बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी
सारांश
- नवलपरासीका किसानले बगैंचाबाटै सुन्तला बेच्न पाउँदा खुसी व्यक्त गरे।
- यस वर्ष सुन्तलाको मूल्य गत वर्षभन्दा बढेको छ, जसले किसानलाई उत्साहित बनाएको छ।
- नवलपुरमा सुन्तलाको व्यावसायिक उत्पादन बढ्दै गएको छ, जसले गर्दा किसानलाई सहज भएको छ।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ । अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।
जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताए । स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो रु ६० देखि रु ६५ सम्ममा सुन्तला बिक्री गर्दै आएको उनले बताए ।
‘एकातर्फ सहज रुपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्कोतर्फ सुन्तलाको मूल्यसमेत अघिल्ला वर्षकोभन्दा धेरै मूल्य पाउँदा किसान उत्साहित बनेका छन्’, रानाले भने । गत वर्ष रु ५० देखि रु ५५ प्रतिकिलोसम्म सुन्तला बिक्री भएकामा अहिले मूल्यसमेत केही बढेको उनले बताए ।
नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन् । टिपिएका सुन्तला गाउँबाटै बिक्री हुँदा थप सहज भएको बुलिङ्टार–५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताए । उनको मात्रै करिब एक हजार सुन्तलाका बोट रहेका छन् । सुन्तला पाकेपछि स्थानीय बजारमा बिक्री गर्दै आएको उनले बताए ।
मौसम राम्रो भएकाले यसपटक सुन्तलाको दानासमेत राम्रो लागेको र बजार भाउ राम्रो प्राप्त गरेको सारुले बताए । गत वर्ष राइकोटमा उत्पादन भएका सुन्तला साना दाना भएकामा अहिले दाना राम्रो लागेको उनले बताए ।
उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमा नै आफूले खपत गर्दै आएको सारुले बताए । ‘अहिले सुन्तला बजार पठाउनेक्रम छ, जिल्लाका स्थानीय बजारमा खपत हुँदै आएको छ, पछि के हुन्छ हेरौँ’, सारुले भने ।
जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउरालीलगायत क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । स्थानीय व्यापारी बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले बताए ।
नवलपुरका स्थानीय बजारसँगै चितवनको नारायणगढबाट सुन्तला माग हुँदै आएको उनले बताए । ‘व्यापारीले माग राम्रै गरिरहेका छन्, यही मूल्य तयगरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन’, रानाले भने ।
किसान आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीलेसमेत सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।
नवलपरासी पूर्व नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरद्वारा सुन्तला जातका फलफूल जोन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा व्यावसायिक रुपमा सुन्तलाको उत्पादन बढ्दै गएको छ । कार्यालयका सूचना अधिकारी रणबहादुर महतोका अनुसार नवलपुरमा १८० हेक्टर क्षेत्रफल सुन्तलाजात फलफूलको उत्पादशील क्षेत्र रहेको छ ।
गत आर्थिक वर्षमा नवलपुरमा एक हजार ४०० टन सुन्तला उत्पादन भएको थियो । सूचना अधिकारी महतोका अनुसार कागती १८ टन उत्पादन भएको थियो । गत वर्ष किसानले सुन्तला बिक्रीबाट करिब रु आठ करोड ९० र कागती बिक्रीबाट रु १७ लाख ८६ हजार आम्दानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण