बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘भिजिट भिसा’मा कडाइपछि देशभित्रै घुम्न थाले नेपाली
पर्यटन

‘भिजिट भिसा’मा कडाइपछि देशभित्रै घुम्न थाले नेपाली

बिहीबार, १३ कात्तिक २०८२

काठमाडौँ । जेनजी आन्दोलनले पर्यटन क्षेत्रलाई कस्तो असर पारेको छ र अबका दिनमा कस्तो असर गर्ला भन्ने विषय अहिले पनि सर्वाधिक चासोको विषय बनिरहेको छ । आन्दोलनका क्रममा होटलमा तोडफोड र आगनजी हुनु, विदेशी पर्यटकको मृत्यु हुनुले ‘नेपाल सुरक्षित छैन’ भन्ने सन्देश गएको सरोकारवाला बताउँछन् । छिमेकी मुलुक भारतले समेत नेपाल भ्रमणमा एड्भाइजरी जारी गर्नुले यसको पुष्टि गर्छ ।

internal tourism tourist (1)

पर्यटकीय क्षेत्रमा देखिएको उपस्थितिको तथ्याङ्कले भने ठिक उल्टो अवस्था देखाउँछ । नेपालमा यस्तो भयावह अवस्था रहेको कुरालाई नै बिर्साउने गरी हालै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको सरोकारवाला बताउँछन् ।

मुख्य पर्यटकीय गन्तव्यहरू यो सिजनमा भरिभराउ छन् । खासगरी पोखरा, सौराहादेखि हिमाली गन्तव्यहरू मनाङ, मुस्ताङ, अन्नपूर्ण क्षेत्र, लाङटाङ र एभरेष्ट बेसक्याम्प क्षेत्रसम्ममा उत्तिकै चहलपहल देखिन्छ । तिहार बिदाको क्रममा त थामिनसक्नु भिड देखिएको र क्षमताले धान्नै मुस्किल रहेको अवस्थासमेत थियो ।

internal tourism tourist (2)

यी दुई वास्तविक चित्रबारे सरोकारवाला भने आ–आफ्नै ढङ्गले व्याख्या गर्दै आएका छन् । खासगरी सरकारी अधिकारीहरू यसलाई जेनजी आन्दोलन र प्राकृतिक विपत्तिपछि अर्थतन्त्रले गरेको ‘रिभाइभ’को रूपमा अर्थ्याउँछन् । केही दिनअघि एउटा अन्तर्वार्तामा अर्थमन्त्री रामेश्वर खनालले नै यही आशयको अभिव्यक्ति दिए । उनले ‘नेपाल असुरक्षित छ’ भन्ने अभिव्यक्तिलाई ‘भ्रमको खेती’को रूपमा टिप्पणी गरेका थिए ।

तर, के नेपालको पर्यटन सुधारतिर गएकै हो त ? यसमा व्यक्ति अनुसार फरक बुझाइ देखिन्छ । कतिपय अवस्थामा व्यवसायीहरू समेत यो विषयमा एकमत देखिएका छैनन् ।

internal tourism tourist (3)

पर्यटन व्यवसायी एवं ‘होटल मेरियट’का सञ्चालक शशीकान्त अग्रवाल नेपालमा भएका तोडफोड र आगजनीको घटनाको नकारात्मक सन्देश अहिले पनि विश्वमा कायमै रहेको बताउँछन् । यसले गर्दा पर्यटक आगमन प्रभावित भएको उनको भनाइ छ ।

विदेशीको बुकिङ अवस्थाबारे अग्रवालले भने, ‘नेपालमा जनवरी र फेब्रुअरीका लागि आउने पर्यटकका लागि यति बेलासम्म ३५ प्रतिशत जति बुकिङ भइसक्थ्यो, तर यो वर्ष अहिलेसम्म ५ प्रतिशतमात्रै बुकिङ भएको छ । अहिले तपाईंले जति विदेशी पर्यटक आएको देख्नुभएको छ, ती प्रि–बुकिङ गरिएका पर्यटक हुन् । नयाँ बुकिङमा यसले ठुलै असर पार्ने देखिन्छ ।’

internal tourism tourist (4)

उनका अनुसार सुरक्षित भनिने ठाउँमै सुरक्षा नभएपछि सुरक्षाप्रति संवेदनशील पर्यटकहरूको आवागमन कम हुन थालेको छ । मानिसले सुरक्षाका लागि लक्जरी होटल रोज्ने भए पनि यसको प्रत्याभूति दिनसक्ने अवस्था अहिले नभएको उनको भनाइ छ ।

‘हामीले फाइभस्टार सुविधा दिइरहेका छौँ । यो भनेको सुरक्षा पनि हो । हामीले क्लाइन्टलाई सबै प्रकारको सुरक्षा दिन्छौँ भनेरै उहाँहरूले प्रिमियम मूल्य तिरेर फाइभस्टार होटलमा बस्ने हो,’ अग्रवालले भने, ‘तर होटलमै आगजनी हुने, पर्यटकको मृत्यु नै हुने घटनाले त सुरक्षाको प्रत्याभूति दिन्छौँ भन्नसक्ने अवस्था पनि भएन । विदेशी पर्यटकहरू यसबारे संवेदनशील हुन्छन् । यसले पर्यटनमा असर गर्छ ।’

internal tourism tourist (5)

तर, पोखराका पर्यटन व्यवसायीको भने बुझाइ फरक छ । होटल एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी यो वर्ष विभिन्न कारणले पर्यटनमा प्रभाव परे पनि दीर्घकालीन रूपमा यसको असर ठुलो नहुने बताउँछन् । ‘यो आन्दोलनको प्रभाव वर्षाैंसम्म रहिरहन्छजस्तो लाग्दैन, जुन अवस्था दसैँ–तिहारको वरपर देखियो, यसले पर्यटन क्षेत्र रिभाइभतिरै छ भन्ने देखाएको छ । राजनीतिक अवस्था सुधार हुने हो भने झनै छिटो सुधार हुन्छ,’ उनले भने ।

यो वर्ष बुकिङ कम भएको सत्य भए पनि प्रि–बुकिङ भएका व्यक्तिहरू आउनुले पनि नेपाल असुरक्षित छैन भन्ने बुझाइ स्थापित गरेको सुवेदीको भनाइ छ । उनले भने, ‘असुरक्षित छ भन्ने सन्देश गएको भए बुकिङ क्यान्सिल हुन सक्थ्यो । नभए पनि आउने क्रम कम हुन सक्थ्यो, तर बुकिङ भएका पर्यटकहरू नआएको अवस्था कमैमात्र छ । यो एउटा राम्रो सन्देश हो ।’

internal tourism tourist (6)

  • कस्तो देखियो यो वर्षको अवस्था ?

जेनजी आन्दोलन अघिसम्म मुख्य पर्यटकीय क्षेत्रको अवस्था ठिकै थियो । यो वर्ष राम्रै सुधार हुन्छ भन्ने अपेक्षा व्यवसायीहरूले गरेका थिए, तर आन्दोलन र त्यसको करिब करिब १५/२० दिनसम्म अवस्था ठप्पजस्तै देखिएको होटल एसोसिएसन पोखराका अध्यक्ष सुवेदीको भनाइ छ ।

दसैँ आसपासमा आइपुग्दासम्म पोखरामा पर्यटकको उपस्थिति देखिन थालिसकेको थियो, तर निरन्तरको वर्षा र पहिरोका कारण केही दिन फेरि अवस्था ठप्पजस्तै देखियो । यसपटक आन्तरिक पर्यटकहरूको उपस्थिति गत वर्षभन्दा धेरै देखिएको उनको भनाइ छ । यसले गर्दा तिहार आसपासमा सबै होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेको उनको भनाइ छ ।

internal tourism tourist (7)

यो अवस्था पोखरामा मात्रै नभएर सबै पर्यटकीय क्षेत्रमा समान देखिएको सुवेदी बताउँछन् । यसको पछाडि तिहार बिदा लामो समय हुनु र मौसम सुधार हुनु मुख्य कारण रहेको उनी मान्छन् । उनले भने, ‘हामीकहाँ मात्रै होइन, सौराहामा पनि त्यत्तिकै पर्यटक रहेको भन्ने छ । मनाङ, मुस्ताङतिर जानेहरू पनि त्यत्तिकै देखियो । सबैतिर अवस्था यस्तै देखिन्छ ।’

यद्यपि समग्रमा भने यो वर्ष पर्यटन घटेको सुवेदीको भनाइ छ । ‘अहिलेसम्म त पोखरामा राम्रै छ । यता घुम्नेहरू फर्किसके पनि हिमालतिर गएकाहरू फर्किँदै गरेकाले अहिलेसम्म चहलपहल ठिकै छ, तर उहाँहरू फर्केपछि अकुपेन्सी घट्दै जान्छ ।’

internal tourism tourist (8)

  • विदेशीले भिसा कडाइ गर्दा आन्तरिक पर्यटनमा उत्साह

नेपालमा फेस्टिभल भ्याकेसन मनाउन विदेश जाने क्रम पछिल्ला वर्षहरूमा चलिरहेको छ । यसमध्ये धेरैजसो व्यक्तिको रोजाइ यूएई हुने गरेको छ । जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई दिँदै आएको भिसा बन्द गरेको छ । यसबाहेक अरू देशले समेत भिसामा कडाइ गरेका छन् । यसले गर्दा पनि अहिले आन्तरिक पर्यटनमा सकारात्मक असर परेको देखिएको ट्राभल एजेन्ट व्यवसायी तथा नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाइँ बताउँछन् ।

internal tourism tourist (9)

‘युएईले त हाम्रो भिजिट भिसा नै रोकेको छ, अन्त पनि भिसामा कडाइ भएको छ । विभिन्न अवराधमा जेलबाट भागेकाहरू जान सक्छन् भनेर धेरै देशमा भिसामा कडाइ भएको छ,’ गुरागाइँले भने, ‘अहिले टुरिजम एरियामा देखिएको भिडभाडको एउटा कारण यो पनि हो ।’

त्यसो त, आन्तरिक पर्यटनको ट्रेन्ड बढ्दै गर्दा पछिल्लो समय विदेशी पर्यटक केन्द्रित सेवाको मानसिकता समेत त्यागेका छन् । विदेशीभन्दा नेपालीको खर्चको प्रवृत्ति बढ्दै गएकाले अहिले सम्बन्धित क्षेत्रका व्यवसायीले समेत सोही अनुसार सेवालाई परिष्कृत गर्दै गएको गुरागाइँको बुझाइ छ ।

internal tourism tourist (11)

घटेको विदेशी पर्यटकलाई आन्तरिक पर्यटकले कभर गरिदिँदा अरू क्षेत्रमा धेरै समस्या नदेखिए पनि पूर्ण रूपमा विदेशीलाई सेवा दिँदै आएको क्षेत्रले भने परिवर्तित अवस्थाको सबैभन्दा ठुलो क्षति व्यहोर्नुपर्ने देखिएको छ । खासगरी पर्वतारोहण (ट्रेकिङ) व्यवसायीहरू यसबाट प्रभावित हुने देखिन्छ ।

ट्रेकिङ व्यवसायी रामचन्द्र सेढाइँ ट्रेकिङ कम्पनीहरू विशेषगरी विदेशी पर्यटकलाई नै प्याकेज बेच्दै आएकाले यसले असर गर्नसक्ने अवस्था रहेको बताउँछन् । नेपालीहरू प्याकेजविना वा ट्रेकिङ गाइडविनै ट्रेकिङ र हाइकिङमा जाने भएकाले नेपाली पर्यटक बढ्दा पनि यसले धेरै कभर गर्नसक्ने अवस्था नरहेको सेढाइँ बताउँछन् ।

internal tourism tourist (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया