सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युतीय चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ : ऊर्जामन्त्री घिसिङ

मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ००
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको नीति परिमार्जन हुने बताए।
  • सरकारले यातायात र खाना पकाउने क्षेत्रमा बिजुली खपत बढाउने नीति लिएको छ।
  • मन्त्री घिसिङले वायु ऊर्जामा काम गर्न चाहने निजी क्षेत्रलाई सहयोग गर्ने बताए।

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। 

मन्त्री घिसिङले विद्युतीकरणको दायरा फराकिलो बनाउन सरकारले यातायात र खाना पकाउने लगायतका क्षेत्रमा बिजुलीको खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने काममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई विशेष ध्यान दिन निर्देशन दिएका छन्।

उनले ‘विन्ड इनर्जी’ (वायु ऊर्जा) को क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए। विन्ड इनर्जीको क्षेत्र पनि नेपालको लागि सम्भावनाको क्षेत्र भएकाले यसमा काम गर्न इच्छुक निजी क्षेत्रलाई सहयोग गर्ने मन्त्री घिसिङको योजना छ।

घिसिङले भने, ‘यो इनर्जी इफिसेन्सीलाई इफेक्टिभ रूपमा कसरी अगाडि बढाउनुपर्छ भनेर एकदमै यसको कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस्तै गरेर इनर्जी ट्रान्जिसनको विषय, अहिले चार्जिङ स्टेसन, ट्रान्सपोर्टेशनलाई इलेक्ट्रिफिकेशन गर्ने, कुकिङलाई इलेक्ट्रिफिकेशन गर्ने भनेर अहिले गाउँगाउँमा जुन ग्रिड पुगेको छ। यसलाई प्रयोग गरेर इन्डक्सन कुकिङहरूमा जाने भनेर हामी लागि राखेका छौँ। त्यसमा विशेष ध्यान दिएर अगाडि बढ्नुपर्नेछ। किनभने हाम्रो डिमान्ड क्रिएशन त्यहीबाट हुने हो।’

उनले थपे, ‘हामी विद्युत्मा कसरी रूपान्तरण हुन्छौँ भन्ने कुरा यो वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विशेष ध्यान लिएर अगाडि बढ्नुपर्नेछ। चार्जिङ स्टेसनको केही पोलिसी रिफर्म गर्नुपर्नेछ। यो पनि हामी चाँडै अर्को बोर्डबाट पास गर्छौँ।’

त्यस अवसरमा मन्त्री घिसिङले नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै जर्मन सरकारप्रति पनि आभार व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप