बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

क्रियाशील सदस्यता नटुंगिएकाले तत्काल सम्भव नहुन सक्छ कांग्रेस महाधिवेशन !

गगन थापा नेतृत्वको समितिलाई एक वर्षअघि दिइएको थियो जिम्मेवारी
आइतबार, २३ कात्तिक २०८२, १९ : ३०
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । महामन्त्री गगन थापाले कात्तिक १८ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरणसम्बन्धी तथ्याङ्क प्रस्तुत गरे । कांग्रेसले २०८१ कात्तिक १४ गते महामन्त्री थापाको नेतृत्वमा चार सदस्यीय क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको थियो । 

त्यही समिति संयोजकको हैसियतमा थापाले कात्तिक १८ गते पेस गरेको तथ्यांक अनुसार हालसम्म ६२ जिल्लामा वडा तहबाट नवीकरण सिफारिस भई तहगत प्रक्रिया पूरा गरी विवरण पठाउने क्रममा छ । १९ जिल्लामा रहेका १ लाख ६३ हजार ८ सय ८ क्रियाशील सदस्यमध्ये १ लाख १८ हजार ७ सय ९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएको थापाले बैठकमा जानकारी गराएका छन् । 

२७ जिल्लाका तहगत नवीकरण भई १ लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको र ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको तथा सिस्टममा इन्ट्री गर्न बाँकी रहेको थापाले जानकारी गराए । 

१६ जिल्लामा केही वडा बाहेक नवीकरण भई तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा रहेको तथ्यांकमा उल्लेख गरेका थापाले आफ्नो प्रतिवेदनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ६ पटक ताकेता गरेको स्विकारेका छन् । गत असारमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणका लागि समय थप्ने निर्णय गरेको पनि उल्लेख गरेका छन् । 


त्यति गरे पनि थापा संयोजक रहेको समितिले क्रियाशील सदस्यताको वितरण त कहाँ हो कहाँ नवीकरणको काम पनि जिम्मेवारी पाएको एक वर्ष पुग्दा पनि सम्पन्न गर्न सकेको छैन । थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य छन् । तर उनीहरूले पार्टीले दिएको जिम्मेवारी पूरा गरेका छैनन् । त्यो थापा स्वयंले आफ्नै प्रतिवेदनमा स्वीकारेका छन् । थापाले प्रतिवेदनमा लेखेका छन्, ‘महाधिवेशन समयमा हुँदैन भन्ने भाष्यका कारण नवीकरण विवरण बुझाउन भएको ढिलाइ महाधिवेशनको कार्यतालिका टुङ्गिएको एक हप्तामा नै नवीकरण सकिन्छ ।’

उनै महामन्त्री थापा र अर्का महामन्त्री थापाको अगुवाइमा नेता गुरुराज घिमिरेको नेतृत्वमा मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने, त्यो नभए विशेष महाधिवेशन गर्न भन्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहितको पत्र असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् । थापाले मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेस गर्ने तयारी गरेका थिए । 

कार्यवाहक सभापति खड्काले अनुमति नदिएपछि सचिवालयमार्फत सार्वजनिक गरे । तर आफूले उक्साएर हस्ताक्षर गराएका महाधिवेशन प्रतिनिधिको दबाब थेग्न नसकेर थापाले कार्यसम्पादन समितिमा सहमति नभए पनि कात्तिक १८ गते पुस १६ देखि १९ गतेसम्म गर्नेगरी नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका छन् । त्यसका विरुद्ध संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म गर्नेगरी कार्यतलिका पेस गरेका छन् । यही महाधिवेशन कहिले गर्ने भन्ने विवादले गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अझै टुंगिएको छैन ।

यो तथ्यसँगै थापाको बारेमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसकेको भनेर प्रश्न उठेको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले थापा नेतृत्वको समितिले काम गर्न नसक्दा क्रियाशील सदस्यता नटुंगिएको, जसकारण मंसिरमा नियमित महाधिवेशन गर्न नसक्ने अवस्थामा पार्टी पुगेको धारणा राखिरहेका छन् ।

कात्तिक १८ गते थापाको काउन्टरमा १५ औँ महाधिवेशनको अर्को कार्यतलिका पेस गर्दै थापा नेतृत्वको क्रियाशील व्यवस्थापन समितिले समयमा काम नगरेकाले तत्काल महाधिवेशन गर्न असम्भव भएको बताएका थिए । उनले त यो कार्यसमितिलाई भंग गरी नयाँ बनाउन समेत माग गरे । 

‘पार्टीको विधान बमोजिम नियमित १५ औँ महाधिवेशनको लागि क्रियाशील सदस्य नवीकरण र नयाँ क्रियाशील सदस्य वितरण कार्य सम्पन्न हुन नसकेको वर्तमान अवस्थामा तत्काल महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था छैन,’ सहमहामन्त्री यादवले महाधिवेशनको कार्यतलिका पेस गर्दै भनेका थिए, ‘त्यसैले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गर्ने क्रियाशील सदस्यता छानबिन समिति अविलम्ब यो बैठकबाट गठन गर्न र उसको समवायवधि निर्धारण गर्न आवश्यक छ ।’

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले थापाको नाम नलिई क्रियाशील सदस्यता नटुंगिएकाले मंसिरमा नियमित महाधिवेशन हुन नसकेको बताउँछन् । केही समयअघि रातोपाटीलाई दिएको अन्तर्वार्तामा निधिले भनेका थिए, ‘महाधिवेशनको पहिलो काम भनेको क्रियाशील सदस्यता टुंग्याउने हो । त्यो काम नै पार्टीले समिति बनाएको लामो समय भइसक्दा पनि टुंगिएको छैन । अनि कसरी मंसिरमा महाधिवेशन हुन सम्भव हुन्छ ।’

केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सदस्यता नवीकरण र वितरण तथा संगठनात्मक तयारीका हिसाबले नै महाधिवेशन तत्काल सम्भव नहुने बताए । उनले बैठकमा भनेका थिए, ‘सदस्यता नवीकरण र वितरण तथा संगठनात्मक तयारीका लागि महाधिवेशन सम्पन्न गराउन कम्तीमा छ महिना लाग्छ । त्यस हिसाबले वैशाख अगाडि महाधिवेशन गर्न कठिनाइ हुन्छ ।’

प्रवक्ता डा. प्रकाशशरण महतले पनि क्रियाशील सदस्यता नटुंगिएका कारणले महाधिवेशन तत्काल गर्न सम्भव नभएको धारणा केन्द्रीय समिति बैठकमा राखे । ‘क्रियाशील सदस्यता नवीकरण अहिलेसम्म टुंगिएको छैन । अहिलेसम्म केही जिल्लाको मात्रै टुंगिएको प्रतिवेदन बैठकमा प्रस्तुत भएको छ । त्यसैले कसैलाई दोष थोपरेर, सभापतिले गरेन वा फलानाले गरेन भनेर मात्र मिल्दैन,’ उनले भने, ‘ज्यादा जिम्मेवारी महामन्त्रीहरूकै हुन्छ । यो टुंग्याउन समय लाग्ने देखिन्छ । वडा तहसम्म कार्यतालिका बनाउन र निर्वाचनपछि मात्रै पूर्ण महाधिवेशन गर्न उपयुक्त हुन्छ ।’ 

यी बाहेक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारलगायतका नेताहरू पनि क्रियाशील सदस्यताका कारणले नै मंसिरमा होइन, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि १५ औँ महाधिवेशन सम्भव नभएको बताइरहेका छन् । त्यस्तै केन्द्रीय समिति बैठकमा धारणा राख्दै सदस्यहरू गुरु बराल, कोषाध्यक्ष उमेश श्रेष्ठ, राधा घलेसहितले पनि महाधिवेशनको सुरुवाती चरण क्रियाशील सदस्यता नवीकरण नै नसिद्धिएकाले मंसिर र निर्वाचन अगाडि विधि र प्रक्रियागत ढंगबाट महाधिवेशन सम्भव नभएको बताएका थिए । 

तर महामन्त्री थापाले भने प्रतिवेदन पेस गर्ने बेलामा महाधिवेशनको मिति केन्द्रीय समितिबाट टुंगिएको एक सातामा सम्पन्न हुने उल्लेख गरेका थिए । थापाको प्रतिवेदनमा लेखिएको छ, ‘महाधिवेशन समयमा हुँदैन भन्ने भाष्यका कारण नवीकरण विवरण बुझाउन भएको ढिलाई महाधिवेशनको कार्यतालिका टुङ्गिएको एक हप्तामा नै नवीकरण सकिन्छ । महाधिवेशनको कार्यतालिका टुङ्गियो र हामी एकबद्ध भएर अधिवेशन प्रक्रियामा होमियौं भने सदस्यताको काम दुई हप्तामा गर्न सकिन्छ, सक्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप