शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
टीयू क्रिकेट ग्राउन्ड

एनपीएलका लागि तयार भयो त्रिवि क्रिकेट मैदान, १५ दिनमा बाँकी काम सकिने

‘अब संसारका विभिन्न मुलुक क्रिकेट खेल्नकै लागि नेपालमा आउनेछन्’
बुधबार, १२ कात्तिक २०८२, १९ : ००
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ, जसले मंसिरमा हुने एनपीएललाई लक्षित गरेको छ।
  • रंगशालाको प्यारापिट निर्माण र सिट जडानको काम सकिएको छ भने फ्लडलाइट जडानको काम ६० प्रतिशत सकिएको छ।
  • निर्माण व्यवसायीले ढिलाइ गरेपछि जरिवाना तिराएर काम भइरहेको छ, र मैदानमा एनपीएल आयोजना गर्ने तयारी छ।

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ । आगामी मंसिरमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)लाई लक्षित गरी निर्माण कार्यलाई तीव्रता दिइएकाले अबको १५ दिनभित्र सम्पूर्ण काम सम्पन्न हुने सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । 

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर गणेश कर्माचार्यका अनुसार रंगशालाको प्यारापिट निर्माण र सिट जडानको काम शतप्रतिशत सकिएको छ । ‘ हस्तान्तरणको प्रक्रियामा छ,’ कर्माचार्यले भने, ‘अब बाँकी मुख्य काम फ्लडलाइट जडान हो, जुन तीव्र गतिमा अघि बढिरहेको छ ।’

२०८१ असार ३१ गते केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीन महिनाभित्र यहाँ फ्लडलाइट र प्यारापिट निर्माण गर्ने निर्णय गरेको थियो । सम्झौताअनुसार असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने हो, तर  निर्माण व्यवसायीले ढिला गरेपछि हर्जाना तिराएर काम गराइएको छ । 

हाल मैदानमा प्यारापिटतर्फ शतप्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ, फ्लडलाइट जडानतर्फ भने ६० प्रतिशत प्रगति भएको छ ।

06-img-20251020-wa0464_XioYZJ1i9V

के–के छन् बाँकी काम ? 

१० हजार दर्शक क्षमताको यस मैदानमाको पूर्वी साइडमा २ हजार २९० र पश्चिम साइडमाडमा ७ हजार ७१० सिट जडान गरिएका छन्, त्यसमा रेलिङ फिटिङलगायत काम सकिएको छ । यस्तै फ्लडलाइटका लागि ६ वटा पोल ठड्याइएको छ । ल्याइएका ४२० वटा लाइटमध्ये १४० वटा जडान भइसकेका छन् । बाँकी २८० लाइटहरू पनि जडान हुने क्रममा छन् । ‘फ्लडलाइटको काम करिब ६० प्रतिशत सकिएको छ,’ कर्माचार्यले भने, ‘प्यानल बोर्ड र ड्राइभर र्‍याकजस्ता प्राविधिक कामहरू पनि सँगसँगै भइरहेका छन् । हामीले १०–१५ दिनभित्र सबै काम सकाउने लक्ष्य राखेका छौँ ।’

आगामी एनपीएल प्रतियोगिता यही मैदानमा सञ्चालन गर्न सकिनेमा उनी विश्वस्त छन् । ‘एनपीएललाई नै लक्षित गरेर हामीले कामलाई गति दिएका हौँ, तोकिएको समयमा काम सकेर प्रतियोगिता सञ्चालन गर्न कुनै समस्या हुँदैन,’ उनले थपे, ‘अहिले पनि मैदान खेल्नका लागि तयार छ, रात्रिकालीन खेलका लागि बत्तीको काम मात्रै बाँकी हो, त्यो पनि समयमै सकिन्छ ।’

गत दीपावलीको दिन फ्लडलाइटको परीक्षण पनि गरिएको थियो ।

म्यादभित्र काम नसकेपछि हर्जाना तिर्दै काम गर्दै 

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) ले २०८१ फागुन १९ गते र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन २२ गते कार्यालयसँग सम्झौता गरेका थिए ।
२०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकोमा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई जरिवाना तिराएर काम भइरहेको छ ।  सम्झौताअनुसार योजनाको कुल लागत रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक जरिवाना तिर्नुपर्ने उल्लेख छ, जुन करिब दैनिक २ लाखभन्दा बढी परेको  कम्पनीले जनाएको छ । 

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको कार्यालयले जनाएको छ । उक्त रकमको ०.०५ प्रतिशतका दरले दैनिक हर्जाना तिराएर काम भइरहेको छ । यसअनुसार प्यारापिट बनाउने कुल लागत ४९ करोड २५ लाख रुपैयाँको दैनिक २ लाख ४५ हजार रुपैयाँका दरले हर्जाना तिराइएको छ । 

02-img-20251020-wa0460_KadrfKX2p0

यस्तै फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँ लागत छ, यसको ०.०५ प्रतिशतका दरले २ लाख ३६ हजार ८५० रुपैयाँ जरिवाना तिराएर काम भइरहेको छ । 

कात्तिक मसान्तसम्म निर्माण सम्पन्न भयो भने १२३ दिन बित्छ ।

क्रिकेटको आकर्षण केन्द्र बन्ने अपेक्षा

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको पिमियर लिग (एनपीएल) यही मैदानमा आयोजना गर्ने तयारी गरेको छ । क्यानका प्रवक्ता छुम्दी लामाले केही समय ढिला भए पनि यसले पूर्णता पाउने निश्चित रहेको बताएका छन् । 

उनले त्रिवि मैदानमा एनपीएलपछि अन्य रात्रिकालीन खेलहरू सञ्चालन गर्न सकिने भएपछि दर्शकले विशेष अनुभव प्राप्त गर्ने बताएका छन् । लामाले भने, ‘प्लडलायटको काम अन्तिम चरणमा पुगेको छ, केही प्राविधिक कार्य र केही लाइट जडान कार्य बाँकी छ । अब फ्लडलाइटमा एनपीएल हुन्छ । दर्शकले यस मैदानमा रात्रिकालीन खेल हेर्न पाउँनेछन् ।’ 

यस मैदानको कुल दर्शक क्षमता १२ हजार हो । 

नेपालमा क्रिकेटको बढ्दो क्रेज र पहिलो संस्करणको एनपीएलको सफलतालाई ध्यानमा राखेर सरकारले यो मैदान निर्माणलाई प्राथमिकता दिएको हो । भविष्यमा विश्वका विकसित क्रिकेट राष्ट्रहरूका लागि नेपाल एक आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको लामाको तर्क छ । 

‘काठमाडौँमा तीनवटा मैदान निर्माण भइसकेको छ । पहिलो संस्करणको एनपीएलको क्रेज देखेपछि सरकारले यो स्टेडियम बनायो । अब नेपाल क्रिकेटको आकर्षक गन्तव्य बन्ने छ,’ लामा भन्छन्, ‘संसारका विभिन्न मुलुकबाट क्रिकेट खेल्नकै लागि जसरी दुबई जान्छन् त्यसरी नै नेपालमा आउनेछन् ।’

12-img-20251020-wa0476_9AYBHsQU40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप