बाजुराका विकट गाउँमा बाटोमै प्रसूति गराउनुपर्ने बाध्यता
सारांश
- बाजुराको विकट क्षेत्रमा स्वास्थ्यकर्मी विनिता बिष्ट कटुवालले गर्भवती महिलाको ज्यान बचाउन गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ।
- विभिन्न स्वास्थ्य चौकीमा काम गर्दै आएकी विनिताले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको चुनौती र आफुले भोग्नुपरेका समस्याबारे जानकारी दिएकी छिन्।
- नगरपालिकाले स्वास्थ्य सेवा सुधारको प्रयास गरिरहेको र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको कुरा उल्लेख गरिएको छ।
धनगढी । एक वर्ष अघि मध्यरात करिब १ बजे बाजुराको विकट बयाल गाउँस्थित स्वास्थ्यकर्मी विनिता बिष्ट कटुवालको घरमा हस्याङफस्याङ गर्दै कोही आएर ढोका खोल्न आग्रह गर्यो ।
एक गर्भवती महिला स्वास्थ्यचौकीतर्फ जाँदैगर्दा बाटोमै प्रसव बेदना भएको भन्दै ती मानिस विनितालाई बोलाउन उनको घरमै पुगेका थिए । यो खबर सुन्नासाथ विनिता आफ्नो डेलिभरी सेट बोकेर अँध्यारोमै दौडेर महिला भएको ठाउँमा पुगिन् ।
विनिता पुग्दा ती महिलाले शिशुलाई जन्म दिइसकेकी थिइन्, तर साल ननिस्किएका कारण आमाको अवस्था गम्भीर बन्दै थियो । यो अवस्था आमाको ज्यानका लागि अत्यन्तै जोखिमपूर्ण हुन्छ । विनिताले तत्कालै आवश्यक सुई लगाइन् । एक घण्टासम्म साल निस्कने प्रतीक्षा गरिन् तर उनको प्रयास सफल भएन ।
‘त्यो रात डरले मेरो शरीर पसिनाले पूरै भिजेको थियो,’ विनिता त्यो पल सम्झँदै भन्छिन्, ‘आमा र बच्चा दुवैलाई केही भइहाल्छ कि भन्ने चिन्ताले सताइरहेको थियो ।’
समय खेर नफाली उनले सुत्केरी महिलालाई आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरसम्म ल्याउने निर्णय गरिन् । त्यहाँ पनि एक घण्टाको अथक प्रयासका बाबजुद साल ननिस्किएपछि उनले अन्तिम विकल्पको रूपमा महिलालाई अछामको बयालपाटा अस्पताल रेफर गर्ने निर्णय गरिन् ।
विकट गाउँमा मध्यरातमा यातायातको साधन पाउनु असम्भवजस्तै थियो । गाडीका लागि फोन गरियो । विनिताले एक जना सफाइकर्मीको सहयोगमा गर्भवती र नवजात शिशुलाई स्ट्रेचरमा बोकेर गाडी चल्ने सडकसम्म पु¥याइन् । उनको त्यो बेलाको साहसले आमा र बच्चा दुवैले नयाँ जीवन पाए ।
त्यसको चार वर्षअघि पनि रातकै समयमा उनले बाटोमा डेलभरी गराउनुपर्ने अवस्था आयो । त्यतिवेला उनी त्यहाँको कर्मचारी थिइनन् । बर्थिङ सेन्टरमा त्यो दिन कर्मचारी थिएनन् । उनको घरमा गर्भवतीका आफन्त आएर भने, ‘बाटोमा महिलालाई समस्या भएको छ, कर्मचारी छैन । तपाईं आउनुपर्यो ।’
विनिताले बाटोमा सामान्य तरिकाले सुत्केरी गराइन् । सामान्य अवस्थामा सुत्केरी गराएकोमा उनी खुसी भइन् । त्यसअघि उनले अनमी पढ्दा काठमाडौँस्थित थापाथली अस्पतालमा उनले दर्जनौँ डेलिभरी गराइसकेकी थिइन् । गाउँमा पनि आपतविपतमा उनी डेलिभरी गराउने काम गरिदिन्थिन् ।
२८ वर्षीय विनिता बाजुराकी एक साहसी स्वास्थ्यकर्मी हुन् । विगत साढे तीन वर्षदेखि बुढीगंगा नगरपालिका–७ स्थित सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत उनका लागि बाटोमै सुत्केरी गराउनु नौलो घटना होइन ।
उनले आफ्नो कार्यकालमा बाटोमा चार वटा सफल प्रसूति गराइसकेकी छन् । प्रत्येक घटना उनको व्यावसायिक कर्तव्य र मानवीय संवेदनाको परीक्षा बनेर आउँछ ।
कात्तिक १५ गते उनले सिर्जना केसी नाम गरेकी महिलालाई पनि बाटोमै सुत्केरी गराइन् । त्यो वेलाको परिस्थिति कठिन थियो । विनिता आफैँ साइनसको शल्यक्रिया गरेर भारतबाट भर्खरै फर्किएकी थिइन् । उनको हातमा क्यानेला जोडिएकै थियो । आराम गर्नुपर्ने वेलामा पनि उनी अर्की आमाको जीवन बचाउन दौडिइन् । ‘स्वास्थ्य संस्थामा अरु कोही थिएन । म नगएको भए के हुन्थ्यो होला भनेर सोच्न पनि सक्दिनँ । त्यही भएर आफू बिरामी भए पनि दौडेर गएँ,’ उनले भनिन् ।
विनिताले सानैदेखि स्वास्थ्यकर्मी बनेर गाउँको सेवा गर्ने सपना देखेकी थिइन् । १७ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिए पनि उनले आफ्नो सपनालाई मर्न दिइनन् । काठमाडौँमा अनमी पढेरै छाडिन् । अहिले उनका श्रीमान् भारतमा रोजगारी गर्छन् भने उनी दुई साना छोरा, खेतीपाती र घरको सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्दै स्वास्थ्य सेवामा समर्पित छिन् ।
आधारभूत स्वास्थ्य केन्द्रमा आउनुअघि पनि उनले नगरपालिकाको स्वास्थ्य चौकीमा दुई वर्ष काम गरिन्, तर त्यतिवेला उनी फिल्डमा खटिएर खोप लगाउने आदि काम गर्नु पर्दथ्यो । स्थानीय भएको नाताले उनी आपतविपतमा डेलिभरी सेवा दिइरहेकी हुन्थिन् ।
विनिताका अनुसार दुर्गम ठाउँमा चुनौती अनेक छन् । पहिलो, भौगोलिक विकटता र यातायातको अभाव छ । घण्टौँ उकालो–ओरालो हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । दोस्रो, जनचेतनाको कमी छ ।
‘धेरैजसो स्थानीयमा अन्तिम अवस्थामा मात्र स्वास्थ्य संस्था जाने पुरानो सोच छ । जसले गर्दा बाटोमै सुत्केरी हुने जोखिम बढेको छ,’ विनिता आफ्नो अनुभव सुनाउँछिन् ।
अन्धविश्वासका कारण गर्भवती भएको छिटै जानकारी गराए झन् गाह्रो हुन्छ भन्ने गलत धारणाले पनि समस्या निम्त्याएको उनको भनाइ छ ।
विनिताका अनुसार सबैभन्दा गम्भीर चुनौती हो– अपर्याप्त पूर्वाधार र जनशक्तिको अभाव ।
विनिता कार्यरत स्वास्थ्य चौकीको भवन अत्यन्तै साँघुरो र जीर्ण छ । ‘म काम गर्ने आधारभूत स्वास्थ्य केन्द्र एउटा सानो गोठजस्तो छ,’ उनले भनिन्, ‘चिसोले बिरामी झन् थला पर्छन् । काम गर्ने ठाउँ पनि छैन ।’
हाल नगरपालिकाले करारका सबै कर्मचारी हटाएपछि उनी एक्लैले कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीसम्मको भूमिका निर्वाह गरिरहेकी छन् । तालिम लिन जानुपर्दा पनि स्वास्थ्य चौकी बन्द गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
यस्तो गम्भीर अवस्थामा पनि सम्बन्धित निकायबाट कुनै चासो नदेखाउँदा दुःख लाग्ने उनले बताइन् । उनी पनि करारमै काम गर्छिन्, तर उनको तलबको व्यवस्था आमा सुरक्षा कार्यक्रम अन्तर्गत हुने भएकाले उनी एक्लै काम गरिरहेकी छन् । उनी मासिक २० हजार तलब पाउँछिन् । आधारभूत सेवा केन्द्रमा अहिले उनी एक्लै काम गरिरहेकी छन् ।
विनिताले अहिलेसम्म १५० भन्दा बढी सफल प्रसूति गराइसकेकी छन् । सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा वडा नम्बर ७ का तीन गाउँका स्थानीयले प्रसूति सेवा लिने गर्छन् । यसका साथै परिवार नियोजन सेवा लगायतको सेवा पनि प्रवाह हुने गरेको छ ।
विनिताका अनुसार यहाँ भौतिक पूर्वाधार सुधार गर्न, पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था गर्न तथा स्थानीयमा जनचेतना फैलाउन तत्काल कदम चाल्न आवश्यक छ । ‘आधारभूत आवश्यकताहरू पूरा भए स्वास्थ्यकर्मीहरूले पनि चुनौती भोगेर सेवा दिनुपर्ने अवस्था हुन्थेन । गर्भवती महिलाहरूले पनि अँध्यारो र चिसो बाटोमा बच्चा जन्माउनुपर्ने नियति हट्थ्यो,’ उनले भनिन् ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँका अनुसार, नगरपालिकाले स्वास्थ्य सेवा सुधारका लागि प्रयास गरिरहेको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा पु¥याउने र दुर्गम ठाउँहरूमा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने काम भइरहेको छ, तर भौगोलिक विकटता र स्रोतको अभावले गर्दा सोचेजस्तो प्रगति हुन सकेको छैन ।
नगर प्रमुख बानियाँले संघ र प्रदेश सरकारबाट आवश्यक सहयोग नपाएको गुनासो गरे । उनका अनुसार, कर्मचारी समायोजन र बजेट विनियोजनमा ढिलाइ हुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण