अपेक्षा अनुसार निकाल्न सक्ने अवस्था छैन ।’

कस्तो छ बैंकहरुको असुलीको अवस्था?

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तसम्मको बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा दर ४.६२ प्रतिशत पुगेको छ । ५५ खर्ब ९४ अर्को कर्जा लगानीमध्ये यो २ खर्ब ५८ अर्ब रुपैयाँ बराबर हो ।

उता असार मसान्तसम्म बैंकहरुले उठाउन बाँकी रहेको हालसम्मको ब्याज ब्याज ५६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो रकम चैत मसान्तमा ५६ अर्ब ३ करोड रुपैयाँ थियो । अर्थात् गत आवको अन्तिम त्रैमासमा उठ्न बाँकी ब्याजको अवस्था हेर्दा बैंकहरुको असुलीमा सुधारको संकेत देखाइसकेको थियो । यसले गर्दा नयाँ आर्थिक वर्षदेखि तरलताको अवस्था पनि सुधार हुँदै जाने अपेक्षा बैंकिङ क्षेत्रले गरेको थियो ।

जबकी त्यसभन्दा अगाडिका त्रैमासमा यो अवस्था कमजोर थियो ।  गत पुस मसान्तमा उठ्नुपर्ने ४७ अर्ब २ अर्ब थियो, तेस्रो त्रैमासमा मात्रै ब्याज बक्यौता ९ अर्बले बढेको देखिन्छ । अघिल्लो असोजमा यो रकम ४२ अर्ब ७२ करोड रुपैयाँ र गत असार मसान्तमा २८ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । यसले दोस्रो र पहिलो त्रैमासमा बक्यौता ४ अर्ब ३० करोड र १४ अर्ब ३२ करोडले बढेको देखिन्छ ।

यो वर्षको भदौसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको ब्याज बक्यौता ६४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यसले पछिल्लो २ महिनाको अवधिमा मात्रै यसरी उठ्नुपर्ने ब्याजको रकम झण्डै ६ अर्ब रुपैयाँले बढेको देखिन्छ । यद्यपि बैंकहरुमा धेरैजसो त्रैमासिक असुलीको प्रणाली हुनाले यसको वास्तविक अवस्था असोज मसान्तको रिपोर्टपछि मात्रै प्रस्ट पार्न सक्छ ।

अहिले बैंकहरुले ७३ अर्ब ३१ करोड निक्षेप सङ्कलन गरी ५६ अर्ब ३० करोड कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात ७६.७९ प्रतिशत छ । यस अनुसार पुँजीकोषले साथ दिने हो भने बैंकहरु अझै पनि ९ खर्ब ६८ अर्ब ऋण दिनसक्ने अवस्थामा छन् । तर कर्जा प्रवाह र असुली भने आशा जगाउने खालको छैन । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप