शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मिथिलाञ्चलका चेलीबेटीमा सामा चकेवाको रौनक

आइतबार, १६ कात्तिक २०८२, १० : ३६
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • मिथिलाञ्चलमा कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भई १० दिनसम्म सामा चकेवा पर्व मनाइन्छ, जसमा मैथिल महिलाहरू सहभागी हुन्छन्।
  • यो पर्व भाइ र बहिनीबीचको प्रेमको प्रतीक हो, जसमा माटोबाट बनाइएका सामा र चकेवाका मूर्तिहरू बनाइन्छन् र खेलिन्छन्।
  • पौराणिक कथा अनुसार, श्यामा र चारुबक्यको प्रेम र चूडकको कारणले गर्दा सामा चकेवा पर्वको सुरुवात भएको हो।

धनुषा । स–साना माटाका आकर्षक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वमा मैथिली नारीहरूले मनाइरहेका छन् । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलकी चेलीबेटीहरूले मनाउने गर्छन् । 

कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्न सुरिला गीतहरू गाएर सखी सहेलीहरू सँगै सामा चकेवा पर्व मनाइरहेका छन् । सामा चकेवा पर्वलाई भाइ बहिनी बिचको अगाध प्रेमको प्रतीकको रूपमा लिन सकिन्छ ।

यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको आकृतिको रूपमा माटोले बनाइएको हुन्छ । सामा चकेवा खेलमा श्रीमान् श्रीमतीको बारेमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै बडो घृणाले गीत गाउँछन् ।

पूर्णिमाका दिन बहिनीहरू आफ्ना भाइ तथा दाइलाई निमन्त्रण दिन्छन् । भाईले घुडामा राखेर सबै मूर्ति तोड्छन् र ती मूर्तिहरूलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाइलाई चिउरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ ।   

सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरूको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन गर्छ । सामाचकेवामा मिथिलानीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो ल्याउने गर्छन् ।

sama chakaba

ती माटोबाट कलात्मक वृन्दावन , चुगला , चकेवा , चरा , कजरौटा , सतभैया लगायतका मूर्तिहरू बनाई घाममा सुकाएर साँझदेखि गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको सुरुवात गर्छन् । 

पौराणिक कथा

पद्म पुराणमा उल्लेख भए अनुसार सामाचकेवा पर्व मनाउनुको पछाडि एउटा छुट्टै कथा समेत रहेको छ । श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतीत्व सम्बन्धमा झुटा कुराहरू सुनाइदिन्छ ।

कृष्णले आफ्नी छोरी श्यामाको सतीत्वमाथि शङ्का गरी चरी बन्ने श्राप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा बृन्दावनमा बस्न थाल्दछन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबाक्यलाई पुनः मनुष्य बनाउन बृन्दावन गई तपस्या गर्न थाल्छन् । 

श्यामाले चरी बन्ने श्राप पाएपछि चूडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको श्रापबाट रिसाएर चूडकले वृन्दावन मै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रुख ढल्दा चूडक किचिएर मर्छ । त्यसपछि भगवान् विष्णु साम्वा प्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहि आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप