फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?
सारांश
- लेखकले खड्ग प्रसाद ओलीको जीवन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको चर्चा गरेका छन्।
- जेनजी विद्रोह र यसपछिको राजनीतिक अवस्था, सुशीला कार्की नेतृत्वको सरकारको भूमिकाको विश्लेषण छ।
- अन्त्यमा, लेखकले जेनजीहरूलाई वर्तमान समयको विवेकको प्रतिनिधित्व गर्ने र हातेमालो गर्नुपर्ने कुरामा जोड दिएका छन्।
मान्यवर खड्ग प्रसाद ओलीको बायोग्राफी लेखियो भने उहाँको जीवनका अत्यन्त महत्त्वपूर्ण दुइटा विषय हुनेछन् । पहिलो, बयलगाडाको यात्रा । दोस्रो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध ।
नेपाली समाजमा विगत ३५ वर्षदेखि ठुला–ठुला पार्टीहरूले हुकुम चलाउँदै आएका हुन् । १८–१९ वर्षदेखि विराट विद्रोहबाट आएको पार्टी पनि त्यसमा सामेल भएको हो । जेनजीको विद्रोहपछि इतिहासको यो सम्पूर्ण उतार–चढावबिच दुईथरी परिघटना भए । जसको हामी चर्चा गरिरहेका छौँ । भ्रष्टाचार भयो । कुशासन भयो । नातावाद भयो ।
समाजमुनि ज्वालामुखीको आगो त बलिरहेकै थियो । मान्यवर खड्ग प्रसाद ओलीले विवेकपूर्वक, अविवेकपूर्वक नयाँ पुस्ताको संवेदना, त्यसका आकांक्षा, त्यसका लक्ष्यहरूको कुनै पर्बाह नगरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि त्यो विस्फोट भयो । अहिले विस्फोट नभएको भए ६ महिना वा दुई वर्षपछि हुन्थ्यो होला । खड्ग प्रसादले अहिले नै विस्फोट गराएकोमा इतिहास कृतज्ञ हुनैपर्छ ।
जेनजी साथीहरू, मैले यहाँ आफ्नो विषय राख्नु भन्दा पनि जेनजीकै बारेमा मेरा केही प्रश्न र जिज्ञासाहरू छन् । जेनजी के हो ? विभिन्न घटनाक्रम र सन्दर्भबाट जेनजी कसैको बहकाउमा लाग्ने तत्त्व हो भन्ने भाष्य निर्माण भएको छ । कसैबाट नियन्त्रित, कसैबाट परिचालित, आफ्नो स्वायत्तता नभएको तत्त्व हो भन्ने भएको छ । त्यसो भए जेनजी भनेको स्वतन्त्र इकाई हो वा होइन ?
खासगरी हामीकहाँको उग्र राष्ट्रवाद षडयन्त्रको सिद्धान्तमा आधारित छ । त्यसले आफ्ना दुर्बलताको ढाकछोप गर्न, आफूलाई फोहोर पानी माथिको ओभानो सिद्ध गर्नका निम्ति षड्यन्त्रको सिद्धान्त निर्माण गर्छ ।
जेनजीकै आफ्नो विचार, दृष्टिकोण, वर्तमान समयको स्पन्दनप्रति उहाँहरूको बुझाई, त्यसलाई व्यक्त गर्ने भाषा र आत्मविश्वास हेर्दा जेनजी समूहका अगुवाहरू कसैको बहकाउमा लाग्ने, कसैबाट नियन्त्रित वा परिचालित छन् जस्तो लाग्दैन ।
तर घटनाक्रमले कस्तो देखाउँछ भने बालेनलाई मान्ने केही तरुणहरू बहकिए । उनले पनि भने– मेरो त उमेरले दिँदैन तिमीहरू सडकमा जाऊ । उत्पात मच्चाऊ । युवाहरू सडकमा गए, उत्पात पनि मच्चियो । त्यसपछि निज बालेनले फेरि भने, जङ्गी अड्डासँग वार्ता गर्न जाऊ । त्यसबाट के देखियो भन्दा तरुणहरूको विवेकको लगाम बालेनको हातमा रहेछ । त्यसले जेनजीहरूलाई कुनै स्वतन्त्र अस्तित्व, चिन्तन नभएको, एउटा निरीह प्राणीका रूपमा चित्रण गरिदियो ।
जेनजी विद्रोहपछि सत्तामा जुन विराट रिक्तता उत्पन्न भयो, त्यो रिक्ततालाई एउटा प्रक्रियामा लैजानका निम्ति सुशीला कार्की नेतृत्वको सरकार बनेको छ । सुशीलाकै बारेमा पनि धेरै कुराहरू छन् । एक थरी षड्यन्त्रको सिद्धान्तका पण्डितहरूले के भनिरहेका छन् भने सुशीला कार्की ‘पपेट’ हो । पश्चिमा साम्राज्यवादले नेपाली समाजमा अस्थिरता पैदा गर्न, आफू चलखेल गर्ने ‘स्पेस’ निर्माणका निम्ति कार्कीलाई पदार्पण गराएको हो ।
षड्यन्त्रका तिनै सिद्धान्तकारले के पनि भनिरहेका छन् भने जेनजीहरू नेपाली धरातलमा उभिएको, नेपालीत्व भएको कुनै समूह होइन । पश्चिमा साम्राज्यवादले प्रायोजित रूपमा प्रशिक्षित, प्रायोजित रूपमा उपद्रव गर्नका निम्ति सडकमा पठाएको तत्त्व हो । धेरै मानिस यही विश्वास गरिरहेका छन् ।
जेनजीलाई अपमान गर्न, तिनको दानवीकरण गर्न, कलङ्कित गर्न, इतिहासमा तिनले खेलेको भूमिकालाई न्यूनीकरण र निस्तेज गर्नका लागि विद्वानहरू, पार्टीका नेताहरू, तिनका ठुला र साना झोलेहरू सबै–सबै लागि परेका छन् । त्यसैले यो कुरा चिर्न आवश्यक छ ।
खासगरी हामीकहाँको उग्र राष्ट्रवाद यही षडयन्त्रको सिद्धान्तमा आधारित छ । त्यसले आफ्ना दुर्बलताको ढाकछोप गर्न, आफूलाई फोहोर पानी माथिको ओभानो सिद्ध गर्नका निम्ति षड्यन्त्रको सिद्धान्त निर्माण गर्छ । तीन पार्टीका ठुला नायकहरू र ती नायकहरूलाई स्वामी बनाउने तिनका दलालहरू, यी सबैको साझा भाषा के हो भने– यो सबै बाहिरको षड्यन्त्र हो ।
तिनले आफ्ना त्रुटि, गल्तीहरू, जान अनजानमा गरेका असङ्ख्य त्रुटिहरूका बारेमा एकरति स्वीकार गरेको देखिँदैन ।
त्यसैले जेनजीलाई के कुरामा धन्यवाद दिनुपर्छ भने यी हठधर्मी, लक्षणेहरूलाई सत्ताबाट मिल्काएर सेनाको जङ्गी अड्डामा जसरी पक्राउको शैलीमा छिँडीमा थुनेर, माइक खोजेर, जसरी मुसो बन्न बाध्य बनाइदिए त्यो नै ठुलो पाठ थियो उनीहरूका लागि । तर दुःखको कुरा त्यो पाठबाट यी बुढाहरूले केही सिकेनन् । त्यसैले यिनलाई सिकाउनका निम्ति विद्रोह आवश्यक थियो ।
विद्रोह आफैमा प्रिय विषय होइन । विद्रोह भनेको अराजकताको सिर्जना हो । त्यसमा केही ध्वंस हुन्छ, केही हिंसा हुन्छ । मेरै जीवनकालमा यस्ता धेरै विद्रोह भए । तथापि, मान्यजन गुरुहरूलाई सिकाउनका निम्ति अरू केही बाँकी नै छैन जस्तो लाग्छ ।
अहिलेको समस्या के छ भने सङ्कटकालको ढुङ्गा तार्ने जिम्मा कार्कीको हातमा छ । कार्कीलाई जुनसुकै तत्त्वले, जुनसुकै अभिप्रायले, जुनसुकै प्रयोजनले त्यो ठाउँमा राखिएको होस्, अहिलेका लागि निर्विकल्प विकल्प त्यही हो । तर उनलाई एउटा कोणबाट ‘पपेट’ भनिएको छ । अर्को कोणबाट राष्ट्रपतिले असंवैधानिक तवरले नियुक्त गरेको भनिएको छ । यसरी उनलाई लाञ्छित गर्न खोजिएको छ ।
गम्भीरतासाथ सोचौँ फागुन २१ मा चुनाव भएन भने के हुन्छ ? विराट रिक्तता हुन्छ । त्यो रिक्ततामा को आउँछ ? राजनीति धमिलो भएपछि माछा मार्न राजा भित्रबाट बाहिर आउँछन् ।
यसो हेरिल्याउँदा कार्कीको लगाम बालेन गुरुको हातमा पो हो कि जस्तो देखिन्छ । बालेन भनेको को होला ? बालेनलाई नेपाली राजनीतिले धेरै चिन्दैन । उनी एउटा अभिनेता हुन् । उनी राम्रै र्याप गर्थे । र्याप गर्दागर्दै चुनावमा आए । राजनीतिक दलहरू बदनाम भएकाले उनीहरूको बदनामीको जगमा उनले धेरै मत प्राप्त गरे । त्यहाँ आएर के–के गरे त भन्दा गाँस काटिएको मानिसलाई लखेटेका छन् उनले । सुकुम्वासीलाई लखेटेका छन् । सामान्य जनताका सामान्य अपेक्षा पुरा गर्ने, उनीहरूले उभिने र सास फेर्ने ठाउँ निर्माण गर्नुको सट्टा उनी सुकुम्वासीलाई लखेट्न, उनीहरूको उठिबास लगाउन तत्पर देखिन्छन् । उनी वैकल्पिक व्यवस्था केही गर्दैनन् । बस उठिबास लगाउन तत्पर देखिन्छन् ।
त्यसअर्थमा उनी क्रूर लाग्छन् । तर समयको खेल नै त भन्ने होला, के भनिन्छ भने कार्की सरकारको लगाम उनैको हातमा छ । केही घटना, प्रकरणहरू हेर्दा त्यो होइन भनेर विश्वस्त हुने ठाउँ पनि छैन । तथापि जेसुकै भए पनि सुशीला कार्की सङ्कटकालको यो ढुङ्गालाई निर्वाचनसम्म पुर्याउने नाविक नै हुन् । त्यसैले हामीले कार्कीलाई बलियो बनाउनुपर्छ । कतैबाट उहाँको विवेकलाई नियन्त्रण गर्ने गरिएको छ भने त्यसको भण्डाफोर गरिनुपर्छ । उहाँलाई पुरापुर सहयोग गर्नुपर्छ ।
ठिक यति नै बेला जेनजीलाई हाउगुजी बनाइएको छ । तपाईँहरूले सुन्नु भएकै होला । हिजोआज टोल–टोलमा, घर–घरमा प्राज्ञहरू, विद्वानहरू जेनजीलाई लिएर के भनिरहेका छन् । कतिसम्म भने कोहीले त ‘तपाईँको घरमा जेनजी लाइदिऊँ’ समेत भन्न पछि परिरहेका छैनन् । जेनजीलाई अपमान गर्न, तिनको दानवीकरण गर्न, तिनलाई कलङ्कित गर्न, इतिहासमा तिनले खेलेको भूमिकालाई न्यूनीकरण र निस्तेज गर्नका लागि विद्वानहरू, पार्टीका नेताहरू, तिनका ठुला र साना झोलेहरू सबै–सबै लागि परेका छन् । त्यसैले यो कुरा चिर्न आवश्यक छ ।
भदौ २३ गते यही माटोमा उम्रिएका युवाहरूले असन्तुष्टि व्यक्त गदै प्रदर्शन गरेका थिए । २३ गतेको क्रूर दमनको प्रतिक्रिया स्वरूप २४ गतेको घटना भयो । २४ गते घटनाको प्रकृति हेर्दा लाग्छ कसैका हातमा नक्सा छ । र, त्यो नक्सा खास–खास समूहको जिम्मामा छ । कुन ठाउँमा के छ र कहाँ जानुपर्छ त्यो अत्यन्त नियोजित देखिन्छ । अत्यन्त तयारीपूर्ण ।
समाज भित्रको अन्यायले गर्दा जेनजी विद्रोह भयो । त्यसैले हाम्रो समाजकै विवेकको संयोजनबाट, दूरदर्शिताबाट, एकबद्धताबाट यो समस्यालाई पार लगाउने हो । यसका लागि तपाईं–हामी सबैले हातेमालो गर्नैपर्छ ।
जेनजीलाई आवरण बनाएर समाजका विध्वंसकारी तत्त्वहरू त्यसमा घुसेकै हुन् । तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने पहिलो दिनको प्रदर्शनमा जुन जेनजी सडकमा आए उनीहरू भोलिपल्ट पनि सडकमा आए । अघिल्लो दिनको राज्य हिंसाले उनीहरू यति विघ्न आक्रोशित, क्रुद्ध र क्षुब्ध भए कि सबै सडकमा ओर्लिए । विध्वंसकारीले विध्वंस गरिरहेको बेलामा ती पनि कतिपय ठाउँमा सामेल भए होलान् ।
अहिले जेनजीका अगुवाहरूको चिन्ता के छ भने ती दुई थरी तत्त्वलाई भिन्न ढंगले कसरी प्रस्तुत गर्ने ? राजनीतिक प्रयोजनका निम्ति जो सडकमा गएका थिए, जो दमनको प्रतिरोध गर्दा खेरी धेर–थोर विध्वंसमा सामेल पनि भए होलान् । उनीहरू र खास विध्वंसकारीहरु बिच फरक कसरी छुट्ट्याउने ? राजनीतिक उद्देश्य लिएर सडकमा गएकाहरू, सामाजिक न्यायको मनसाय लिएर सडकमा गएकाहरू र प्रायोजित रूपमा विध्वंस गर्नका लागि अघि बढेकाहरूलाई न्यायिक प्रक्रियाबाट कसरी पृथक् गर्ने ?
यही अहिलेको अप्ठ्यारो गाँठी विषय हो । त्यसैले यस विषयमा बौद्धिक स्तरमा छलफल गरिनुपर्छ ।
यो जेनजीहरूलाई हाउगुजी बनाउनमा दुइटा विषय छन् । पहिलो, २४ गतेको विध्वंससँग तिनीहरूलाई जोडियो । दोस्रो, सुदन गुरुङ भन्ने एकजना कमरेड छन् । उनी उमेरले जेनजी पनि होइनन् । जेनजीको हैसियतमा सडकमा गएका पनि होइनन् । पानीको बोतल लिएर कतै गए भन्ने सुनिन्छ । २४ गतेको विध्वंसमा हाहु गरिरहेको पनि देखिन्छ । उनी जेनजीको प्रतिनिधिका रूपमा कुन हैसियतले बालुवाटार गइरहेका छन् ? जबकि जेनजीको भावना, मनसाय र प्रवृत्तिसँग उनको खास कुनै नाता नै छैन । कसैसँग नभिज्ने, अत्यन्त उद्दण्ड, असभ्य, दुर्वाच्य बोलिरहने व्यक्ति त्यहाँ कसरी पुगे ? आम समाजले के बुझिरहेको छ भने जेनजी भनेको उनै हुन् । जेनजीको असल प्रतिनिधि, उच्च स्तरको प्रतिनिधि भनेकै सुदन गुरुङ हो भन्ने जस्तो भएको छ ।
अन्तरिम सरकार यति कमजोर छ कि यसले आफ्नो विवेकले केही गर्न सक्दैन ।
त्यसैले जेनजीका भाइबहिनीहरूलाई मेरो आग्रह छ, यो उद्दण्ड सुदन गुरुङ र आफूबिचमा भिन्नता देखाउनका निम्ति सीमारेखा कोर्नुस् । उ र तपाईंहरु समान हो भन्ने भ्रम चिरिएन भने समाजले जेनजी भनेको समाजका निर्दोष, निष्पाप, न्यायका निम्ति सडकमा आएका, गोली खाएका, मरेका र उनीहरूलाई सम्झेर रोइरहेकाहरू हुन् भन्ने समाजले बुझ्दैन । समाजले जेनजी भनेको सुदन मात्रै हो भन्ने बुझ्ने भयो । त्यसैले जेनजी आन्दोलनले त्यस्ता भ्रमहरू, मिथ्याकरणहरूलाई चिर्न आवश्यक छ ।
यसलाई चिर्ने काम हामीले गर्ने होइन होला । हामी त जेनजी पनि होइनौँ । प्रत्यक्ष रूपमा त्यो आन्दोलनमा संलग्न पनि छैनौँ । भावनात्मक रूपमा हाम्रो समर्थन हुँदाहुँदै पनि ती सबै कुरालाई चिर्ने काम जेनजीहरूकै हो ।
तिनले बालेनलाई कसरी हेर्छन् ? प्रधानमन्त्रीलाई कसरी हेर्छन् ? सुदन गुरुङलाई कसरी हेर्छन् ? जङ्गी अड्डा र नागरिक समाजलाई कसरी बुझ्छन् ? मूलतः यो उनीहरूकै समझको विषय हो । यी सम्पूर्ण भ्रमहरूलाई उनीहरूले चिर्न सके भने आफ्नो निष्कलङ्कपनालाई स्थापित गर्न सक्छन् । त्यो आफैमा एउटा शक्ति हुनेछ ।
जेनजीहरूको बौद्धिक धरातल कमजोर देखिन सक्छ । अनुभव पनि थोरै हुन सक्छन् उनीहरूसँग । चञ्चलपनाले भरिएका हुन सक्छन् । गम्भीरता आइसकेको छैन होला तर गुरु गम्भीर, बुद्धिमान, अनुभवसिद्ध, ज्ञानी काँग्रेस, एमाले र त्यो भन्दा पनि त्यत्रो ठुलो संग्रामी युद्धबाट आएको माओवादीलाई त हामीले देखिसक्यौँ भने जेनजीलाई बुद्धिहिन, निरर्थक भन्न मिल्दै मिल्दैन ।
अहिलेको समयको विवेकको प्रतिनिधित्व गर्ने जेनजीले नै हो । त्यसका अनेकौँ सीमाहरूका बाबजुद, त्यसको अनुभवहीनताको बाबजुद, त्यसको संगठन, नेतृत्व आदि सबै कुराको कमीका बाबजुद पनि जेनजी वर्तमान समयको स्पन्दन हो । हामीले त्यसलाई सहयोग गर्नुपर्छ । हामीहरु एक साथ अघि बढ्नुपर्छ ।
अन्तरिम सरकार यति कमजोर छ कि यसले आफ्नो विवेकले केही गर्न सक्दैन । ०४६ सालको अन्तरिम सरकार विराट जनआन्दोलनबाट आएको थियो । जनआन्दोलनबाट आएका शक्तिहरूले अन्तरिम सरकार बनाएका थिए । उनीहरूका पनि कमजोरी र सीमा थिए । त्यतिबेलाको अन्तरिम सरकार त कमजोर थियो भने अहिलेको सरकार बलियो हुने अपेक्षा गर्न मिल्दैन । अन्तरिम सरकार धेरै कमजोर छ तर यसको विकल्प छैन ।
त्यसैले तपाईं–हामीले गम्भीरतासाथ सोचौँ फागुन २१ मा चुनाव भएन भने के हुन्छ ? विराट रिक्तता हुन्छ । त्यो रिक्ततामा को आउँछ ? राजनीति धमिलो भएपछि माछा मार्न भित्रबाट राजा बाहिरै आउँछन् । कुनै पनि देशमा जब आन्तरिक द्वन्द्व सुरु हुन्छ, हाम्रो जस्तो देशमा धमिलो पानीमा माछा मार्न माथिका पनि आउँछन्, तलका पनि आउँछन् । अनि परका पनि आउँछन् । बाह्य शक्तिहरूको उपस्थिति सामान्य कुरा हुन जान्छ ।
प्राथमिक कुरा हामीले के गर्ने भन्ने नै हो । हाम्रो समाज भित्रको अन्यायले गर्दा जेनजी विद्रोह भयो । त्यसैले हाम्रो समाजकै विवेकको संयोजनबाट, दूरदर्शिताबाट, एकबद्धताबाट यो समस्यालाई पार लगाउने हो । यसका लागि तपाईं–हामी सबैले हातेमालो गर्नैपर्छ ।
(‘जेनजी विद्रोह र अबको बाटो’ विषयक अन्तर्क्रियामा संग्रौलाले राखेको धारणा ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण