‘स्वस्पर्श’ ले दिलाएको न्यानो स्पर्श
सारांश
- लेखकले विभिन्न पात्रका दुःख, पीडा र संघर्षका कथाहरूलाई समेटेका छन्, जसले पाठकलाई भावनात्मक रूपमा जोड्छ।
- पुस्तकमा जीवनका विभिन्न पाटा, जस्तै- दुःख, हाँसो, प्रेम, र एक्लोपनलाई विभिन्न पात्रका माध्यमबाट प्रस्तुत गरिएको छ।
- कथामा व्यक्त अनुभवहरूले पाठकलाई जीवनका विविध पक्षलाई महसुस गराउँदै, दुःखमा पनि आशावादी रहन प्रेरित गर्छन्।
कहिलेकाहीँ बेस्सरी डाको छाडेर रोएको बालकलाई शान्त पार्न ऊभन्दा जोडले छेउमा कोही अर्को चिच्याउनुपर्छ । कहिलेकाहीँ आँसुलाई आँसुले मात्रै रोक्न सक्छ ! आफूभन्दा दुःखेको मानिस देख्दा मानिसले आफ्ना दुखाइहरू अलिकति भए पनि कम भएको भान गर्छ ।
मानिसका दुःखका मापन गर्ने इकाइहरू पनि अनौठो छन् । मान्छेले आफ्नो घाउको मापन अरूको दुखाइसँग गरेर निचोड निकाल्छ । यस्ता अनुभूतिहरूले मलाई मानिस स्वार्थी हुन्छ भन्ने कुराको अनुभूत गराइ रहन्छ र म पनि मानिस हुँ ।
म छरपस्ट पोखिएको बेलामा, एक ढाडस जस्तो भएर स्वस्पर्शले मलाई स्पर्श गरेको थियो । अक्षरहरूमा अल्झिएर मैले समेटेको हुँ आफूलाई... ।
यहाँ धेरै कथाहरू छन् ।
दुःखका, दुखाइका, दुख्दा पनि हाँस्नेहरूका....
पठन कार्य सुरु गर्दा म घरछेउको खरीको बोट मुनी उभिएको थिए । रूखले वसन्तको सप्को ओढेको छ, भुइँ शीतल छ । तर मलाई नाङ्गो रूख मन पर्छ । टुटेर पनि नबिझाउनुको आफ्नै सौन्दर्य हुन्छ । झरेका पातहरूसँग बडो प्रेम छ मलाई ! यिनले रुखसँग छुट्टिनुको गुनासो गर्दैनन् न त पैतालाहरू सँग कुल्चिइनु पिर नै पोख्छन् ।
यहाँका पात्रहरू पनि मलाई ती पातहरू जस्तै लाग्यो । हो झरेका पातहरूसँग बडो प्रेम छ मलाई !
यहाँ धेरै थरी कथाहरू अक्षर बनेर पोखिएका छन् । पात्रहरूको भोगाइले कतै रुवाउँछ, कतै हाँसेर बाँच्नुको सौन्दर्य सिकाउँछ । जङ्गबहादुरका अनौठा रहरहरूले आँखाहरू रसाउँछन् । उनको परिस्थितिले ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपना बाँड्नेहरूलाई गिज्याउँछ !
गर्वे दाइको जिन्दगीको वक्ररेखामाथिको यात्राले मौन बनाउँछन् । ‘यस्तो पनि जिन्दगी हुन्छ ? सायद ! जिन्दगी यस्तै नै हुन्छ ।’ गर्वे दाइको कथाहरू पढेपछि मैले आफैँलाई प्रश्न गरेर आफै उत्तर फर्काएको थिए । पहिलो अध्यायको अन्त्यसम्म पुग्दा, म शान्त थिए ।
मन्दिरेको कथाहरू पढ्न सुरु गर्दा, उनले हाँसी–हाँसी सुनाएका कथाहरू पढेर म धेरै रोए । धेरै दुखेको मानिसले ऐया भन्दैन सायद ! मन्दिरेको हाँसो देखेर मेरा दुःखहरू एक छिन लजाए ! जिन्दगीले टुक्र्याउँदा मन्दिरे पत्थर बनेनन्, उनी तरल बने ! शान्त अनि सौम्य !
‘जिन्दगीमा जे पो होस्, मुन्टो उतै फर्काउनु जता उज्यालो हुन्छ ।’ यसो भनेर मन्दिरेले भनेका हुन् । उनको यो वाक्यले मलाई खुबै छोयो । तर पहिलो अध्याय सकेर उठ्ने बेलासम्म मेरो चारैतिर अँध्यारो मात्रै थियो ।

त्यो दिन बेलुका मैले भजन नसुनी गीतहरू सुन्न मन गरे ! धेरैपछि ममा आज सङ्गीत सुन्न सक्छु भन्ने साहस पलाएको थियो । यत्तिकैमा लेखकका कुराहरू सम्झिए ! ‘दुःख पारी मात्रै लेसन छ, हीलिङ छ, ग्रोथ छ ।’ त्यसपछि आफूलाई सान्त्वना दिँदै म निदाउन कोसिस गरे । गाह्रो भयो ! तर बिहान नहुँदै निदाउन सकेछु ।
दोस्रो अध्याय सुरु गर्दा मनमा कति धेरै कौतुहलता थियो । बा–आमैको कथा पढ्दा यो सबै कुराहरू आफ्नै आँखा अगाडी भइरहेको हो झैँ लाग्यो ! आमा सन्चो भएर फर्केको कुराले आफूलाई समेत राहत मिलेझैँ लाग्यो । यहाँसम्म आइपुग्दा यहाँका पात्रहरूसँग म भावनात्मक रूपमा जोडिँदै गएको थिए ! यो पुस्तकको सबैभन्दा बलियो पाटो यहीँ हो । यहाँका पात्रहरूले बाचेको जीवन आफ्नैझैँ लाग्छ । पात्रहरू आफ्नाहरू झैँ लाग्छन् ।
ध्यार गाउँलेको कथा सुरु गर्दा म ध्यारगाउँ नाउँ गरेको अर्को गाउँको ठिक अघितिर उभिएको थिए । ध्यारगाउँलेको कथा पढ्दा, मलाई ती बच्ची जत्तिकै करुणा उनका बाबुप्रति पनि आयो । एक फेर आफ्नो बुबालाई सम्झिएँ ! केही बेर यसैमा अल्झिएँ !
यहाँका कथाहरू पढ्दा मन अमिलो हुन्छ तर पनि बिट मार्न मन लाउँदैन । यसका लागि लेखकले गरेको कसरत तारिफयोग्य छ । यहाँ कथा, कविता, सन्देश सबै थोकको मिठो संयोजन छ । तर सानी नानीको कहानी पढ्न भने निकै कठिन भयो मलाई ! मैले लगातार पढ्न सकिन...सायद म यो कथाको लागि तयार नै थिइन् ।
यो स्पर्शको कथा निकै क्रूर थियो । केही दिनको विश्रामपछि मात्रै मैले फेरी पनि पठन कार्य सुरु गर्न सके ! उनी गुम्सिएको बाचेको समय सम्झँदा म अहिले पनि उकुसमुकुस हुन्छु । यस्ता सानीहरू हाम्रो समाजमा थुप्रै छन् । यसले हाम्रो समाजमा छोरीहरू कति सुरक्षित छन् ? र को–कोबाट समेत असुरक्षित छन् भन्ने कुरालाई उदाङ्गो पारेको छ ।
मलाई खुसी लाग्यो सानीले पोखिनलाई डाक्टर विश्वास र समेटिन परिवारको ढाडस पाइन ! जुन अवसर समान अवस्थामा रहेका अन्य सानीहरूले विरलै पाएका होलान्/पाउँछन् । यहाँ धेरै मानिस आफ्नै अनुभवका भारहरूले थिचिएर निसासिन्छन् किनकि उसले पोखिने अवसर पाउँदैन ।
सानोमा मलाई हिरो भनेको पर्दामा आफ्नो कलाकारिता राम्ररी प्रदर्शन गर्न सक्ने मान्छे हो भन्ने लाग्थ्यो । भेडाको कहानी पढेर मलाई लाग्यो, सबै हिरोहरू पर्दामा आउँदैनन् । अध्ययनको क्रममा म बेलाबेला उनको लागि वाह ! भन्दै थिए । अनि बेलाबेलामा धन्यवाद !
‘केही नहुनेको कोही छ भने त्यो ईश्वर हो ।’ उनी पनि मलाई ईश्वर झैँ लागे ! सायद ती जनावरहरू बोल्न सक्ने भएको भए पनि यसै भन्थे होला । अरूको उपचारले आफूलाई निको पार्न सकिन्छ भन्ने प्रेरणाका लागि मैले फेरी पनि उनी प्रति कृतज्ञता व्यक्त गरे !
मलाई भीडमा कविश (पाकिस्तानी गीत, पाकिस्तानको रक संगीत ब्यान्ड; जसको नेतृत्व जाफर जैरीले गरेका छन्) अनि एकान्तमा राहगीर (वास्तविक नाम सुनिल गुर्जर, भारतीय गीतकार तथा गायक) लाई सुन्न मन पर्छ । सायद ! म भीडमा शान्ति अनि एकान्तमा साथी खोज्छु । शान्ति र साथी खोजिरहेको मानिस ‘रिता’ जस्तै हुन्छ सायद ! अन्त्यमा उनको अर्को सुरुवात देखेर मलाई निकै खुसी लाग्यो । लेखकले रिताको लागि भनेर लेखेको पत्र मैले दोहोर्याएर पढे ! किरणका कोसिस अनि कर्मका किस्साहरू दुवै उति नै प्रेरणादायी छन् । किरणको कथाले मेरो मस्तिष्कको अँध्यारोलाई छिचोलेको थियो । मेरो हृदयलाई न्यानो स्पर्श दिएको थियो । यो पुस्तकको आकर्षक पक्ष हो । यहाँ कथा भित्र पनि कथा छन् ।
‘रिटायर्ड आमा’ देख्न बित्तिकै मलाई कता–कता नमिठो लाग्यो ! आमाहरू पनि रिटायर्ड हुन्छन् र ? मैले यहीँ प्रश्नसँगै पठन अघि बढाए ! यहाँ म सबैभन्दा धेरै भावुक भएको थिएँ । आमा हुन सन्तानलाई कोख दिनु पर्छ कि काख ?
काखको सन्तान आँगनमा दौडन सक्ने हुँदा आमाको आफ्नो काख रित्तो हुन्छ कि आँगन हर्षले भरिन्छ ? आमाको कहानीले मनमा धेरै प्रश्नहरू जन्मायो ! संसारमा आमा बन्ने सौभाग्य सबैलाई नमिले पनि आमाले जसरी प्रेम गर्न सक्ने अवसर सबैसँग हुन्छ । हो, आमा बन्नुभएको बिनास्वार्थ कसैको पोल्टोमा प्रेम पोखेर रित्तो हुनु हो । प्रेमले सबै मानिसलाई आमा बनाओस् । प्रेममा सबै मानिस आमा बन्न सकोस् ।
चोटहरूले मानिसलाई गलाउँछन् हो ? होइन आकार पनि दिन्छन् । अस्मिताको जीवनयात्राले मलाई सिकाएको पाठ हो यो ! ‘कोही छैन मेरो भनेर दुःखी किन हुनु ? म छु त मेरा लागि !’ उनका कथाहरूले मलाई यसै भनेर सम्झाउँदै छन् झैँ भयो । एक्लो हुनु भनेको सायद आफू आफ्नो भएर बाँच्न पाउनु हो । यति भनेर आफूलाई सम्झाउँदै थिए ।
पेज नम्बर २६७ को पहिलो लाइनमा पुगेर एक पटक आँखा फेरी रसाए ! यो पुस्तकको मनोहर पक्ष हो । यहाँ जुन कथाले तपाईँलाई दुखाउँछ त्यसैले मलम पट्टि गर्न सघाउँछ पनि ! ‘दुख्नु/पीडा बोध गर्नु भनेको महसुस हुनु हो । महसुस हुनु भनेको जिउँदो हुनु हो । कतिन्जेल जिउने कुरा मानिसको हातमा नभए पनि कसरी जिउने कुरा धेरै हदसम्म उसको हातमा हुन्छ ।’
छरिएका कहानीहरूलाई पानाहरूमा उतारेर लेखकले सायद पाठकहरूमा यही सन्देश पुर्याउन खोजिरहेका छन् । यो पुस्तक पढेपछि मलाई ‘शहरयार’ को मसहूर गजलका केही लाइनहरू याद आए,
‘इक तुम ही नहीं तन्हा उलफत में मेरी रुसवा
इस शहर में तुम जैसे दीवाने हजारौँ हैं !’
कहिले काहीँ मानिसलाई आफू मात्रै हुनुसँग निक्कै डर लागिरहेको हुन्छ । त्यो समयमा तिमी एक्लो छैनौँ भन्ने ढाडसले निक्कै ठुलो राहत मिल्दो रहेछ । म बाचिरहेको समयमा ‘स्वस्पर्श’ मेरा लागि त्यही राहतको न्यानो बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण