बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चीनबाट आयात/निर्यात गर्ने व्यवसायीमा थपियो चिन्ता

आइतबार, २३ कात्तिक २०८२, १४ : १६
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • बाढीले सडक अवरुद्ध हुँदा कोरोला नाका बन्द हुने भएपछि व्यवसायीहरू चिन्तित बनेका छन्।
  • रसुवा र तातोपानी नाका बन्द हुँदा दसैँका लागि चीनबाट आएका सामान तिब्बतमा रोकिएका थिए।
  • कोरोला नाकाबाट ३ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो, तर अब यो नाका पनि बन्द हुने भएको छ।

काठमाडौँ । नेपाल र चीन जोड्ने मुख्य सडक मार्गहरू बाढीका कारण अवरुद्ध रहेका बेला मुस्ताङको कोरोला नाका पनि बन्द हुने खबरले व्यवसायीहरूमा थप चिन्ता बढेको छ। रसुवा र तातोपानी नाकाको विकल्पमा भर्खरै सञ्चालनमा आएको कोरोला नाका अत्यधिक चिसोका कारण डिसेम्बर १ बाट बन्द गर्ने चिनियाँ पक्षको निर्णय भएको जानकारी व्यवसायीहरूले पाएका छन्।

रसुवा र तातोपानी नाका लामो समय बन्द हुँदा दसैँ-तिहारका लागि चीनबाट खरिद गरिएका अरबौँ मूल्य बराबरका सामग्रीहरू तिब्बतमै थन्किएका थिए। यसले गर्दा व्यवसायीहरू सङ्कटमा परेका थिए। सोही बेला नवनियुक्त भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले व्यवसायीहरूको माग अनुसार मुस्ताङ भन्सार कार्यालय सञ्चालनमा ल्याएपछि व्यवसायीहरूमा ऊर्जा र आशा पलाएको थियो।

कोरोला नाका सञ्चालनमा आएपछि केही हप्ताको अन्तरालमै ३ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ। व्यवसायीहरू महानिर्देशक भण्डारीको यो ऐतिहासिक र स्वागतयोग्य कदमको प्रशंसा गर्छन्। साथै, राजस्व अनुसन्धान विभागले पनि यस पटक सूचना र शङ्का लागेका ट्रकहरू बाहेक अन्य ट्रकहरूलाई जथाभाबी दुःख दिने काम नगरेकाले व्यवसायीहरू थप उत्साहित थिए।

तर, कोरोला नाका अन्य नाकाको तुलनामा धेरै लामो दूरीका कारण खर्चिलो छ। अहिले रसुवा नाका पूर्ण रूपमा अवरुद्ध छ भने तातोपानी नाकाबाट चिनियाँ पक्षले दैनिक ५ देखि १० वटा कन्टेनर मात्र नेपालतर्फ पठाउने गरेका छन्, जबकि नेपाली मालसामान बोकेका हजारौँ कन्टेनरहरू अझै तिब्बततर्फ लाइनमा छन्। धेरै व्यवसायीले त अतिरिक्त भाडा तिरेर तातोपानीका लागि हिँडेका कन्टेनरहरूलाई कोरोलातर्फ मोडेका थिए।

समुद्र मार्गबाट सामान ल्याउन लागत कम लागे पनि गन्तव्यसम्म आइपुग्न ३ महिनाभन्दा बढी समय लाग्ने र यसले गर्दा वस्तु बिक्री गर्ने सिजन सकिने तथा लगानी लामो समय अड्किने भएकाले व्यवसायीहरू चिन्तित छन्। यसको तुलनामा कोरोला नाकाबाट चीनबाट खरिद गरिएको माल एक महिनाभित्रै गन्तव्यसम्म आइपुग्ने भएकाले व्यवसायीहरू यस नाकाप्रति सन्तुष्ट थिए।

तर, अब रसुवा र तातोपानी नाकाको अवस्था दयनीय रहेको र डिसेम्बर १ देखि कोरोला नाका पनि बन्द हुने भएपछि चीनबाट आयात-निर्यात गर्ने व्यवसायीहरू गम्भीर अन्योलमा परेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप