शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी, एकीकृत समाजवादीसहितको पार्टी एकता र समाजवादी मोर्चाबारे के भन्छन् विप्लव ?

बिहीबार, २० कात्तिक २०८२, १८ : १५
बिहीबार, २० कात्तिक २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्र सहित १० दलको एकतामा आफूलाई कुनै रस नभएर सहभागी नभएको जिकिर गरेका छन् । 

काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममार्फत पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै विप्लवले एकतालाई शुभकामना दिए ।

‘माओवादी,एकीकृत समाजवादी लगायत दलहरूले एकता भन्नुभयो हाम्रो शुभकामना छ । त्यो नवरसमा हाम्रो रस मिसिएन । नेकपा मिसिन तयार भएन । हामीले भन्यौँ तपाईँ जानुस् । पुराना नेतासँग युवा नेताहरू रिसाइराखेको अवस्था छ । त्यसमा ख्याल गर्नुहोस् । यो कुरा बुझेनौ भने खरानी बनाउनुपर्ने अवस्था आउन सक्छ फेरि’, उनले भने ।

समाजवादी मोर्चाले देश र जनताका लागि कुनै काम गर्न नसकेको उनको भनाइ छ । मोर्चाका संयोजक समेत रहेका उनले जति पहल गरेपनि मोर्चा गाँजा खाएर सुतेको जस्तै भएको बताए । 

यस्तो छ पार्टी एकता र समाजवादी मोर्चाबारे विप्लवको विचार

नेपालमा एकताको राजनीतिक सिजन चलेको छ । मान्छेले खुट्टा टेक्न पनि बिर्सेलान् जस्तो छ । हल्लैहल्लामा डाँडा काट्न बेर छैन । आजको दिन हल्लामा दौडिन कोही जरुरी छैन । अवसरवादीहरू हाहा हुहु गर्दै  हिँड्छन् हामीलाई कुनै सरोकार छैन । हामीले नेपाली जनतालाई स्पष्ट पार्न जरुरी छ । नेपालमा कम्युनिस्ट छन् । तिनकाबिच एकता हुन जरुरी छ । तर कसको एकता ? कस्तो एकता ? कसरी एकता ? कहाँ पुग्ने एकता ? यो कुरा बुझेनौ भने खरानी बनाउनुपर्ने अवस्था आउन सक्छ फेरि । नेपाली इतिहासमा एकताले सधैँ राम्रो गरेको छ भन्ने होइन । विचार पुर्‍याइएन भने एकताले धिपधिपे दियो पनि निभाउने खतरा हुन्छ । एकताले अहिले आगो लिएर आउँछन् । प्रकाश लिएर आउँछन् । कहिलेकाहीँ आगो निभाउने गरी आउँछन् । हामी सतर्क हुनुपर्छ ।

पुष्पलालले बनाएको जस्तै एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ भन्ने नेकपा नै हो । त्यो नीति अन्तर्गत समाजवादी मोर्चासँग सहकार्य गर्ने हामी नै हो । समाजवादी मोर्चा देशव्यापी चल्न सकेन । मोर्चा सडकमा जानुपर्थ्यो । तर सडकमा जानै मानेन ।

दलाली, भ्रष्टाचार, राष्ट्रघातक विरुद्ध लड्नुपर्थ्यो । तर समाजवादी मोर्चा  गाँजा खाएर सुतेको बिरामी जस्तो शिथिल भयो । हामी इमानदारीपूर्वक गर्ने हो । ढाँटछल दुई दिन झिलिमिली गर्नेको भविष्य छैन नेपालमा । एकतामा आउने पार्टी र नेताहरू निष्कलङ्क हुनुपर्छ । जनताले विश्वास गर्ने हुनुपर्छ । उसले भनेको कुरामा जनता लड्न मर्न तयार हुनुपर्छ । एकताले विगतमा योगदान गरेका नेताहरूलाई रक्षा गर्नुपर्छ । उनीहरुले धेरै जेलनेल खाएका छन् । उनीहरूलाई हाम्रो एकताले अपमान होइन सम्मान गर्नुपर्छ ।

तर यहाँ हिजो रमाइलो पनि देखियो । १० वटा दलले एकता भन्नुभयो हाम्रो शुभकामना छ । त्यो नवरसमा हाम्रो रस मिसिएन । नेकपा मिसिन तयार भएन । हामीले भन्यौँ तपाईँ जानुस् । पुराना नेतासँग युवा नेताहरू रिसाइराखेको अवस्था छ । कपाल फुलिसके । बुढौली लागिसक्यो । भारी बोकाएका छौँ  । किन यति दुःख दिएको । युवाहरू सक्षम छैनन् ? हामी भारी बोक्छौँ भन्न भनेर देशभरी सुझाव यो छ ।

हाम्रा अग्रजले उठाएकाे भारी अब बुढा नेतालाई बोकाउन हुँदैन । तर समस्या के छ भने बोक्ने मान्छे बिसाउन तयार छैनन् । युवाहरु पनि तयार छन् । मरे मै मर्छु तँलाई के कर टाइपका छन् । आलुको भारी, धानको भारी वा पैसाकै भारी भएको भए एउटा कालखण्डपछि दिन्थे होला । राजनीतिक भारी बढो अचम्मको हुने रहेछ । मर्ने, पिस्ने तर मरे नदिने  के होला  यो भारी ? तर त्यो भारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्नुभएन भने, एउटा स्पष्ट विचार, सिद्धान्त, दृष्टिकोण सहितको आन्दोलन दिन सक्नुभएन भने तपाईँ सिद्धिएको दिन नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त हुने खतरा छ । मागेर खाने लाछी जात होइन कम्युनिस्ट । विदेशमा गएर रोएर बस्ने जात होइन कम्युनिस्ट ।  पैसा लिएर आएकालाई त्यहाँ गाड्दै जनताकै मान्छेलाई भोट हाल्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप