बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

घिमिरे र चालिसेलाई डा.कोइरालाको आग्रह– पार्टी फुट्न सक्छ, सचेत रहनुस्

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको पहिलो प्राथमिकता नियमित महाधिवेशन
शुक्रबार, ०७ कात्तिक २०८२, १४ : ३०
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका नेताहरू अहिले केन्द्रीय समितिको निर्णय पर्खिरहेका छन्।
  • नेता गुरुराज घिमिरेले नियमित महाधिवेशनको मिति घोषणाको प्रतीक्षा गरिरहेको बताए, र पार्टी फुट्न सक्ने अवस्थाबारे सचेत रहन आग्रह गरिएको छ।
  • डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न र नियमित महाधिवेशनका लागि दबाब दिन आग्रह गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसमा ‘विशेष महाधिवेशन’ माग्दै हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएकाहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । केन्द्रीय कार्यसमिति बैठक जारी रहेकाले बैठकले के गर्छ भन्ने पर्खाइमा उनीहरू छन् । 

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको नेतृत्व गरेका युवा नेता गुरुराज घिमिरेले केन्द्रीय कार्यसमिति बैठक जारी रहेकाले निर्णय कुरिरहेको जानकारी दिए । आफूहरूको पहिलो प्राथमिकता नियमित महाधिवेशन भएकाले बैठकले मङ्सिर मसान्तसम्म हुने गरी ‘नियमित महाधिवेशन’को कार्यतालिका घोषणा गर्छ कि भनेर ‘वेट एण्ड सी’को अवस्थामा रहेको उनको भनाइ छ ।

‘हाम्रो पहिलो माग चार वर्षे कार्यकाल सकिने बेलासम्म नियमित महाधिवेशन हो । मङ्सिर मसान्तसम्म नियमित महाधिवेशनको मिति केन्द्रीय समिति बैठकले घोषणा गर्छ कि भनेर हामी पर्खिएको अवस्थामा छौँ,’ घिमिरेले रातोपाटीसँग भने, ‘नियमित महाधिवेशनका लागि नै केन्द्रीय कार्यसमितिलाई दबाब दिने हाम्रो रणनीति छ । त्यसैअनुसार काम गरिरहेका छौँ ।’

‘पार्टी फुटको सङ्घारमा जान सक्छ भन्दै सचेत रहन भन्नुभएको छ । सङ्कटमा एक ढिक्का भएर जानुपर्छ भन्नुभएको हो’

विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर गरेकाहरूको पहिलो प्राथमिकता नियमित महाधिवेशन भनेकाले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्य पनि नियमित महाधिवेशनको पक्षमा देखिएका छन् । 

नियमित महाधिवेशनको समयमा भने विवाद छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन गराउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूह वर्तमान कार्यसमितिको म्याद मङ्सिर मसान्तभित्र सकिने भएकाले त्यो समयसम्म नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । 

संस्थापन पक्ष भने फागुनमा निर्वाचन हुने निश्चित भए वैशाखमा र नहुने भएमा फागुनमा महाधिवेशन गर्नुपर्ने अडानमा छ । तर, इतर समूह र विशेष महाधिवेशन पक्षधरहरू भने मङ्सिर मसान्तभित्र नियमित महाधिवेशनको मिति घोषणा नभए विशेष भेला बोलाउने तयारीमा लागेपछि कतै पार्टी फुट्ने त होइन भन्ने संशय देखिन्छ । 

यस्तो अवस्था देखिएपछि नेता घिमिरे र देवराज चालिसेले इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् । भेटमा डा. कोइरालाले पार्टी फुटको जोखिमबाट बचाउन संयमित हुन दुवैलाई आग्रह गरेका छन् । घिमिरेले पनि कोइरालाबाट यस्तो आग्रह गरिएको स्वीकार गरे ।

डा. कोइरालाले पार्टी एक राख्नु संविधान, लोकतन्त्र र देशका लागि अनिवार्य रहेको बताएको घिमिरेको भनाइ छ ।

डा. शेखर कोइरालाले उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ०५९ सालमा पार्टीलाई दबाब दिन विशेष भेला डाकेकोमा भेलाले नै नयाँ पार्टी गठन गरिदिएको कुरा सम्झाएका थिए । 

‘पार्टी फुटको सङ्घारमा जान सक्छ भन्दै सचेत रहन भन्नुभएको छ । सङ्कटमा एक ढिक्का भएर जानुपर्छ भन्नुभएको हो,’ घिमिरेले डा. कोइरालाको भनाइ उद्धृत गर्दै भने, ‘संयमित हुनुस्, नियमित महाधिवेशनका लागि केन्द्रीय समितिलाई दबाब दिनुस् ।’

डा. कोइरालाले पार्टी एक राख्नु संविधान, लोकतन्त्र र देशका लागि अनिवार्य रहेको बताएको घिमिरेको भनाइ छ । घिमिरेले पार्टीलाई बलियो बनाउन, फ्रेस नेतृत्व लिएर चुनावमा जान र लोकतन्त्रलाई सुदृढ बनाउन महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको बताए । यसलाई कमजोरीका रूपमा लिइए भेला बाध्यता बन्ने र त्यो भेलाले के–के गर्न सक्छ भन्ने अनुमान गर्न गाह्रो हुने उनको भनाइ छ । 

डा. कोइरालाले पनि नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका थिए । घिमिरेले पार्टीको संस्थापनले विशेष महाधिवेशनको मागलाई अनावश्यक मागका रूपमा बुझेको भन्दै आफूहरूले पार्टी विधानमा रहेको व्यवस्थालाई कार्यान्वयनमा लैजाने प्रक्रिया अपनाएको बताए । आफूहरूको माग अहिलेको पार्टीभित्रको सङ्कट समाधानको अचुक अस्त्र रहेको उनको दाबी छ । 

संस्थापनले त महाधिवेशन प्रतिनिधिहरूको म्याद सकिइसक्यो भन्दैछ भन्ने प्रश्नमा घिमिरेले कसरी सकियो भन्दै प्रतिप्रश्न गरे । उनले भने, ‘महाधिवेशन प्रतिनिधिको म्याद सकिने, अनि अरूचाहिँ कसरी बाँकी रहन्छन् ? वडा, पालिका र प्रदेश सभा समितिको पनि म्याद सकियो भनेर भङ्ग गरेपछि मात्रै महाधिवेशन प्रतिनिधिको म्याद सकियो भन्न सुहाउँछ । उनीहरू फङ्सनमा रहने, महाधिवेशन प्रतिनिधिको म्यादचाहिँ सकियो भनेर सुहाउँछ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप