सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्व अर्थमन्त्री फोरमको आह्वान

शुक्रबार, १४ कात्तिक २०८२, २१ : ३७
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • पूर्व अर्थमन्त्री फोरमले नागरिक र व्यवसायीलाई विचलित नभई नियमित आर्थिक गतिविधि गर्न आह्वान गरेको छ।
  • फोरमले भदौ २४ गतेको घटनाबाट परेको प्रभावबारे चिन्ता व्यक्त गर्दै, सरकारलाई सुरक्षा र राहतका लागि आह्वान गरेको छ।
  • बैठकले कर विवरण बुझाउने अवधि र ऋण भुक्तानीको समय थप्न तथा दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

काठमाडौँ । पूर्व अर्थमन्त्री फोरमले आम नागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलापहरू सञ्चालन गर्न आह्वान गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनाल उपस्थित रहेको आज यहाँ बसेको फोरमको बैठकले भदौ २४ गते जेनजीको भावना विपरीत आपराधिक मानसिकता भएका अराजक समूहबाट गरिएका घटनामा तोडफोड, लुटपाट एवं आगजनीबाट आम नागरिक र व्यवसायी जगत्मा ठुलो आर्थिक र मनोवैज्ञानिक क्षतिबाट परेको प्रभावबाट विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलाप सञ्चालन गर्न आह्वान गरेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए ।

‘यस घटनाबाट आम नागरिक, व्यावसायिक जगत्को मनोबल तथा आर्थिक क्रियाकलाप कमजोर हुन नदिन सरकारले सुरक्षा, राहत तथा सहुलियतजस्ता प्रयासलाई थप अघि बढाउन आह्वान गर्दछौँ’, उनले भने ।

बैठकले कर विवरण बुझाउने अवधि एवं ऋण तथा ब्याज भुक्तानीको अवधिलाई अतिरिक्त १५ दिन थप गर्न पनि सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी भदौ २४ गतेको घटनामा सार्वजनिक, व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, लुटपाट एवं आगजनीजस्ता आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाहीमा तीव्रता ल्याउनसमेत सरकारलाई अनुरोध गरेको छ । 

बैठकमा अर्थमन्त्री खनालसहित पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत, गभर्नर विश्व पौडेल, अर्थसचिव घनश्याम उपाध्यायको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप