गृहमन्त्रीलाई हटाउन बालेन र उनका नजिकका मानिसहरू प्रयास गरिरहेका छन् : ईः
सारांश
- अभियन्ता ईः ले भदौ २३ र २४ गतेको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र अन्तरिम सरकार गठनको प्रक्रियाबारे खुलासा गरे।
- उनका अनुसार, सुरुमा बालेन्द्र साह र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रयास भए पनि पछि सुशीला कार्कीलाई अघि सारियो।
- ईः ले शक्ति प्रतिस्पर्धा, अस्पष्ट आन्तरिक चाहना र युवाको रगतको बलिदानबारे प्रश्न उठाउँदै दुर्घटना टार्न सबै सचेत हुनुपर्ने बताए।
काठमाडौं। भदौ २३ र २४ गतेको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र अन्तरिम सरकार गठनको प्रक्रियाभित्र ठुलो भूराजनीतिक र स्थानीय शक्तिबिच प्रतिस्पर्धा चलेको अभियन्ता ईः ले आफ्नो फेसबुक पोस्टमार्फत खुलासा गरेका छन्। उनले सुरुमा प्रधानमन्त्रीका लागि बालेन्द्र साह र त्यसपछि रवि लामिछानेलाई प्राथमिकतामा राखिएको, तर परिस्थिति विकराल बनेपछि योजना फेरिएको उल्लेख गरेका हुन्।
ईःका अनुसार, भदौ २४ गते पहिलो प्राथमिकतामा बालेन्द्र साहलाई प्रधानमन्त्री बनाएर गोलमेच सम्मेलन बोलाउनु थियो। ‘शुरुमा तयार भए पनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए,’ उनले लेखेका छन्।
दोस्रो प्राथमिकतामा रवि लामिछाने थिए, तर विकसित परिस्थितिहरूले उनको ओज कम गरिदियो। उनले लेखेका छन्, ‘त्यसपछि भदौ २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो। तर संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य नभएको बुझिएको छ। यी प्रारम्भिक प्रयासहरू यस्तो सानो वृत्तमा सीमित थिए कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन् शक्तिकेन्द्रहरू यसबारे बेखबर थिए।’
पूर्ण ‘भ्याकुम’ र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य र सर्वविश्वाशिलो बनेको ईःले उल्लेख गरेका छन्। यसमा राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण बालेन्द्र साहबाट टाढिएका र विधिसम्मत ढङ्गले चल्नुपर्छ भन्ने अडान राख्ने ओमप्रकाश अर्यालको ठुलो भूमिका थियो। त्यसैले, सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै पनि प्रधानमन्त्रीले उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान लिएको उनले बताएका छन्।
अर्यालको सट्टा राजु पाण्डे वा समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन्द्र साह र उनका नजिकका मानिसहरूले हरसम्भव प्रयास गरेको र अहिले पनि गरिरहेको ईःको दाबी छ। गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति नभए पनि, सारथि फेरिएमा प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्ने उनले औँल्याएका छन्।
- ‘नवयुवाको रगत यसैका लागि बगेको हो?’
अहिले ठुलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा चल्दैछ र अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट रहेको ईःले बताएका छन्। उनले प्रश्न गरेका छन्: ‘के नवयुवाको रगत यसैको लागि बगेको हो? कस्तो बिडम्बना ! कस्तो निर्लज्जता!’
ईः ले थप दुर्घटना टार्न सबै पक्ष सचेत हुन जरुरी देखिएको बताएका छन्। उनले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनैपर्ने र जवाफदेहिता तथा न्याय ओहदा नहेरी स्थापित हुनुपर्ने माग गरेका छन्। समयमा चुनाव हुनैपर्ने समाजको लागि उपयुक्त निकास भएको उनको जोड छ।
उनले रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा नहुने भन्दै यति सत्य बोल्दा ज्यान जोखिममा परे पनि पछि नहट्ने अडान व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण