भिजिट भिषामा यात्रासम्बन्धी मापदण्ड परिमार्जन : पहिला के थियो, अहिले के भयो ?
सारांश
- भिजिट भिसामा विदेश जानेहरुको लागि आवश्यक कागजातबारेको मापदण्ड परिमार्जन गरिएको छ।
- नयाँ मापदण्ड अनुसार राहदानी, भिसा र हवाई टिकट भएमा भिजिट भिसामा जान पाइनेछ।
- ६ बुँदे मापदण्डका कारण सेटिङ धन्दा चलेको निष्कर्षपछि परिमार्जन गरिएको हो।
काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुबाट ‘सेटिङ’मा रकम असुल्ने गरिएको तथ्य बाहिरिएसँगै पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातबारेको मापदण्ड परिमार्जन गरिएको छ । २०८० माघ १० बाट लागू गरिएको ‘विवादित’ ६ बुँदे मापदण्ड गृह मन्त्रालयले परिमार्जन गरेको हो ।
बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट ६ बुँदे मापदण्ड परिमार्जन गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
परिमार्जित नयाँ मापदण्ड अनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रुहरु भिजिट भिसामा विदेश जान पाउँछन् । भ्रमणमा आवश्यक कागजात साथमा रहेको र भ्रमणबाट सिर्जित परिणामबारे स्वयम् जिम्मेवार रहने व्यहोराको स्वःघोषणा फारम भराएर भिजिट भिसामा प्रस्थान अनुमति दिइने महानिर्देशक तिवारीले बताए ।
‘विश्वका जुनसुकै मुलुकमा जान चाहनेहरुलाई स्वघोषणा फारम भराउँछौं,’ उनले भने ।
यसअघिको ६ बुँदे मापदण्डमा यूएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा मात्रै स्वघोषणा गर्नुपर्ने प्रावधान थियो । स्वघोषणा गरिएको विवरण नागरिक एपसँग आवद्धता गरिने तिवारीले बताए । ‘अब अनुमान, शंका र हैसियत जाँचेर तजबिजी निर्णयको आधारमा घुम्न जान्छु भन्नेहरुलाई फिर्ता गरिँदैन,’ उनले भने ।
६ बुँदे मापदण्डका कारण बिचौलियाहरुले चलखेल गरेर ‘सेटिङ’ धन्दा सञ्चालन गरेको अध्यागमन विभागको निष्कर्ष छ ।
यस्तो थियो ६ बुँदे मापदण्ड
-कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी
-सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भएर प्रवेशाज्ञा नचाहिने
-दुईतर्फी हवाई टिकट
-भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र
-५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण
-यूएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्ने । स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहनेछ ।
भिजिट भिसामा हुने अनियमितता छानबिन गर्न गठन गरिएको पूर्व मुख्यसचिव शंकारदास बैरागी नेतृत्वको समितिले ६ बुँदे मापदण्ड परिमार्जन गर्न सुझाव दिएको थियो । जेनजी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाउँदै बैरागी नेतृत्वको समितिले भिजिट भिसामा विदेश जानेहरुले पूरा गर्नुपर्ने ६ बुँदे मापदण्ड परिमार्जन गर्न सुझाएको थियो ।
उच्चस्तरीय समितिको प्रतिवेदन र सुझावलाई समेत आधार मानेर पुरानो मापदण्ड खारेज गर्दै भिजिट भिसाको यात्रालाई सहज बनाइएको महानिर्देशक तिवारीले बताए ।
नयाँ मापदण्ड
-कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी
-सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने
-प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट
-आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण