बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार र कुशासन अन्त्यका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : अर्जुननरसिंह केसी

बिहीबार, २० कात्तिक २०८२, १६ : ३३
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • अर्जुन नरसिंह केसीले जेनजी आन्दोलनका माग जायज भएको बताए, सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई समर्थन गर्नुपर्ने धारणा राखे।
  • उनले देश गृहयुद्ध उन्मुख भएको र कांग्रेसले राजनीतिक, शासकीय र नैतिक सुधारको नेतृत्व लिनुपर्ने बताए, साथै भ्रष्टाचार नियन्त्रणको लागि उच्चस्तरीय न्यायिक आयोगको माग गरे।
  • केसीले संवैधानिक राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको सुझाव दिए, र महाधिवेशनबारे पनि कुरा उठाए।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका माग जायज भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै केन्द्रीय सदस्य केसीले जेनजी आन्दोलनलाई न्यायोचित मागहरूको प्रतिक भन्दै, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूको आवाजलाई पूर्ण समर्थन गर्न कांग्रेसले नीतिगत प्रतिबद्धता जनाउनुपर्ने बताए ।

अहिले देश गृहयुद्ध उन्मुख असाधारण परिस्थितिमा पुगेको भन्दै यस्तो सङ्कट समाधानका लागि कांग्रेसले समग्र राजनीतिक, शासकीय र नैतिक सुधारको नेतृत्व लिनुपर्ने केसीले बताए ।

‘देश अहिले सत्ता, स्वार्थ र दलतन्त्रको दलदलमा फसेको छ । लोकतन्त्र दलतन्त्रमा, दलतन्त्र नेतातन्त्रमा, नेतातन्त्र गिरोहतन्त्र र अन्ततः विचौलियातन्त्रमा परिणत भएको छ,’ केसीले भने– ‘यसको अन्त्य गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ ।’

केसीले विगतका ठुला भ्रष्टाचार प्रकरणहरूमा कारबाही गर्न पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पार्टीले पहल लिनुपर्ने बताए । अवैध सम्पत्ति राष्ट्रियकरण र पाँच सय र हजारका नोटहरू बन्देज गर्नुपर्ने सुझाव केसीको छ ।

जेनजी आन्दोलनको घटनामा १९ जना विद्यार्थीको हत्या र त्यसपछिको विध्वंसबारे छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिनुपर्ने केसीको माग छ ।

केसीले संवैधानिक राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने तथा सङ्घीय संसद् र प्रदेशसभाको सदस्य सङ्ख्या आधा घटाउने र निर्वाचन प्रणालीमा सुधार गर्न सुझाव दिए ।

नियमित महाधिवेशन नगर्ने हो भने ५४ प्रतिशत केन्द्रीय सदस्यहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने केसीको माग छ । ‘एकातिर राजाको शासन र अर्कातिर सशस्त्र द्वन्द्वका बिच ४० दिनमै एघारौँ महाधिवेशन सम्पन्न गर्न सक्ने पार्टी अहिले किन ढिलो,’ केसीको प्रश्न छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप