बालुवाटारमा सुशीला कार्कीले भनिन्- प्रधानमन्त्री बन्न मन थिएन, तर जेनजी युवाहरू धरधरी रोए
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले देशको अप्ठ्यारो परिस्थिति र युवाहरूको भावनाले आफूलाई प्रधानमन्त्री बन्न बाध्य पारेको बताइन्।
- उनले सरकार परिवर्तनकामी युवाको आवाज सम्बोधन गर्न लागिपरेको र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्।
- कार्कीले विदेशी हस्तक्षेपबारे उठेका प्रश्नलाई अस्वीकार गर्दै सरकारको मनोबल उठाउने दिशामा काम गरिरहेको बताइन्।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बन्ने इच्छा नभए पनि देशको अप्ठ्यारो परिस्थिति र जेनजी युवाहरूको भावनाले आफूलाई प्रधानमन्त्री पदको जिम्मेवारी लिन बाध्य बनाएको बताएकी छन्।
बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबिचको त्रिपक्षीय बैठकको समापन गर्दै उनले भनिन्, ‘म यहाँ रहरले आएकी होइन। म राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ भनेकी थिएँ। तर जेनजीका युवाहरू मेरो घरमा आएर अभिभावकत्व लिइदिन आग्रह गर्नुभयो, र उहाँहरू धरधरी रुनुभयो।’ उनले आन्दोलनका शहीद र घाइते युवाको सम्झना गर्दै जिम्मेवारी स्वीकार गरेकी बताइन् । बैठकमा उनले भनिन्, ‘मैले ती निर्दोष बालबालिकाको निधारमा गोली लागेर ढलेको तस्बिर सम्झिएँ। ती घाइतेहरूको अनुहारले मलाई केही गर्नै पर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ ।”
_pY570ZTktH.jpg)
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार परिवर्तनकामी युवाको आवाज सम्बोधन गर्न लागिपरेको बताइन्। उनले भनिन्, ‘हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। बोलेको कुरा पुर्याउँछौँ।’
_zaqPtSeP1V.jpg)
वैदेशिक हस्तक्षेपबारे उठेका प्रश्नप्रति उनले भनिन्, ‘विदेशीले हस्तक्षेप गर्छ भन्ने कुरा तर्साउने हतियार मात्र हो। अहिलेसम्म मलाई कुनै विदेशीले यसो गर वा नगर भनेको छैन।’
उनले न्यायाधीशबाट राजनीतिमा आएको विषयमा पनि टिप्पणी गर्दै भनिन्, ‘के न्यायाधीशलाई प्रधानमन्त्री वा मन्त्री बन्न संविधानले रोकेको छ ? भारतमा पनि न्यायाधीशहरू मन्त्री बनेका छन्। यहाँ असामान्य अवस्था हुँदा किन प्रश्न उठ्ने ?’
भ्रष्टाचारविरुद्धको आफ्नो अडान पुनः दोहोराउँदै उनले भनिन्, ‘यदि भ्रष्टाचार गरेको भेटिए भने मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु।’
_6Tu1x1n8ts.jpg)
समापनमा उनले सरकार विश्वास र मनोबल उठाउने दिशामा काम गरिरहेको बताइन्। ‘३५ वर्षसम्म मनोबल गिराइएका मान्छेहरू अहिले मनोबलको कुरा गर्छन्,’ उनले भनिन्, ‘तर हामी मनोबल उठाउने दिशामा छौँ, उठ्छ। किनभने हामी सपार्ने दिशामा छौँ।’
प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त समापन मन्तव्य
म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।
म त्यसरी हिँड्दा देशलाई यस्तो अप्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो।
जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।
मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।
हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पुर्याउँछौँ।
हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन यसै गरी छलफल र गृहकार्य गर्छौँ। कामको प्रगति विवरण लिन्छौँ। समस्याहरू फुकाउन लागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ।
प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।
३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।
अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।
हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।
अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौँ। हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ।
यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।
कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने।
मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबिच नारा लगाइरहेका ती युवाको त्यस बेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।
म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरू सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ।
अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण