शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बिहार विधानसभा चुनाव : पहिलो चरणमा ६५.०८ प्रतिशत सहभागिता

शनिबार, २२ कात्तिक २०८२, २१ : ०७
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • बिहार विधानसभा चुनाव २०२५ को पहिलो चरणमा ६५.०८ प्रतिशत मतदान भएको छ।
  • २०२० को विधानसभा चुनावको तुलनामा यसपटक ७.७९ प्रतिशत बढी मतदान भएको छ।
  • मुख्यमन्त्री मोहन यादवले एनडीएले पूर्ण बहुमतका साथ सरकार बनाउने दाबी गरेका छन्।

गया । बिहार विधानसभा चुनाव २०२५ को पहिलो चरणमा ६५.०८ प्रतिशत मतदाताले मतदान गरेको रेकर्ड गरिएको बिहारका मुख्य निर्वाचन अधिकारी (सिइओ) ले शनिबार बताएका छन् ।

बिहारका निर्वाचन अधिकारीले भनेका छन्, ‘विधानसभा चुनावको पहिलो चरण सन् २०२५ नोभेम्बर ६ मा राज्यका १८ जिल्लाका १२१ सिटहरूमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको थियो।’

सिइओका अनुसार सन् २०२० को बिहार विधानसभा चुनावमा मतदाताको औसत  सहभागिता ५७.२९ प्रतिशत थियो, जबकि सन् २०२४ को लोकसभा आम चुनावमा ५६.२८ प्रतिशत मतदान भएको थियो। यसले अघिल्ला दुई चुनावको तुलनामा राज्यमा मतदाता सहभागितामा समग्रमा वृद्धि भएको देखाउँछ।

उनले भने- ‘यस वर्षको राज्यको चुनावमा सन् २०२० को बिहार विधानसभा आम चुनावको तुलनामा ७.७९ प्रतिशत बढीले मतदान भएको छ भने  सन् २०२४ को लोकसभा आम चुनावको तुलनामा ८.८ प्रतिशतभन्दा बढीले मतदान भएको छ।

बिहार विधानसभा चुनावको दोस्रो चरण नोभेम्बर ११ मा हुने तय भएको छ, जसको मतगणना नोभेम्बर १४ मा हुनेछ। दोस्रो चरणमा, २० जिल्लाका १२२ सिटहरूमा मतदान हुनेछ । 

यसैबिच, विधानसभा चुनावको प्रचारका लागि बिहार भ्रमणमा रहेका मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले शनिबार एनडीएले पूर्ण बहुमतका साथ फेरि सरकार बनाउने दावी गरेका छन् ।
मुख्यमन्त्री यादवले बिहीबार (नोभेम्बर ६) मा भएको बिहार चुनावको पहिलो चरणमा एनडीए हावी भएको दावी गरे । 

मुख्यमन्त्री यादवले एएनआईसँग भने- ‘मतदाताको अत्यधिक सहभागिताले एनडीएले चुनावमा अग्रता लिइरहेको सङ्केत गर्छ। एनडीएले बिहारमा फेरि पूर्ण बहुमतका साथ सरकार बनाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हाम्रो पार्टीले दिल्लीमा सरकार बनाएको तरिकाले यहाँ फेरि हाम्रो सरकार बन्नेछ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप