शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीतिक दल

महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा अल्झियो कांग्रेस

बुधबार, १९ कात्तिक २०८२, १७ : ४८
बुधबार, १९ कात्तिक २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र पहिले महाधिवेशन कि निर्वाचन भन्ने बहस सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा देखिएका छन् । धारणा राख्ने एकथरी नेताहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने एक पक्षका नेताहरूले निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । 

महाधिवेशन छिटो गर्नुपर्छ भन्ने नेताहरूले कांग्रेसलाई नयाँ पुस्ताको हातमा दिने र ‘नयाँ सोचसहितको पुनरुत्थान’ आवश्यक रहेको बताएका छन् । त्यसको विपक्षमा रहेका नेताहरूले तत्काल महाधिवेशनले एकता होइन, विभाजन निम्त्याउने र निर्वाचनमा कमजोर बनाउने चेतावनी दिएका छन् । निर्वाचनपछि महाधिवेशन भन्ने नेताहरूले हतारमा महाधिवेशन गर्नाले पार्टी राजनीतिक जालोमा फस्ने बताएका छन् । 

बुधबारको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनलाई ‘महाभारतको चक्रव्यूह’सँग तुलना गरे । ‘हामी त्यसमा छिर्छौँ तर निस्किन सक्दैनौँ,’ उनले भने । राणाले कांग्रेसले अहिले राष्ट्रिय राजनीतिमा आफ्नो एजेन्डा स्पष्ट गर्नुपर्ने बेला भएपछि बैठक पार्टीको आन्तरिक शक्ति सन्तुलनमा मात्रै सीमित रहेको बताए ।

 

कर्णालीका पूर्वमुख्यमन्त्री तथा केन्द्रीय सदस्य जीवनबहादुर शाही पनि विशेष महाधिवेशनको विपक्षमा देखिए । शाहीले बैठकमा भने, ‘विशेष महाधिवेशनले पार्टीमा विग्रह ल्याउँछ । अहिलेको समयमा त्यो आवश्यक छैन ।’ शाहीले संकलित ५४ प्रतिशत हस्ताक्षरमा पनि शंका व्यक्त गरे । ‘करिब सबैको कार्यकाल सकिन लागेको अवस्थामा कसरी विशेष महाधिवेशन सम्भव हुन्छ ?,’ शाहीले भने । 

पार्टीको १४ औँ महाधिवेशनमा अहिलेको संस्थापन प्यानलबाट सहमहामन्त्री फरमुल्लाह मन्सुर महामन्त्री गगन थापाको प्रस्तावका पक्षमा देखिए । थापाले आगामी पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने कार्यतालिका बैठकमा पेस गरेका छन् । त्यसो हुन नसके विशेष महाधिवेशन गरेर भए पनि नयाँ नेतृत्व बनाई निर्वाचनमा जानुपर्ने महामन्त्री थापाको भनाइ छ । 

सहमहामन्त्री मन्सुरले थापालाई भावी सभापति र प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने प्रस्ताव बैठकमा राखे । ‘जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई अघि सारेर निर्वाचनमा जानुपर्छ,’ मन्सुरले भने ।  मन्सुरले गगन थापाको सक्रियताले नै विशेष महाधिवेशनका लागि बहुमत हस्ताक्षर सम्भव भएको दाबी गरे ।

बैठकको सुरुवातमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार नियमित महाधिवेशनका सन्दर्भमा पेस भएका दुई कार्यतालिकामध्ये सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिकालाई व्यक्तिगत प्रस्ताव भएको प्रष्टीकरण दिएका थिए । नेताहरूले दुई कार्यतालिकाको विषयमा कुरा उठाएपछि कार्यवाहक सभापति खड्काले त्यस्तो प्रष्टीकरण दिएका हुन् । 

महामन्त्री थापाको पक्षमा देखिएका नेताहरूले केन्द्रीय समिति बैठकमा महाधिवेशनबाट नयाँ सोच र नयाँ पुस्ताको उदय गराएर कांग्रेस पुनर्जागरण गरी निर्वाचनमा जानुपर्ने आशयका धारणा राखेका छन् । 

केन्द्रीय सदस्य आङ गेलु शेर्पाले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । उनले राष्ट्रिय मुद्दाहरूको स्पष्ट दिशानिर्देश नयाँ महाधिवेशनबाटै सम्भव भएको बताए । 

प्रा. डा. गोविन्दराज पोखरेलले नियमित महाधिवेशनलाई पार्टीको नैतिक पुनर्जागरणको माध्यमका रूपमा व्याख्या गरे । उनका अनुसार १४ औं महाधिवेशनको म्यान्डेट समाप्त भइसकेको र जेनजी आन्दोलनपछि नयाँ राजनीतिक परिस्थिति बनेकाले कांग्रेसले आफ्नो दृष्टि, नीति र नेतृत्व पुनर्संरचना गरेर निर्वाचनमा जानुपर्ने बताए ।

‘राजनीति र नैतिकताको उपयुक्त समन्वय खोज्ने अवसर अहिले कांग्रेसमा आएको छ,’ पोखरेलले भने, ‘महाधिवेशनले नै कांग्रेसलाई नयाँ युगमा प्रवेश गराउनेछ ।’

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले विधान अनुसार ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका कारण अब विशेष महाधिवेशन नगर्ने कुरा ‘इतिहासकै भद्दा मजाक’ हुने बताए । 

गत असोज २८ गते सुरु केन्द्रीय कार्यसमिति बैठक अझै जारी छ । बैठकमा महाधिवेशनका सन्दर्भमा दुई कार्यतालिका पेस भएका छन् । ती कार्यतालिकाका पक्ष र विपक्षमा नेताहरूले धारणा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप