बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैङ्क तथा वित्तीय संस्थामा कति पैसा छ ?

मङ्गलबार, १८ कात्तिक २०८२, १२ : २३
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ, तर कर्जा प्रवाह सुस्त छ।
  • कर्जाको माग घट्दो क्रममा रहेको र ब्याजदर कम हुँदा पनि कर्जा प्रवाह बढ्न सकेको छैन।
  • लगानीकर्ता त्रसित हुँदा र बैंकहरूले कर्जा प्रवाह नगर्दा राष्ट्र बैंकले लामो अवधिको निक्षेप सङ्कलन गरिरहेको छ।

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो । 

कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप सङ्कलन गरेका छन् । यो अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । 

वाणिज्य बैङ्कहरू मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंककाअनुसार विकास बैङ्क तथा फाइनान्सले यो अवधिमा ७ खर्ब ५८ अर्ब निक्षेप सङ्कलन गरेका छन् । उनीहरुले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४ दशमलव २५ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ । 

पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैङ्कहरूको औसत ब्याजदर ५।६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्यूनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन ।

खासगरी जेन–जी आन्दोलनमा निजी क्षेत्रका घरानमाथि छानिछानी आक्रमण भएपछि लगानीकर्ताहरू त्रसित बन्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभूति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् ।

बैङ्क तथा वित्तीय संस्थाहरूबाट तत्काल ठुलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैङ्क, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधवार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो ।

त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैङ्क दीर्घकालीन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप