ए डिभिजन लिग स्थगनप्रति खेलाडी संघको कडा आपत्ति, सडक संघर्षको चेतावनी
सारांश
- नेपाल फुटबल खेलाडी संघले एन्फाको निर्णयप्रति आपत्ति जनाउँदै सडक आन्दोलनको चेतावनी दिएको छ।
- एन्फाले ए डिभिजन लिग एक वर्ष पछाडि सार्ने निर्णय गरेपछि खेलाडीहरूले असन्तुष्टि जनाएका हुन्।
- संघले एन्फाले खेलाडीको भावनाको सम्मान नगरेको आरोप लगाउँदै लिग सञ्चालनको माग गरेको छ।
काठमाडौँ । नेपाल फुटबल खेलाडी संघले एन्फा र ए डिभिजन क्लबबिच सोमबार भएको बैठकमा एडिभिजन लिग अझै एक वर्षपछि गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ। संघले लामो समयदेखि लिग पुनः सञ्चालनका लागि पहल गरिरहेको भए पनि एन्फाले खेलाडीहरूको भावनाको सम्मान नगरेको आरोप लगाउँदै संघले सडक संघर्षमा उत्रने चेतावनी दिएको छ।
संघका अनुसार पछिल्लो ए डिभिजन लिग भएको झन्डै तीन वर्ष बित्न लागेको छ। यसबिचमा खेलाडी, समर्थक र मन्त्रालयबिच भएको छलफलले लिग चाँडै सुरु हुने संकेत दिएको भए पनि आजको निर्णयले ती सबै प्रयासलाई बेवास्ता गरेको खेलाडी संघको भनाइ छ।
एन्फाले हालका लागि आयोजना गर्न लागेको राष्ट्रिय लिगमा १० टोली मात्रै सहभागी हुने योजना बनाएको छ, जसले हजारौँ खेलाडीलाई खेल अवसरबाट वञ्चित पार्ने संघको बुझाइ छ। ए, बी र सी डिभिजन गरी ४२ क्लबका झन्डै दुई हजार खेलाडी अर्को वर्ष पनि खेल्न नपाउने अवस्थाले नेपाली फुटबलको भविष्य नै संकटमा पर्ने चेतावनी संघले दिएको छ।
‘यो निर्णय व्यवसायिक फुटबलरमाथिको ठूलो अन्याय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीको मर्म र भावनामाथि खेलबाड गर्ने एन्फाको कदम घोर निन्दनीय छ।’
संघले पटक-पटक मौखिक र लिखित रूपमा लिग सञ्चालनका लागि सुझाव र दबाब दिँदै आएको तर एन्फाले त्यसलाई बेवास्ता गरेको भन्दै अब सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण