रारा अर्थात् सुन्दर र अप्ठेरोको मिश्रण
सारांश
- लेखक र उनको जीवनसाथीले रारा तालको यात्रा दसैँ तिहारको बिचमा गर्ने निर्णय गरे।
- यात्राको क्रममा, उनीहरूले विभिन्न ठाउँहरू जस्तै बुटवल, सुर्खेत, जुम्ला, र मान्माको भ्रमण गरे।
- यात्रामा रारा पुगेपछि, उनीहरूले मुर्मा टपको यात्रा गरे र राराको सुन्दरताको अनुभव गरे।
मान्छे घुमफिरमा रमाउने प्राणी रहेछ । पितापुर्खा पनि फिरन्ते नै भएर हो कि ? घुम्न भनेपछि मेरो मन हुरुक्क हुन्छ । विगतका वर्षझैँ यस पटक दसैँ तिहारबिचमा कतै घुम्न जाने मनसाय थियो । ताक त विदेश घुम्ने थियो । तर भिसाको प्रक्रियाले सम्भव भएन । नेपालमा धेरै जिल्ला घुमिसकेको भए पनि मुगुको रारामा पाइला टेक्न पाइएको थिएन ।
कोजाग्रत पूर्णिमाकै दिनमा जीवनसाथी जीवन र म यात्रामा निस्कियौँ । घरायसी सरसल्लाह भन्दा घुमफिरको सल्लाह हामीबिच तुरुन्तै मिल्छ । छोरालाई मामाघरमै छाडेर हामी बिहान नौ बजे रारा भ्रमणका लागि निस्कियौँ । लगातारको वर्षा र अस्तव्यस्त सडकबारे समाचारमा आइरहेकै थिए । बुबाआमाले यसपटक कतै घुम्न नगए हुन्थ्यो भन्ने सङ्केत गरिरहनु भएको थियो ।
हामी तयार भएर निस्किएपछि भने रोक्नुभएन । बिग्रिएको सडकले बाटोमा निकै अलमल्यायो । हिँडिसकेपछि जे त होला भन्ने भाव जाग्दो रहेछ । सडक वर्षाले बिग्रिएको छ भन्ने जान्दाजान्दै पनि हाम्रो यात्रा सुरु भयो । बाटो काट्दै हामी बुटवल पुग्यौँ । दसैँले गर्दा सडकमा चाप थिएन, तर सुनसान पनि थिएन ।
बुटवलबाट सैनामैना, सालझण्डी हुँदै वाणगङ्गा कटेर गोरुसिङ्गेमा करिब पाँच बजे बेलुकी पुग्यौँ । मेरी दिदीकी छोरी रश्मि खनाल (नेपाली सेनाको अधिकृत) लाई भेट्नु थियो । उनी ड्युटीमै भएकोले उनकी साथीले हामीलाई अधिकृत मेसमा लगी मिठा परिकार चखाइन् ।
पिच सडक, सिधा बाटो भेटेपछि गाडी मात्रै होइन कुराको पनि रफ्तार बढिहाल्थ्यो । एक्कासि जङ्गलबिचमा गाडीको लर्को देखियो ।
जे होस, रश्मि आइपुगी । कुराकानीकै सिलसिलामा नेपाल–भारतको सिमाना बजारका रूपमा रहेको कृष्णनगरदेखि अगाडि घुम्न जाने योजना बन्यो । घुमघाम गरेर बिहान करिब आठ बजे हामी सुर्खेतका लागि निस्कियौँ । कपिलवस्तुलाई छाड्दै अर्घाखाँचीको छेउमा पाइला टेक्दै हाम्रो यात्रा दाङतर्फ अघि बढ्यो ।
भालुवाङमा राप्ती नदीलाई पार गर्दै गर्दा जीवन निकै भावुक बने । मलाई पनि नमिठो महसुस भयो । गत वर्ष बस दुर्घटनामा ताराकान्त पाण्डेय सरको निधन यहीँ भएको थियो । हामीलाई एमएदेखि एमफिल र पिएचडीसम्म प्राध्यापन गर्नुभएका गुरुलाई सम्झियौँ । र, लमहीबाट चौलाही, सतबरिया हुँदै अमिलियामा पुगेर रोकियौँ । त्यहीँ खाना खायौँ, एकछिन आराम गरी अघि बढ्यौँ ।
पिच सडक, सिधा बाटो भेटेपछि गाडी मात्रै होइन कुराको पनि रफ्तार बढिहाल्थ्यो । एक्कासि जङ्गलबिचमा गाडीको लर्को देखियो । बाँके राष्ट्रिय निकुञ्ज परिसर रहेछ त्यो, ‘टाइमकार्ड’ रहेछ । हामी पनि रोकियौँ र सवारी दर्ता गराई सेनाहरूले दिएको समय सीमालाई पालना गरी बिस्तारै गाडी अगाडि बढायौँ ।
हामी बाँकेको कोहलपुर पुग्यौँ । निकै सुन्दर र व्यवस्थित रहेछ सहर । कोहलपुरबाट दक्षिण लागे नेपालगञ्ज पुगिन्थ्यो । हामी पश्चिमतर्फ हानियौँ । बर्दिया राष्ट्रिय निकुञ्जको हरियाली र चराचुरुङ्गीका दृश्यहरूसँग रमाउँदै हामी बबई नदी तरेर भेरीगङ्गालाई भेट्न दौडियौँ ।
भेरीको तिरैतिर केही समय हिँडेपछि भेरी छाडेर छिन्चु पुग्यौँ । जङ्गलैजङ्गलको बाटो हुँदै झुप्रा खोला र भेरी दोभान तरेर सुर्खेतमा पाइला टेक्यौँ । कर्णाली प्रदेशको राजधानी तथा प्रमुख व्यापारिक केन्द्र समेत रहेको सुर्खेतको वीरेन्द्रनगर पुग्यौँ । त्यहाँ पुग्नेबित्तिकै मलाई बुलबुल ताल, देउती बज्यै, काँक्रेविहारको याद आयो ।
करिब पाँच बजे सुर्खेत पुगेका हामी स्थानीय विष्णु कँडेलकै सल्लाहमा बुलबुले ताल घुम्न गयौँ । साँझ उहाँकै घरमा आतिथ्य मिल्यो ।
वीरेन्द्रनगरको बसपार्क बाहिरै गाडी रोकेर रारा कसरी जान सकिन्छ भन्नेबारे जानकारी लियौँ । टिकट काउन्टरका दाइले रारा जानका लागि जिप रिजर्भ गर्नुपर्ने र टिम पुग्नुपर्ने बताए । सातजना पाएपछि जिप जाने रहेछ । हामीलाई जुम्लाको खलङ्गा र दैलेखको दुल्लु पनि जाने मन थियो ।
करिब पाँच बजे सुर्खेत पुगेका हामी स्थानीय विष्णु कँडेलकै सल्लाहमा बुलबुले ताल घुम्न गयौँ । साँझ उहाँकै घरमा आतिथ्य मिल्यो । भोलिपल्ट बिहानै हामीलाई जुम्लाको गाडीमा चढाएर सर फर्कनुभयो । जुम्ला जाने बसमा चढेपछि गाडी कुन दिशातर्फ गयो भन्ने निक्र्यौल गर्न मलाई हम्मेहम्मे भयो । जङ्गल, उकाली ओराली, अनेक घुम्ती र मोडहरू पार गर्दै हामी जुम्लाको यात्रामा हिँड्यौँ ।
सोत खोला तरेर जङ्गल कटेपछि बड्डी चौर पुग्यौँ । एउटा पहाडबाट अर्को पहाडमा पर सडक देखिन्छ । कहाँ जाने बाटो होला ? भन्ने सोच्दासोच्दै घुम्दैफिर्दै त्यहीँ पुग्नुपर्ने रहेछ । कस्तो रमाइलो घुम्ती, हरियाली जङ्गल अनि उकाली ओराली । दृश्यलाई झ्यालबाट नियाल्दै खुब आनन्द लिएँ मैले ।
पातालखोला कटियो । उही ग्रामीण भेगका सुन्दर दृश्य । नियालिरहन मन लाग्छ । खै कुन खोला हो ? लेखेको साइनबोर्ड फुत्तै कटिहाल्यो । दाहिनेतिर सानो थियो खोला । देव्रेतिर कञ्चन ठुलो नदी । ऊ त्यही हो कर्णाली, यहाँ नजिकै देखिन्छ, पल्लो सिटमा बसेका दुई महिलासँग गफ गर्दै थिए ।
मान्मा कटेपछि पिच सडक, पहाडका दृश्य कति सुन्दर । शब्दमा वर्णन गर्नै कठिन । यहाँसम्मको कठिन यात्रालाई नै भुलाइदिने ।
कर्णाली नदी हुम्लातिर गयो क्यारे बिच बाटोमै छाडियो । अर्को अलिक सानो नदी आयो तिला । त्यसको पुल कटेर उकालियो सडक । कच्ची, अत्यन्तै घुमाउरो र उकालो । कालीकोटको उकालोमा डरले हनुमान चालिसा पढ्न थाल्छन् यात्रुहरू भनेर रारा गएका साथीले भनेका थिए ।
गाडी ढलक्क ढल्किएर घुम्तीमा मोडिँदा राम–राम भन्न मन लाग्ने । तल हेर्यो तिला नदी कहाँ हो कहाँ । ठाडो भिर छ । साँघुरो सडक, त्यो पनि कच्ची । हे भगवान् ! जति पहाड चढ्यो त्यति परपर तरेली परेर बसेका पहाड हेर्न कम रोचक हैन फेरि ।
बिस्तारै–बिस्तारै मान्मा पुगियो । यसको सौन्दर्य नजिकबाट भन्दा टाढाबाट असाध्यै राम्रो । लहरै छपक्कै आकाशका तारापुञ्जजस्ता भिरमा अडिएका घरहरू, कति राम्रा । कालिकोटको सुन्दरता सडकमा होइन, यिनै पहाडमा टाँसिएका घरहरूलाई एकै नजरमा हेर्दा रहेछ । मान्मामा ठुला हस्पिटल बनिसकेको रहेछ । होटलहरू पनि रहेछन् । बजार पनि बढ्दै रहेछ ।

मान्मा कटेपछि पिच सडक, पहाडका दृश्य कति सुन्दर । शब्दमा वर्णन गर्नै कठिन । यहाँसम्मको कठिन यात्रालाई नै भुलाइदिने । त्यसपछि छड्के–छड्के हुँदै हुइँकियौँ हामी । रारातिर नगईकन तातोपानी हुँदै जुम्ला बजार । जुम्ला खलङ्गा बजारको सुन्दरता अर्कै । वरवरबाट सल्लैसल्ला भएका वनहरूले घेरिएको बिचको फाँट ।
एक नजरमा जुम्ला बजार हेर्न हामी माई मन्दिर उक्लियौँ । असाध्यै हावा लाग्ने रहेछ दिउँसो । करिब आधा घण्टाको उकालो सिँढी चढेर हामीले जुम्लालाई एक नजरमा देख्यौँ । सबैभन्दा धेरै एरियामा देखियो विमानस्थल र धानका फाँट अनि बजार । त्यसपछि कञ्चन पानी बहाइरहेका तिला र जवा नदीको सङ्गमबाट फैलिएको तिला कर्णाली नदी ।
बजारको बिचमा प्रसिद्ध मन्दिर रहेछ चन्दननाथ मन्दिर । यसको दर्शन गरेपछि हामी जुम्ला बहुमुखी क्याम्पस भ्रमणमा गयौँ । त्यसपछि डोल्पा जाने सडकलाई छाडेर देब्रेपट्टि आकाशे पुल तरेपछि सानो गाउँमा पुगियो– दानसाँघु । त्यहाँ पाटीमा बसेका बालबालिका र वृद्धसँग गफगाफ गर्यौँ । गुरुङ समुदायको बस्ती रहेछ त्यहाँ । जुम्लामा दुई दिन बिताएपछि मुगुको यात्रामा निस्कियौँ ।
करिब एक घण्टाको बाटो साह्रै अप्ठ्यारो रहेछ– उकालो, कच्ची । पानीको भेलले माटो बगाएर सडकबिचमै ठूलाठूला कुलेसा परेका, धाँजा फाटेका र खाल्डाखुल्डी परेका । कठिन यात्रापछि पुगिने गन्तव्यले स्वर्गीय आनन्दको कोसेली बोकेर पर्खिरहँदो रहेछ । खालीपाटन पुगेपछि यस्तै महसुस भयो ।
मनमा आयो ‘फेवाताल नै सुन्दर, यो भन्दा त’ । तर केही बोलिनँ । तिलिचो सम्झिएँ । कहाँको तिलिचो, कहाँको रारा ? तुलना गर्न सकिन्न ।
त्यहाँको भेडीगोठ, डाँडाभरि चरिरहेका भेडाका बथान हेर्दै तात्तातो मार्सी चामलको भात र आलुको तरकारी, सिमीको दाल असाध्यै मिठो गरी खाइयो । त्यहाँ अर्को जिपका यात्रुहरू पनि स्वाद मानीमानी खाना खाइरहेका थिए ।
त्यसपछि गमगढीतर्फको सडकलाई छाडेर हामी सल्लेरीतर्फ लाग्यौँ । यात्रा रारानजिक लम्किँदै थियो । रारा राष्ट्रिय निकुञ्जमा प्रवेश टिकट लिएपछि मन फुरुङ्ग भयो, राराको काखमै आइपुगियो । हाम्रो गन्तव्य नजिकिँदै थियो । हामी रारा पुग्दा झमक्क साँझ परिहाल्यो । नजिकबाट रारालाई नियालेँ । सोचेजस्तो अनि अरूले भनेजस्तो केही लागेन ।

मनमा आयो ‘फेवाताल नै सुन्दर, यो भन्दा त’ । तर केही बोलिनँ । तिलिचो सम्झिएँ । कहाँको तिलिचो, कहाँको रारा ? तुलना गर्न सकिन्न । जो हिमाली दृश्यसँग बढी रमाउँछ, उसलाई तिलिचो सुन्दर लाग्छ । जसलाई पहाडी दृश्यमा मोह छ, उसलाई रारा सुन्दर लाग्छ ।
म हिमालकी पूजक रहेछु । जीवन सर भने आहा रारा कति सुन्दर भन्दै रमाउन थाल्नुभयो । उहाँहरू रारा किनारमा फोटो खिच्न थाल्नुभयो । यत्तिकैमा झमक्क अँध्यारो भइहाल्यो । सुनसान जङ्गलमा अपरिचित गन्तव्यको यात्रा बढो त्रासद हुने रहेछ । बिहान आठ बजे जिप चढेर सुरु गरेको यात्रा बेलुकी आठ बज्दा पनि विश्राममा नपुगेपछि शरीरले घुम्ने रहरलाई खुब सराप्यो ।
बिहान सबेरै मुर्मा टप जाने योजना थियो । म खाली पेटमै औषधि खाएर भर्खरै ढल्केकी थिएँ । बिसञ्चोले गर्दा सक्छु जस्तो लागेको थिएन । तर म पनि पछि लागेँ । करिब पाँच मिनेट हिँडेपछि नै म थरथर कापेँ, गोडा गले, खलखल पसिना बग्न थाले । खल्तीमा बोकेका चिउरा र चाउचाउ चपाउँदै पानी खाएँ । केही सहज भयो । बिस्तारै हिँड्दै उकालो लाग्यौँ । केही समय तर्सो हिँडेपछि धेरै त जङ्गलको ठाडै उकालो जानुपर्ने रहेछ ।
करिब तीन घण्टाको यात्रापछि पुगियो मुर्मा टप । बल्ल आयो मज्जा । पहाडैपहाडको काखमा शिरमा हिमाल राखेर मस्त जवानीको मातमा प्रकृतिलाई मोहित गरिरहेकी रारा साँच्चै सुन्दर थियो । रारा–नजिकबाट होइन, टाढाबाट सुन्दर लाग्दो रहेछ । मुर्मा टप नपुगी रारा यात्रा पूरा हुन्न भन्ने भनाइ सही लाग्यो । चारैतिरबाट हिमाली शृङ्खलालाई नियालेर हेर्दा धित नमर्ने, क्यामेरामा कैद गर्न खोज्दा दृश्य जस्ताको तस्तै नखिचिने, आफ्नै आँखाले हेरेका दृश्य र मेसिनले खिचेर हेरेका दृश्यमा आकाश जमिनको फरक पर्ने ।
धित पुगेन आधा घण्टा बसेर चारैतिरका सौन्दर्यमा आँखा डुलाउँदा पनि । रारासँगै मनका छालहरूसँग उमङ्गले भरिँदै नाचिरह्यौँ । दृश्यमा देखिएको रारा र नजिक पुगेर एक छेउबाट हेरिएको रारामा कति अन्तर कति । हामी यहाँ आएर जित्यौँ अरूलाई जो राराका किनारबाटै फर्किए भन्ने लागिरह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण