बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

एनआरएनएले बनाइदियो ट्राफिक कन्ट्रोल रुम, अध्यक्ष श्रेष्ठद्वारा हस्तान्तरण

मङ्गलबार, ११ कात्तिक २०८२, ११ : २६
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • एनआरएनले जेनजी आन्दोलनले ध्वस्त पारेको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ।
  • काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन उक्त पुनर्निर्माणले ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ।
  • एनआरएनले नेपालमा लगानी वातावरण सुधार, प्रविधि हस्तान्तरण र क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ । गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ । 

जेनजी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलबार एक कार्यक्रमका बिच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

 काठमाडौँको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपद्मा परेका बेला मातृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तरगत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको  श्रेष्ठले बताए । उनले सो रुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि बताए । 

उनले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, सस्टेनविलीटी, अपरेटरको सहजतालाई ध्यानमा राखेका निर्माण गरेका छौं । यस परियोजनामा जडित भएका सबै उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । विश्वका विकसित सहरहरूको ट्राफिक व्यवस्थापनले धेरै कुरा सिकाएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता शहरहरुमा स्मार्ट ट्राफिक प्रहरी म्यानेजमेन्ट सिस्टम लागू भइसकेको छ । नेपालमा पनि त्यो सिस्टम लागुपर्ने छ ।’

कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले सो रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गरे । उनले मातृभूमिप्रतिको मायाको रूपमा सो काम भएको समेत उल्लेख गरे । 

सो कन्ट्रोल रुमबाट काठमाडौँ, ललितपुर र भक्तपुर काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठुलो सहजता प्राप्त भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले के भने ? 

सर्वप्रथम, म सम्पूर्णको तर्फबाट यो विशेष अवसरमा हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्न चाहन्छु।

आज हामीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नव–निर्मित र सुसज्जित ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण गर्न पाएको यो क्षण केवल एउटा संरचना हस्तान्तरण मात्र होइन—यो हाम्रो साझा जिम्मेवारी, सहकार्य र देश विकासमा प्रवासी नेपालीहरूको प्रतिबद्धताको प्रतीक हो।

यो परियोजना गैरआवासीय नेपाली संघ (एनआरएनए)को “नेपाल पुनर्निर्माण अभियान” अन्तर्गत सञ्चालन गरिएको हो। पछिल्ला केही वर्षमा हाम्रो देशले जलवायु परिवर्तन, मानव–सिर्जित विपद्, सामाजिक, राजनीतिक र प्रशासनिक चुनौतीहरूको सामना गर्दै आएको छ। यसै सन्दर्भमा, हालसालैको जेन–जि आन्दोलनपछि सिर्जित परिस्थितिले देशमा सेवा प्रवाहमा अवरोध ल्याएको छ। नेपाल अहिले नयाँ सोच, सक्रिय युवा सहभागिता, र सामाजिक चेतनाको नयाँ युगमा प्रवेश गरेको छ, तर यससँगै सिर्जित चुनौतीहरू सामना गर्दै पुनर्निर्माणको नयाँ चरणमा प्रवेश गर्नु पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ।

यसै सन्दर्भमा, हामीले काठमाडौँ उपत्यकाको ट्राफिक कन्ट्रोल रुममा परेको क्षतिलाई संवेदनशील दृष्टिले मूल्याङ्कन गरी प्राथमिकताका आधारमा पुनर्निर्माण गर्ने निर्णय गरेका थियौं। त्यस बमोजिम उपत्यका ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण र उपकरण पुनःस्थापनाको काम विगत एक महिनादेखि निरन्तर रूपमा अघि बढाइरहेका छौं र आज यसको औपचारिक हस्तान्तरण गर्दैछौं।

यो परियोजना केवल ट्राफिक प्रणाली सुधारका लागि मात्र होइन, यसले सडक सुरक्षा, आपतकालीन प्रतिक्रिया, व्यवसायिक वातावरण र नागरिक विश्वासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वासमा आधारित छ। आजको युगमा ट्राफिक व्यवस्थापन केवल सडकको समस्या मात्र नभई शहरको दक्षता, अर्थतन्त्रको गति र नागरिक सुरक्षाको सूचक पनि हो।

काठमाडौँ उपत्यका देशकै सबैभन्दा व्यस्त र संवेदनशील क्षेत्र हो। यहाँको ट्राफिक प्रणालीले नागरिकको जीवन, कार्यकुशलता र व्यवसायिक गतिशीलतालाई प्रत्यक्ष प्रभावित गर्छ। पुरानो कन्ट्रोल रुमको क्षतिले ट्राफिक व्यवस्थापनमा चुनौती सिर्जना गरिरहेको थियो। त्यसैले एनआरएनएले यसलाई आधुनिक, स्मार्ट र दिगो संरचनामा रूपान्तरण गर्ने जिम्मेवारी लिएको हो।

काठमाडौँ उपत्यकाको ट्राफिक कन्ट्रोल रुमको आधुनिकीकरण गर्नु भनेको—प्रविधि, दक्ष जनशक्ति, र स्मार्ट सहर निर्माणको दिशामा एक ठुलो कदम चाल्नु हो। एनआरएनएले यस परियोजनामा समग्र डिजाइन, सिभिल निर्माण कार्य, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको मर्मत तथा प्रतिस्थापनमा पूर्ण प्राविधिक पर्यवेक्षण गर्दै यो कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

हामीले यस कन्ट्रोल रुमलाई केवल सुधारको दृष्टिले मात्र होइन, दिगोपन (sustainability), अपरेटरको सहजता र कार्यक्षमतालाई ध्यानमा राख्दै तयार पारेका छौं। यस परियोजनामा प्रयोग भएका सबै उपकरणहरू दीर्घकालका लागि समेत मध्यनजर गरी व्यवस्थापन गरिएको छ। उपकरणहरूको वारन्टी कार्ड, प्रयोग पुस्तिका र प्राविधिक कागजातहरू काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको छ।

विश्वका विकसित शहरहरूको ट्राफिक प्रणालीले हामीलाई धेरै सिकाउँछ। सिङ्गापुर, दुबई, लन्डन, टोक्यो जस्ता शहरहरूमा Smart Traffic Management System लागू भइसकेका छन्। त्यहाँ AI आधारित निगरानी, Integrated Command Center, Smart Signaling, Real-Time Data Monitoring जस्ता प्रणाली प्रयोगमा छन्। नेपाल पनि त्यही दिशातर्फ अघि बढिरहेको छ। एनआरएनए प्रविधि हस्तान्तरण, ज्ञान साझेदारी, क्षमता विकास (Capacity Building) र Smart City Management मा सहकार्य तथा लगानी गर्न प्रतिबद्ध छ।

ट्राफिक व्यवस्थापन केवल सडकको समस्या मात्र होइन—यो सुरक्षित, व्यवस्थित र व्यवसायिक वातावरण सुनिश्चित गर्ने मुख्य आधार हो। सुरक्षित सडक, व्यवस्थित यातायात र जिम्मेवार चालक व्यवहारले देशको आर्थिक गति र नागरिक सन्तुष्टिमा ठुलो योगदान पुर्‍याउँछ।

यसै कारण एनआरएनएले नेपालको लगानी वातावरण सुधार, व्यवसायिक आत्मविश्वास वृद्धि, IT र ज्ञान हस्तान्तरण कार्यक्रम, तथा Smart Governance मा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। तर यस तर्फ राजनीतिक अस्तव्यस्तताले नेपाललाई थिलथिलो पारेको छ, जसमा तत्काल सुधार हुने अपेक्षा हामी राख्छौं।

हामी यस परियोजनाको दोस्रो चरणमा Breathalyzer Devices पनि ट्राफिक प्रहरीलाई उपलब्ध गराउने योजना बनाइरहेका छौं। यसले मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरणमा ठुलो सहयोग गर्नेछ।

साथै, यो कार्यक्रम केवल हस्तान्तरणमा सीमित छैन। यो एउटा सन्देश हो—सडक सुरक्षा, जोखिम व्यवस्थापन, र जिम्मेवार नागरिकताको जागरणका लागि। हामीले विश्वका विकसित शहरहरूमा देखेका उत्कृष्ट ट्राफिक व्यवस्थापन अभ्यासहरू नेपालमा क्रमशः लागू गर्न आवश्यक छ।

नेपालको परिवेशमा यी प्रणालीहरू कार्यान्वयन गर्दा हामीले केवल ट्राफिक कन्ट्रोलमा सीमित नरहँदै, सडक प्रणाली, ट्राफिक लाइसेन्सिङ, रुट परमिट, वाहन दर्ता, र क्षमता विकास सबैलाई एउटै छाता प्रणाली अन्तर्गत प्रविधि र प्रशासनिक रूपमा एकीकृत गर्नुपर्ने आवश्यकता देखिन्छ। यसमा Remote Fine and Reminder System, Pollution Control, र Damage Control Mechanism जस्ता नवप्रवर्तनहरू पनि समावेश गर्नुपर्छ। यसले ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा दिगो, व्यवस्थित र आधुनिक बनाउनेछ।

त्यसैगरी, स्मार्ट पार्किङ, सार्वजनिक यातायात व्यवस्थापन, आपतकालीन गाडी प्राथमिकता प्रणाली, ट्राफिक जाम पूर्वानुमान, र इको–फ्रेन्डली सडक नेटवर्क योजना जस्ता उपायहरूले केवल ट्राफिक सुधार मात्र होइन, शहरको दक्षता, ऊर्जा बचत, प्रदूषण न्यूनीकरण र नागरिक सन्तुष्टिमा पनि ठुलो योगदान पुर्‍याउनेछ।

एनआरएनए तयार छ यी आधुनिक प्रविधिहरू र नवप्रवर्तनलाई नेपालको सन्दर्भमा अनुकूल बनाएर कार्यान्वयन गर्न, जसले काठमाडौँ उपत्यका जस्ता संवेदनशील क्षेत्रहरूमा ट्राफिक व्यवस्थापनलाई दिगो, व्यवस्थित, सुरक्षित, प्रविधिमैत्री र स्मार्ट सिटीअनुकूल बनाउनेछ। साथै, एनआरएनएले नेपालमा व्यवसायिक वातावरण सुधार, लगानीमैत्री नीति प्रवर्द्धन, ज्ञान र प्रविधि स्थानान्तरण, र क्षमता विकास कार्यक्रममार्फत स्थानीय क्षमता सुदृढीकरणमा दीर्घकालीन प्रतिबद्धता व्यक्त गरेको छ।

हामी सरकार, निजी क्षेत्र, र स्थानीय समुदायसँग कन्धा मिलाएर नेपाललाई सुरक्षित, स्मार्ट, दिगो, प्रविधिमैत्री र एकीकृत ट्राफिक प्रणालीयुक्त शहर बनाउने यात्रामा अग्रसर रहन चाहन्छौं। यस पहलले भविष्यका शहरहरूमा स्मार्ट मोबिलिटी, डिजिटल ट्राफिक सर्भिल्यान्स, इको–फ्रेन्डली सडक र जोखिम न्यूनीकरण प्रणालीको आधार तयार गर्नेछ।

यस अवसरमा, म नेपालको सरकारसँग विनम्र अनुरोध गर्न चाहन्छु—आगामी निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्छ। यसले मात्र नागरिकको विश्वास बढाउँछ, लगानी वातावरण सुदृढ बनाउँछ, र हाम्रो युवा पुस्ता—विशेषगरी Gen Z—मा देशप्रेम र सहभागी भावनाको विकास गर्छ। जब हाम्रो प्रहरी बलको मनोबल उच्च हुन्छ, तब हाम्रो देश सुरक्षित रहन्छ; र जब ट्राफिक प्रणाली व्यवस्थित हुन्छ, तब हाम्रो शहरहरू चलायमान र प्रभावकारी रहन्छन्।

अन्त्यमा, म यस परियोजनामा समर्पित भएर काम गर्ने सम्पूर्ण विपद् व्यवस्थापन समिति, प्राविधिक टोली, उपत्यका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख श्री नवराज अधिकारीज्यू, सम्पूर्ण प्रहरी साथीहरू, परियोजनामा सहयोग गर्ने अभियन्ता ज्यूहरू, विश्वभरका एनआरएन साथीहरू, र यहाँ उपस्थित मिडिया प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको सहकार्य र समर्थन बिना यो उपलब्धि सम्भव हुने थिएन।

हामी विश्वभरका प्रवासी नेपालीहरू सधैं नेपालको विकास, सुदृढ शासन र सुरक्षित समाज निर्माणको यात्रामा साथ दिन तत्पर रहनेछौं।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप