ड्राइभिङ लाइसेन्स छपाइ भोलिदेखि, अन्य सेवा कहिलेदेखि ?
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार दैनिक कम्तीमा ५०० को दरले छपाइ हुनेछ ।
विभागका निर्देशक नरहरि तिवारीले रातोपाटीसँग भने, ‘सुरक्षण मुद्रण केन्द्रले बनेपामा छपाइ गरेर विभागलाई हस्तान्तरण गर्नेछ । यसपछि विभागले चालकलाई वितरण गर्छ ।’
यातायात व्यवस्था विभागले करिब २५ लाख सवारी लाइसेन्स छाप्न बाँकी रहेको जनाएको छ । यीमध्ये १२ लाख केन्द्रले छाप्ने भएको छ । केन्द्रले ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्ने तिवारीले बताए ।
लाइसेन्समा चिपको सट्टा क्युआर राखिने
यसअघि यातायात व्यवस्था विभागले छाप्दै आएको लाइसेन्समा चिप जडान गरिएको थियो । अब भने सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्यूआर कोड प्रयोग हुनेछ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले नयाँ लाइसेन्सको स्वरूप परिवर्तन हुने र त्यसमा क्यूआर कोड प्रविष्ट गर्ने बताएका छन् ।
‘कार्ड स्मार्ट नै हो, तर त्यसमा चिप हुँदैन, क्यूआर कोड हुन्छ,’ तिमिल्सिनाले भने । केन्द्रबाट छाप्न लागिएको लाइसेन्स पनि स्मार्ट कार्ड नै हुने उनको भनाइ छ ।

यस्तै सवारी लाइसेन्स छपाइको खर्च यातायात व्यवस्था विभागले व्यहोर्ने बताइएको छ । केन्द्रले एउटा लाइसेन्स छाप्दा लगभग १९५.१७ रुपैयाँ (करबाहेक) लागत अनुमान गरेको छ । यो लागत अनुसारको बजेट विभागले केन्द्रलाई उपलब्ध गराउने समझदारी भएको छ ।
अन्य सेवा प्रवाहका लागि परीक्षण गरिँदै
लाइसेन्स छपाइका लागि गत बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यातायात व्यवस्था विभागले सेवा प्रवाह गर्न परीक्षण थालेको छ । आजसम्म विभागको सर्भर डेटा लगायत प्रविधि परीक्षण सकिने विभागले जनाएको छ ।
विभागका निर्देशक नरहरि तिवारीले द्रुत गतिमा परीक्षण भइरहेको बताए । ‘आज प्राविधिक परीक्षण गरिरहेका छौं । सबै जना सशक्त रुपमा लाग्नुभएको छ । परीक्षणपछि तत्काल के-के सेवा दिन सकिन्छ थाहा हुन्छ,’ उनले भने ।
यसअघि विभागले अत्यावश्यक सवारी लाइसेन्स छापेर वितरण गर्दै आएको थियो । करिब २५ लाख चालकको सवारी लाइसेन्स छापेर वितरण गर्न सकेको थिएन । यसमाथि जेनजी आन्दोलनका क्रममा लाइसेन्स छाप्ने मेसिन ध्वस्त बनेपछि लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द गरियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो । त्यसक्रममा सवारी लाइसेन्स छपाइ मेसिन पनि पूर्णरूपमा क्षति पुगेको थियो ।
जसकारण वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अत्यावश्यक सवारी लाइसेन्स आवश्यक सेवाग्राही मर्कामा परेका छन् । अब भने विभागले सेवा प्रवाह अघि बढाउने शीघ्र तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण