बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने

सोमबार, १७ कात्तिक २०८२, १६ : ३०
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • इरानले रुसको सहयोगमा आठ वटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ, जसले देशको ऊर्जा क्षमता बढाउनेछ।
  • नयाँ सम्झौता अनुसार बुसेहरमा चार र अन्यत्र चार आणविक संयन्त्र बन्नेछन्, जसले २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
  • राष्ट्रपति पेजेस्कियानले शान्तिपूर्ण आणविक कार्यक्रमप्रति प्रतिबद्धता जनाउँदै हतियार नबनाउने र प्रविधिमा जोड दिने कुरा दोहोर्याए।

तेहरान । इरानले रुसको सहयोगमा आठ वटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्ने राष्ट्रिय प्रयासको एक महत्त्वपूर्ण हिस्सा हुनेछ ।

इरान र रुसबिच बुसेहरमा चार वटा तथा देशको उत्तरी र दक्षिणी तटरेखामा अन्य चार वटा आणविक ऊर्जा संयन्त्र निर्माणका लागि नयाँ सम्झौता सम्पन्न भएको तस्निम समाचार संस्थाले जनाएको छ । 

यी संयन्त्रहरूले ‘स्थिर र स्वच्छ आणविक ऊर्जा’ को आपूर्ति सुनिश्चित गर्ने र इरानलाई करिब २० हजार मेगावाट आणविक विद्युत् उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको एइओआई प्रमुखले स्पष्ट गरे ।

रुसी सञ्चार संस्था ‘तास’ले एईओआईको प्रेस सर्भिसलाई उद्धृत गर्दै इरानको उत्तरी गोलेस्तान प्रान्तमा एउटा नयाँ आणविक संयन्त्रको निर्माण सुरु भइसकेको जानकारी दिएको छ । साथै, सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आरम्भ गरिएको खुजेस्तान प्रान्तको आणविक परियोजना पनि अब पूरा गर्ने योजना रहेको उल्लेख गरिएको छ ।

यसैबिच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देशको ‘शान्तिपूर्ण आणविक कार्यक्रम’ प्रति पुनः प्रतिबद्धता जनाउँदै ‘इरानले कुनै पनि परिस्थितिमा हतियार निर्माण गर्ने छैन’ भन्ने अठोट दोहोर्‍याएका छन् ।

‘बम निर्माण गर्नु यो क्षेत्रको एउटा सानो, असमान र अमानवीय अंश हो, जबकि बाँकी वैज्ञानिक प्रयास मानव जीवनका आवश्यकताहरू पूरा गर्न केन्द्रित छन्’, राष्ट्रपति पेजेस्कियानले इरानको आणविक ऊर्जा सङ्गठनको भ्रमणका क्रममा भने । उनले पश्चिमी शक्तिहरूमाथि स्वतन्त्र राष्ट्रहरूलाई उन्नत प्रविधिबाट वञ्चित गरी निर्भर बनाउने प्रयास गरेको आरोप समेत लगाए ।

राष्ट्रपतिले भने, ‘इरानी वैज्ञानिकहरू विरुद्ध भइरहेका हत्याका प्रयासहरू र शत्रुताहरू इरानको वैज्ञानिक तथा प्राविधिक स्वतन्त्रताप्रति केही शक्तिहरूको भयको परिणाम हुन् ।’

स्मरणीय छ, सन् २०२५ को जुन महिनामा इजरायलले नतान्ज र फोर्डो लगायत इरानका प्रमुख आणविक प्रतिष्ठानहरूलाई लक्षित गर्दै हवाई आक्रमणहरू सञ्चालन गरेको थियो । १२ दिनसम्म चलेको उक्त द्वन्द्वमा अमेरिकी सेनाले पनि इरानी संवर्धन केन्द्रहरूमा आक्रमणमा साथ दिएको थियो ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानले आफ्ना आणविक सुविधाहरू पुनः सञ्चालन गर्‍यो भने, अमेरिका नयाँ सैन्य कारबाहीका लागि तयार हुनेछ ।’

सीबीएस न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले पुनः आणविक परीक्षण सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘रुसले परीक्षण गर्ने घोषणा गरिसकेको छ, उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ, अन्य देशहरूले पनि गर्दैछन् । परीक्षण नगर्ने देश अहिले केवल अमेरिका मात्रै हो र म यस्तो स्थिति रहन चाहन्न ।’

रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ट्रम्पसँग सोधिएको प्रश्नमा उनले यो टिप्पणी गरेका थिए ।

ट्रम्पले दाबी गर्दै भने, ‘अमेरिकासँग विश्वका सबै देशभन्दा बढी आणविक हतियार छन् । हामीसँग विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने क्षमता छ । रुससँग पनि पर्याप्त हतियार छन् र चीनसँग चाँडै धेरै हुनेछ, ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मैले आणविक निःशस्त्रीकरणका विषयमा छलफल गरेको छु ।’

इरान र रुसबिचको यो नयाँ आणविक सहकार्यले मध्यपूर्वमा ऊर्जा स्वतन्त्रताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ, तर यसले पश्चिमी शक्तिहरूबिच नयाँ राजनीतिक तरङ्ग उत्पन्न गर्ने सम्भावना पनि विश्लेषकहरूले देखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप