म जीवनको उत्सव मनाइरहेको छु : ईश्वर थोकर
सारांश
- कवि ईश्वर थोकर तामाङको नयाँ कविता सङ्ग्रह 'आमा' बजारमा आएको छ, र उनले साहित्य लेखनमा प्रेरणाको स्रोत र अनुभवहरू साझा गरेका छन्।
- उनले १३ वर्षको उमेरमा अस्पतालको मानसिक वार्डमा कविता लेख्न सुरु गरेको र आफ्नो जीवनका भोगाइहरूलाई साहित्यमा उतारेको बताए।
- थोकरले साहित्य सिर्जनामा आफ्नो उद्देश्य, चुनौती, र जीवनप्रतिको दृष्टिकोणबारे कुराकानी गरेका छन्, जसलाई उनले उत्सवको रूपमा परिभाषित गर्छन्।
काभ्रेको तेमालमा जन्मिएर भक्तपुरको न्यातपोल मन्दिर परिसरमा हुर्किएका ईश्वर थोकर तामाङ मातृभाषी कवि हुन् । कविता र संस्मरण लेखनमा पोख्त उनको भर्खरै ‘आमा’ कविता सङ्ग्रह बजारमा आएको छ । यसअघि उनका ‘प्लिक्सी’ (२०६९), नोरी (२०७४), ‘सिरिया’ (२०७५), ‘लीला’ (सन् २०७८) कवितासंग्रह तथा ‘वाला सुइटर’ (२०७५), ‘ल्हुइला गोङमा’ (२०७६) संस्मरण सङ्ग्रह तथा ‘पिङ्गाई’ (२०६८) गजलसङ्ग्रह प्रकाशित छन् ।
थोकरले ‘राष्ट्रिय भाषाका गजलहरू’ (२०६७) सम्पादन गरेका छन् भने ‘तामाङ साहित्य पुरस्कार’ (२०७१) बाट सम्मानित भइसकेका छन् । उनै थोकरसँग रमा सुवेदीले रातोपाटीको शृङ्खला ‘नौ प्रश्न’का लागि गरेको कुराकानी ।
१. साहित्यकर्ममा अनवरत रूपमा लागि रहनु भएको छ । लेख्नका लागि कुन कुराले यहाँलाई बढी प्रेरित गर्छ ?
पहिलो पटक मैले १३ वर्षको उमेरमा अस्पतालको मानसिक वार्डमा कविता लेखेको हुँ । त्यहाँ हप्ताको एक दिन बिरामीहरूले आ–आफ्नो प्रतिभा देखाउनु पर्थ्यो । कसैले गीत गाउँछु भने, कसैले नृत्य रोजे । कसैले क्यारिकेचर त कसैले चुट्किला भन्छु भने । त्यतिखेर म ‘ईश्वर थोकर’ भइसकेको थिइनँ, ‘अक्कल लामा’ थियो मेरो नाम । एक जना नर्सले मलाई ‘अक्कल, तिमीचाहिँ के गर्छौ नि ?’ भनेर सोध्नुभयो । बाल्यकालदेखि नै साहित्यका किताब पढ्नमा रुचि थियो । अलि–अलि कविता पनि कोरेको थिएँ । मैले त कविता वाचन गर्छु भनिदिएँ ।
त्यतिखेर वाचन गरेको कविताको शीर्षक ‘मलाई खाँचो छ’ थियो । त्यो कविता सुनेपछि वार्डमा रहेका नर्सका आँखामा आँसु भरिएको पाएँ । त्यो आँसु खुसीको थियो वा दुःखको ? मप्रति मायाको थियो कि करुणाको ? त्यो त मैले ठम्याउन सकिनँ, तर त्यही आँसुबाट प्रेरित भएर मैले आजसम्म लेखिरहेको छु । त्यसरी मेरो साहित्य लेखनको यात्रा सुरु भयो । अहिलेसम्म पनि जेसुकै लेखूँ, म त्यही आँसु सम्झिन्छु । मेरो साहित्यिक नाम ‘ईश्वर थोकर’ पनि अस्पतालकै एक जना नर्सले राखिदिनु भएको थियो । त्यसयताका हरेक रचना, हरेक कृतिमा मैले आफ्नै भोगाई पोखाएको छु, आफैँलाई लेखेको छु । मेरो साहित्यको प्रेरणाको स्रोत भनेकै मेरो उपचारमा संलग्न तिनै नर्सहरू हुन् ।
२. तपाईंले पछिल्लो पटक पढेको कृति कुन थियो ? कस्तो छ यो कृति ?
खासमा म कविता पढ्न मन पराउँछु । मैले भर्खरै बैरागी काइलाको ‘बैरागी काइँलाका कविताहरू’ पढेँ । यो कविता सङ्ग्रह दुई खण्डमा विभक्त छ– मेरा हजुरका कविताहरू (खण्ड: एक) र मातेको मान्छेको भाषण र अन्य कविताहरू (खण्ड: दुई) । पहिलो खण्डमा प्रेम कविता छन्, विशुद्ध प्रेमका कविता । कतै कतै लिम्बु टोन पनि भेटिन्छ । हरेक कवितामा ‘हजुर’ भनेर सम्बोधन गरिएको छ । यो पढिरहँदा त म पनि हर कोहीलाई भेट्दा हजुर भन्ने भइसकेको रहेछु ।
दोस्रोमा अलिकति फरक खालको कविता छ । प्रेम भन्दा पर, सामाजिक मुद्दालाई कविता बनाइएको छ । शब्दहरू पनि केही क्लिष्ट प्रयोग भएका छन् । दोस्रो खण्ड पढ्दा मन अलि अशान्त हुन्छ । मलाई दोस्रो खण्डभन्दा पहिलो खण्ड साह्रै मन पर्यो । यसको पहिलो खण्ड मैले पटक–पटक दोहोर्याएर तेहर्याएर पढेको छु । हरेक पटक यो खण्ड पढ्दा आनन्द महसुस गर्छु ।
३. नेपालको साहित्यिक बजार कस्तो पाउनु भएको छ ?
मेरो विचारमा साहित्य कालजयी हुनुपर्छ । एक पटक तपाईं पुस्तक पसलको अगाडि गएर केही बेर उभिनुस् त । नेपाली पाठक कतातिर दौडिरहेका छन् ? थाहा पाइहाल्नु हुन्छ । हामी पुरस्कार, सम्मान वा चर्चाको पछाडि कुदिरहेका छौँ । कुनै कृति वा पुस्तकले मदन पुरस्कार, पद्म श्री वा बुकर प्राइज पाएको थाहा पाएपछि ती पुस्तकहरू खोजेर पढ्न थाल्छौँ । पुस्तकलाई पुरस्कार पाउनुअघि हामीले किन पढेनौँ ? पाएपछि मात्रै किन पढ्यौँ ? यसबाहेक पनि पढ्नु पर्ने वा पढ्न लायक अरू पनि त कयौँ कृति होलान् ? तर म यस कुराको पछाडि लाग्दिनँ ।
मसँग मदन पुरस्कार प्राप्त कमै पुस्तक छन् । मलाई निकै मन परेको पुस्तक हो गोपाल प्रसाद रिमालको कवितासङ्ग्रह ‘आमाको सपना’ । यो कृतिलाई म सधैँ च्यापेर हिँड्छु । हरेक पटक यो कविता सङ्ग्रह पढ्दा यो चाहिँ मदन पुरस्कार पाउनै पर्ने पुस्तक हो महसुस हुन्छ । नेपाली साहित्य कहाँ पुग्यो ? यहाँ कविताको अवस्था के छ ? यसलाई थप विकास गर्न के गर्नुपर्छ ? भन्नेतिर म धेरै सोच्दिन । त्यो सोच्ने जिम्मेवारी समीक्षक समालोचकहरूलाई दिएँ । मलाई कविता लेख्न मन पर्छ । यो कविता कर्म आफ्नो अन्तिम साससम्म पनि गरिरहनेछु ।
४. झन्डै साढे दुई दशक तपाईंले लेखनमा बिताउनुभयो । अहिलेसम्म लेखेर पाएको वा गुमाएको चिज के हो ? भनिदिनु न ।
लेखेर मैले गुमाएको केही पनि छैन । मैले पाएको कुरा चाहिँ धेरै छन् । जुन दिनदेखि मैले साहित्य लेख्न थाले, त्यही दिनदेखि मैले आफैँलाई पाए । जिन्दगीको कुनै क्षण यस्तो पनि थियो म लामो समय अस्पतालमा भर्ना भएर बसे, त्यो पनि मानसिक वार्डमा । अहिले त हाम्रो समाजमा मानसिक स्वास्थ्यमा आउने कुनै पनि समस्यालाई सामान्य रूपमा हेर्न सकेको छैन । आजभन्दा २२/२५ वर्षअगाडि त कस्तो थियो होला यसबारे आम बुझाई ? मैले कविता नलेखेको भए कि म सडकमा हुन्थे कि मेरो मृत्यु भइसकेको हुन्थ्यो । लेखेर मैले जीवनै पाएको छु । आफूलाई स्वास्थ्य राख्न सकेको छु ।
५. लामो समयदेखि कविता कर्म गरिरहनु भएको छ । कविता लेखनमा यहाँका कुनै उद्देश्य छन् कि ? यसका चुनौतीहरू के के छन् बताइदिनु न ।
मेरो साहित्यिक यात्रा अस्पतालको बेडबाट सुरु भएको सत्य हो । पहिलोपल्ट नर्सहरूकै प्रेरणाबाट प्रभावित भएर कविता लेखेँ । आफूले लेखेका कविता नर्सहरू र मानसिक वार्डका आफूजस्तै बिमारी साथीहरूकै माझमा सुनाएँ । प्रेरणा पाएँ, उत्साहित भएँ । पहिलोपल्ट कविता लेख्दा र पाठ गर्दा म करिब तेह्र वर्षको मात्रै थिएँ । अहिले कविता लेख्न थालेको चौबीस वर्ष बितिसकेछ ।
अझै म यसैमा रमाइरहेको छु । कविता लेखनको मेरो त्यस्तो खास उद्देश्य त केही छैन भन्दा नि हुन्छ ! पहिले कविता नर्सहरूलाई सुनाउनका लागि लेखेँ, अहिले आफ्नो स्वास्थ्य मेनटेन गर्नका लागि लेखिरहेको छु । कवितामा म आफ्नै जीवन लेखिबस्छु । मलाई बचाएको यसैले हो । मेरो कर्म कविता लेखिरहनु हो, यसका चुनौतीहरूका विषयमा सोचिबस्नु होइन ।
६. कविताले राजनीति बोल्नुपर्छ कि त्यसले आफ्नो स्वतन्त्र सौन्दर्य जोगाउनुपर्छ ? यसमा तपाईंको विचार के छ ?
कविता ‘यस्तो लेखिनुपर्छ, उस्तो लेखिनुपर्छ’ भनेर म अर्ती दिन्नँ । जुनसुकै कविलाई जुनसुकै विषयमा पनि कविता लेख्न छुट छ । तर कविको कविताले मानिसलाई तोड्ने होइन, जोड्ने भूमिका निभाउनु पर्छ ।
७. आफूलाई झकझक्याएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्यो भने तपाईं कुन कृतिलाई सम्झिनु हुन्छ ?
गोपाल प्रसाद रिमालको कविता सङ्ग्रह ‘आमाको सपना’ । रिमाल पनि मानसिक रूपमा अस्वस्थ थिए । उनको सङ्घर्ष अथाह रहेछ । यो थाहा पाएर पनि होला उनीप्रति मेरो आत्मियता छ, उनको कृतिमा मैले आफ्नोपन भेटेँ । यो संग्रहमा फेरि देशप्रतिको प्रेम छ । मैले बारम्बार पढ्ने कृति हो यो । हरेक पटक पढ्दा यसमा म नयाँपन पाउँछु । पहिले नै पढिसकेको छु भन्ने महसुस नै हुँदैन कहिले त ।
८. भर्खरै आएको तपाईंको कविता सङ्ग्रह ‘आमा’ पाठकहरूले किन पढ्नु पर्छ ?
यो कुरा म भन्न सक्दिन । यो कविता सङ्ग्रह आमालाई समर्पित हो । यसमा सबै आमासँग सम्बन्धित कुराहरू छन् । हुन् त मैले लेखेको हरेक कृति मेरो आत्मकथा हुन् । आमा पनि मेरो आत्मकथा नै हो । आमा र म बिच एउटा प्रेम, मायाको, वात्सल्यको सम्बन्ध छ । तपाईंले पनि यसलाई त्यही रूपमा पढ्नुपर्छ भनेर चाहिँ म भन्दिन । यो कुरा मैले पाठकहरूमा छाडि दिएको छु ।
९. जिन्दगीलाई परिभाषित कसरी गर्नुहुन्छ ?
जिन्दगी आफैँमा गाह्रो प्रश्न हो । जीवन कहिले पनि सोचेजस्तो हुँदैन । आफ्नो बाल्यकाल अनि किशोरावस्थामा, युवावस्थामा अनि जुन किसिमको भोगाइहरू भोगेँ त्यसलाई सम्झेर जीवनलाई सङ्घर्ष भन्थे । तर अहिले मलाई जीवन उत्सव हो जस्तो लाग्छ । सङ्घर्ष त अहिले पनि जारी छ । बिहान होस् वा साँझ मलाई जुन क्षण पनि म आनन्द महसुस गर्छु । यो मैले पाएको दोस्रो जीवन हो । यस पहिलो जीवनको हरेक तस्बिरमा म उदास, निराश र दुःखी भेटिन्छु । तर अहिले हरेक तस्बिरमा म हाँसिरहेको पाउनु हुनेछ । २० वर्षको उमेरमा डाक्टरले मेरै अगाडि ‘अक्कल अब धेरै बाँच्दैन’ भनेका थिए । त्यो क्षण पार गरेर म अहिले जीवनको यो क्षणमा आइपुगेको छु । यो क्षण मेरा लागि जिन्दगी उत्सव हो । म हरेक दिन यसको उत्सव मनाइरहेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण