जनकपुर क्षेत्र विकास परिषद् : कार्यकारी निर्देशक र अध्यक्षबिच आरोप–प्रत्यारोप
सारांश
- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष र कार्यकारी निर्देशकबीचको विवाद सतहमा आएको छ।
- कार्यकारी निर्देशकले कर्मचारीको तलब र भत्ता रोकिएको, कार्यालय बन्द रहेको र अध्यक्षले निजी स्वार्थका लागि काम गरेको आरोप लगाए।
- अध्यक्षले कार्यकारी निर्देशकमाथि राजीनामा दिइसकेको र कार्यालयको काममा अवरोध गरेको आरोप लगाउँदै आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिए।
जनकपुरधाम । विवादले धराशायी हुँदै गइरहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् फेरि अध्यक्ष र कार्यकारी निर्देशकबिचको विवाद सतहमा आएको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक वैद्यनाथ पासवानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कार्यालयको वर्तमान अवस्था गम्भीर रहेको भन्दै पत्र लेखेका छन् । कार्यकारी निर्देशक पासवानद्वारा मन्त्रालयलाई पठाइएको पत्रमा विगत २०८० माघदेखि हालसम्म कार्यालयमा कार्यरत कर्मचारीहरूले तलब र भत्ता नपाएको उल्लेख छ । बिजुली र खानेपानीको सुविधा नहुँदा कार्यालय सञ्चालन ठप्प रहेको र दैनिक काम गर्न कठिनाइ भइरहेको पत्रमा उल्लेख छ ।
पासवानका अनुसार २०८२ भदौ २३ र २४ गतेको जेनजी जनआन्दोलनका क्रममा कार्यालयका भौतिक संरचना र सामग्रीहरू क्षतिग्रस्त भएका थिए । तर अहिलेसम्म ती सामग्रीको मर्मत वा पुनस्र्थापना गर्ने कुनै योजना नबनाइएकाले कार्यालय निष्क्रिय बनेको उनले बताएका छन् ।
पासवानले परिषद्का अध्यक्ष शीतल साहमाथि निजी स्वार्थका लागि कार्यालय ध्वस्त पार्ने योजना बनाएको आरोपसमेत लगाएका छन् । उनका अनुसार ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सेवा–सुविधाबाट वञ्चित गरिएको र कार्यालयको नाममा रहेका बैंक खातासमेत बन्द अवस्थामा छ ।
पासवानले गत असोज १७ गते प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापनलाई ‘फेक’ भनेका छन् । उनका अनुसार परिषद्मा कार्यरत २२ जना स्थायी कर्मचारीहरू रहेकै अवस्थामा नयाँ भर्नासम्बन्धी विज्ञापन प्रकाशन गर्नु कानुनविपरीत कार्य हो । उनले उक्त विज्ञापन आफूले जारी नगरेको र कार्यकारी निर्देशकको सहमतिबिना गरिएकाले अनधिकृत रहेको स्पष्ट पारेका छन् ।
उनले पत्रमार्फत मन्त्रालयलाई उक्त विज्ञापन तत्काल रोक्का गर्न र यस विषयमा आवश्यक कार्यान्वयन गर्न आग्रह गरेका छन् । लामो समयदेखि तलब र भत्ता नपाउँदा परिषद्का कर्मचारीहरू कार्यविहीन बनेका छन् । बिजुली र खानेपानी नहुँदा कार्यालयमा बस्नै नसक्ने अवस्था भएको कार्यकारी निर्देशक पासवानको भनाइ छ ।
पासवानले उक्त पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र महोत्तरी तथा कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषालाई समेत पठाएका छन् ।
जनकपुरधाम र आसपास क्षेत्रको सांस्कृतिक तथा भौतिक विकासका लागि स्थापना गरिएको परिषद् पछिल्ला वर्षहरूमा विवाद, राजनीतिक हस्तक्षेप र आर्थिक अनियमितताका कारण विवादित बन्दै आएको छ । कार्यकारी निर्देशकद्वारा पठाइएको पत्रले परिषद्भित्रको सत्ता संघर्ष र प्रशासनिक संकट फेरि उजागर गरेको हो ।
निर्देशकमाथि अध्यक्ष शीतल साहको ‘काउन्टर’
यता जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले वैद्यनाथ पासवानले राजीनामा दिसकेकाले उनले कार्यालयको काममा उल्टै अवरोध सिर्जना गरिरहेको आरोप लगाए । उनले पासवान बृहत्तरका कर्मचारी अब नरहेको र कार्यालयको काममा केही कर्मचारीसँग गुटबन्दी गरी कार्यालयको माहोल बिगार्ने गरेको बताए । उनका अनुसार कार्यालयको स्टाम्प र छापको केही कर्मचारीले दुरुपयोग गरिरहेका छन् ।
अध्यक्ष साहले आफूमाथि लगाइएको आरोप सिद्ध गर्न चुनौतीसमेत दिए । उनले भने, ‘यदि मैले गैरकानुनी कुनै काम गरेको छु भने मलाई कानुनी कारबाही होस्, नभए कार्यालयलाई बन्धक बनाउने प्रयास गरिरहेकाहरूलाई कानुनी कठघरामा ल्याइयोस् ।’
त्यस्तै, अध्यक्ष साहले कार्यालयमा बिनाकामका कर्मचारी राखेर बृहत्तरमाथि आर्थिक बोझ बढाउने कार्य मात्रै गरिएकाले नयाँ कर्मचारीका लागि विज्ञापन आह्वान गरिएको जानकारी दिए । उनले बृहत्तरको परिषद् तथा सञ्चालक समितिको निर्णयअनुसार आफूले कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको पनि दाबी गरे ।
अध्यक्ष साहले भने, ‘परिषद्मा स्थायी प्रकृतिका कर्मचारी राख्ने गरी व्यवस्था नरहेको र नयाँ कर्मचारी भर्ना गर्ने अधिकार अध्यक्षलाई दिएको कुरा ऐनमै उल्लेख छ ।’ आफूले परिषद्को काम फेरि द्रुत गतिमा अगाडि बढाउने अभिप्रायले आफ्नो अधिकारको प्रयोग गरी विज्ञापन गरेको दाबी गरे ।
कर्मचारीहरूले महिनौँदेखि तलब नखाएको स्वीकार गर्दै उनले भने, ‘३७ महिना मेरो नियुक्ति भएको भइसक्यो तर मैले एकसुको तलब यहाँबाट पाएको छैन ।’ तलब दिने कर्मचारीहरू नै भएका तर नियमसंगत तलब नदिएको विषयमा आफूलाई अनावश्यक रूपमा विवादित नबनाउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण