बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अशोकको संघर्ष

अशोक दर्जीको कथाः सडकबाट उदाएर फिल्मी पर्दामा

सोमबार, १७ कात्तिक २०८२, १९ : ४१
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • बालगायक अशोक दर्जी 'मनबिनाको धन' फिल्मबाट नायक बन्दै छन्, जुन उनको लागि अनपेक्षित यात्रा हो।
  • अशोकले फिल्ममा सरोज खनाल, सन्तोष पन्त लगायतका कलाकारसँग काम गरेका छन्, र यो फिल्म उनको जीवनीमा आधारित छ।
  • गायनबाट अभिनयमा प्रवेश गर्दा उनलाई गाह्रो भए पनि, प्रशिक्षणपछि सहज भएको बताएका छन्, र भविष्यमा संगीत र अभिनयलाई सँगै लैजाने सोचमा छन्।

काठमाडौँ । करिब सात वर्ष पहिले ‘मनबिनाको धन’ गीतबाट रातारात चर्चाको शिखरमा पुगेका बालगायक अशोक दर्जी आफ्नो परिचय फराकिलो पार्दै छन्, अर्थात् गायकबाट नायक हुँदै छन् । 

कात्तिक २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मनबिनाको धन’बाट अशोकले अभिनयमा डेब्यु गर्ने भएका हुन्, जुन उनको लागि एक अनपेक्षित तर सुन्दर यात्रा हो । फिल्म यात्रा ‘लक’ तथा ‘एक्कासि आएको सरप्राइज’ बताउने उनी आफ्नै कहानीको हिरो भएका छन्, सँगै दंग छन् ।  

जब पहिलो पटक घरमा फिल्मको कुरा सुरु भयो, उनलाई विश्वास लागेको थिएन कि फिल्म साँच्चिकै बन्छ र उनी त्यसको नायक हुनेछन् । दाइ (निर्देशक टंक बुढाथोकी’ले पहिलो पटक फिल्मको कुरा गर्दा आफूले मात्र नभई परिवारका कसैले पनि विश्वास नगरेको बताए । 

‘दाइबाट एक्कासि एउटा सरप्राइजका रूपमा फिल्म बनाउने कुरा आएको थियो,’ अशोक भन्छन्, ‘सुरुमा फिल्मको कुरा हुँदा मलाई ट्रस्ट (विश्वास) लागेको थिएन फिल्म बन्छ भनेर ।’ म्युजिक क्षेत्रमा काम गरिरहेका दाइले फिल्म बनाउन सक्नुहुन्छ भन्ने घरका कसैलाई विश्वास नलागेको अशोक सुनाउँछन् । 

ashok-2

‘दाइले प्रुफ गरेर देखाउनुभयो कि एउटा सडकको बालकलाई लिएर फिल्म बनाउन सकिन्छ भनेर,’ उनी थप्छन्, ‘आफ्नै कहानीको हिरो बन्न पाएको छु, एकदमै खुसी छु ।’

गायनबाट एक्कासि अभिनयमा प्रवेश गर्दा भने उनलाई निकै गाह्रो भयो । ‘अभिनय गर्न म सक्छु भन्ने थियो, तर सुरुमा अभिनय भनेजस्तो भएन,’ अभिनयबारे अशोक भन्छन्, ‘अभिनयका लागि प्रशिक्षण चाहिन्छ भन्दै कान्तिपुर एकेडेमीमा क्लास लिएँ ।’ 

अभिनय प्रशिक्षणछि भने आफूलाई निकै सहज लागेको उनी बताउँछन् । 

‘मनबिनाको धन’ अशोकै बायोग्राफी हो, त्यसैले ‘कथा जिरोदेखि हिरोसम्म’ ट्यागलाइन फिल्मले राखेको छ । फिल्ममा उनले सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोलाराज सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झाजस्ता राम्रा कलाकारसँग काम गर्न पाएका छन् । 

सानैमा टीभीमा देखेका कलाकारसँग काम गर्न पाउनु आफैँमा ठुलो उपलब्धि भएको उनलाई लागेको छ । फिल्मले आफ्ना कथा उठाए पनि फिल्म भने कर्मसियल बनेको उनको दाबी छ । गीत गाएर भाइरल भएपछि उनलाई पनि अभिनयक गर्ने इच्छा जागेर आयो, यसबारे त्यसबेला नै आफूले अन्तर्वार्तामा फिल्म खेल्ने बताएको उनले खुलाए । 

सन् २०१८ मा सामाजिक सञ्जालमा भाइरल बनेका थिए अशोक । आर्थिक अवस्था नाजुक रहेको उनको परिवारले दैनिक उपभोग्य सामग्री जोहो गर्न पनि धौधौ गर्नुपरेको थियो । कक्षा २ मा पढ्दा पढ्दै छोडेर उनी भुटानी शरणार्थी शिविर बेलडाँगी, दमक पुगे । र त्यहीँबाट गीत गाउन थाले, पैसा कमाउन थाले । 

सडकमा गाउँदै, पैसा माग्दै गरेको उनको भिडियो पहिलो पटक एक युट्युबरले अपलोड गरेपछि उनी रातारात भाइरल बने । त्यसपछि डिजे रुपेशले उनलाई काठमाडौँ ल्याएर संगीतकार टंक बुढाथोकीसँग भेट गराए, बुढाथोकीले नै उनलाई पहिलो गीत ‘मनबिनाको धन ठुलो, कि धन बिनाको मन’ गाउन लगाएका थिए । 

गीत बजारमा आएपछि उनको चर्चा यति चुलियो कि उनको व्यापक खोजी हुन थाल्यो, सबैतिरबाट उनलाई सहयोग आउन थाल्यो । सुरुमा उर्लाबारी–७ को बेथेल एजुकेसन एकाडेमीमा अध्ययन गरेका उनलाई संगीतकार बुढाथोकीले संरक्षण लिएर काठमाडौँमा पढाउन थाले । अहिले कक्षा ८ मा अध्ययन गरिरहेका अशोकका जम्मा सात वटा गीत बजारमा आइसकेका छन् । 

अशोकले पढाइमा पनि उत्तिकै ध्यान दिइरहेका छन् । उनको यो फिल्म छायांकन हुँदा परीक्षा चलिरहेको थियो । पहिले परीक्षा दिएर उनले त्यसपछि फिल्ममा काम गरेका थिए । पढाइमा उनको मनपर्ने विषय अंग्रेजी हो, गणित भने उनलाई एकदमै ‘अप्ठ्यारो’ लाग्छ रे । 

ashok

पढाइबाहेक, अशोक गेममा पनि रुचि राख्छन् । ‘मैले पढाइमा कहिल्यै मेडल ल्याइनँ, गेमहरूमा चाहिँ सधैँ फस्टै हो,’ रुचि सुनाउछन्, ‘फुटबलमा मेरो गहिरो रुचि छ ।’ उनी आफू स्कुलको ‘स्टार खेलाडी’ भनेर चिनाउँछन् ।

फिल्म हेर्न पनि उत्तिकै मन पराउँछन् अशोक । ‘यो फिल्म निर्माण अगाडिसम्म म दिनमा दुईटा मुभी हेर्थेँ,’ उनी भन्छन्, ‘आफूलाई मोटिभेट गर्न र अभिनय सिक्न ।’  हिन्दी, अंग्रेजी, नेपालीलगायत सबै भाषाका फिल्महरू हेर्न रुचाउने उनी आफूलाई एक्सन, कमेडी, र रुने टाइपका फिल्महरू मन पर्ने बताउँछन् । 

भविष्यमा अशोक संगीत क्षेत्र र अभिनयलाई सँगै लैजाने सोचमा छन् । कारण खोल्छन्, ‘संगीत मेरो नसामा छ, एक्टिङ सपना पनि हो ।’ देशका लागि सधैँ राम्रो काम गर्ने लक्ष्य राखेका उनी भविष्यको योजना भने बनाउन बाँकी रहेको बताउँछन् । 

ashok3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप