मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘क्रियाशील सदस्यताकै कारण मङ्सिरमा महाधिवेशन सम्भव देखिँदैन’

आइतबार, १५ भदौ २०८२, ०९ : २३
आइतबार, १५ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद मंसिरमा सकिँदै छ, तर महाधिवेशन निर्धारित समयमा नहुने निश्चित छ।
  • महाधिवेशन नसकिनुको कारण देशको राजनीतिक परिस्थिति, विधानमा एक वर्ष थप्न मिल्ने व्यवस्था र क्रियाशील सदस्यताको प्रक्रिया लामो हुनु हो।
  • पार्टी विधान संशोधन र आन्तरिक लोकतन्त्रलाई सुधार्न बहस भइरहेको छ, तर ठोस कार्ययोजना बनिसकेको छैन।

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मङ्सिरमा सकिँदै छ । विधानमा भएको व्यवस्थाअनुसार मङ्सिरमा कांग्रेसको १५ औँ महाधिवेशन हुनुपर्ने हो । तर, अहिलेको तयारी हेर्दा मङ्सिरमा महाधिवेशन नहुने निश्चित भइसकेको छ । 

अहिलेमात्रै होइन, कांग्रेसका अहिलेसम्म भएका अधिकांश महाधिवेशन चार वर्षमा भएका छैनन् । के कारणले कांग्रेसका महाधिवेशन चार वर्षमा हुन सकिरहेका छैनन् भनेर मधसुधन भट्टराईले पूर्वउपसभापति विमलेन्द्र निधिसँग कुराकानी गरेका छन् । 

  • नेपाली कांग्रेस महाधिवेशन अहिलेसम्म एक पटकबाहेक नियमित कार्यकाल (४ वर्ष)मा भएको देखिएन । १५औँ महाधिवेशन पनि ४ वर्षमा नहुने निश्चितजस्तै छ । किन यस्तो भइरहन्छ ? 

–यसका धेरै कारण छन् । पहिलो, देशको राजनीतिक परिस्थिति हो । जुन वेला महाधिवेशन गर्नुपर्ने हो, त्यो वेलामा कहिले आन्दोलन, कहिले निर्वाचन परेको हुन्छ, अथवा कुनै दैवी प्रकोप भएको वेलामा पनि महाधिवेशन गर्ने समय परेको हुन्छ । एक पटक कोभिड–१९ को महामारीले महाधिवेशन हुन सकेको थिएन । 

दोस्रो, चार वर्षमा महाधिवेशन गर्नुपर्ने र त्यो समयमा हुन सकेन भने केन्द्रीय कार्यसमितिको बहुमतबाट एक वर्ष थप्न सकिन्छ भन्ने व्यवस्था छ । एक वर्ष थप्ने सुविधा विधानमै भएकाले थप्ने गरिएको देखिन्छ । 

देशको राजनीतिक अवस्था त्यस्तै छ । त्यसकारण बरु अलिकति सहज भएको अवस्था, साधारण वातावरण भएको, अनुकूल वातावरण भएको वेलामा गरौँ भन्ने चाहना सबैको हुन्छ । त्यसले पनि प्रभाव पार्छ । 

  • क्रियाशील सदस्यता टुङ्ग्याउन लामो समय लाग्ने भएकाले पनि नियमित महाधिवेशन हुन सक्दैन बन्ने कुरा आइरहन्छ नि ? 

–नेपाली कांग्रेसको एकैचोटि केन्द्रीय महाधिवेशन मात्रै हुँदैन । केन्द्रीय महाधिवेशन गर्नुअगाडि धेरै तहका अधिवेशनहरू गर्नुपर्ने हुन्छ । सबै तहका अधिवेशन गर्दा पहिला क्रियाशील सदस्यता टुङ्गो लाउनुपर्‍यो । क्रियाशील सदस्यमा विवाद हुन्छ । राजनीतिक प्रतिस्पर्धामा त्यो स्वाभाविक हो, त्यसकारण क्रियाशील सदस्यतालाई टुङ्ग्याउन समय लाग्छ । 

क्रियाशील सदस्यतामा मलाई दिएन, मेरो नवीकरण भएन भन्ने उजुरी पनि प्रशस्तै पर्छन् । ती उजुरीमाथि छानबिन पनि गर्नुपर्‍यो । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुङ्गो लगाउने प्रक्रिया निर्वाचन आयोगले जसरी मतदाता नामावली टुङ्गो लगाउँछ, त्यस्तै प्रक्रिया छ, जसकारण टुंगिन समय लाग्छ । 

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम टुङ्गो लागेपछि मात्रै सबैभन्दा तल्लो तह वडा समितिबाट कांग्रेसको अधिवेशन प्रारम्भ हुन्छ । त्यसपछि पालिका, त्यसपछि प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएपछि मात्रै जिल्ला अधिवेशन हुन्छ । जिल्लापछि प्रदेश अधिवेशन हुन्छ । त्यसपछि मात्रै केन्द्रीय महाधिवेशन हुने हो । 

  • विधानको व्यवस्था कार्यान्वयन नहुँदा पनि समस्या भइरहने गरेको हो ?

नेपाली कांग्रेसले विधानमा पार्टी महाधिवेशन हुने वर्षमा सदस्यता वितरण र नवीकरणको काम नगर्ने लेखेको छ । म त्यो हाम्रो कमजोरी हो भन्छु । भन्नुको अर्थ के भने अहिलेसम्म कहिल्यै पनि महाधिवेशन हुने बाहेकका वर्षमा सदस्यता वितरण भएको छैन । हुने वर्षमा मात्रै भइरहेको छ । यो वर्ष महाधिवेशन हुन्छ नै भन्ने भयो भने मात्रै क्रियाशील सदस्यता नवीकरण र वितरणको काम हुने गरेको छ । महाधिवेशनको टुङ्गो लागेपछि मात्रै क्रियाशील सदस्यताको काम सुरु गर्ने क्रियाकलापले महाधिवेशन सार्नु पर्ने अवस्था आइरहेको देखिन्छ । 

यी सबै कारण भनेका राजनीतिक हुन्, व्यक्तिगत हुन् । 

  • संविधानसभाबाट संविधान जारी गर्ने वेलामा त ५ वर्ष ६ महिनामा मात्रै महाधिवेशन भएको थियो नि होइन ? 

–हो । त्यसवेला हामीलाई पार्टीको महाधिवेशन पनि गर्नु थियो, संविधान जारी पनि गर्नु थियो । कसलाई प्राथमिकता दिने भन्ने छलफल भयो । हामीलाई लाग्यो पहिला संविधान जारी गरौँ । पार्टी महाधिवेशन भन्दा संविधान जारी गर्ने काम ठुलो हो । 

त्यो वेला नेपाली कांग्रेसकै महाधिवेशन प्रयोजनका लागि संविधान संशोधन पनि गरिएको हो । 

हामीले हाम्रो पार्टीको महाधिवेशनभन्दा संविधान जारी गर्ने विषय ठुलो हो, त्यसैले संविधान जारी गर्ने तिर लागौँ भन्यौ पछि उहाँहरूलाई संविधान जारी गर्ने काममा पार्टी पङ्ति क्रियाशील भएकाले महाधिवेशन गर्न सम्भव भएन भनेपछि सबै दलको सहमतिमा संविधान संशोधन गरेर अप्ठ्यारो परेको वेलामा ५ वर्ष ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने व्यवस्था राखियो । 

पार्टीको आफ्नै विधानअनुसार चार वर्षको अवधि थियो । केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष थप्न मिल्ने प्रावधान कानुनमा नै थियो । त्यसपछि हामीले संविधानमा कुनै दलले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भने छ महिना थप्ने र त्यो समयभित्र महाधिवेशन गर्नै पर्ने व्यवस्था राख्यौँ । त्यसकारण साढे पाँच वर्ष लगभगमा हामीले महाधिवेशन गरेका हौँ । 

  • महाधिवेशन गर्न लामो समय किन लाग्दै आएको छ, सुधार्न पनि त सकिन्छ होला नि ? 

–सुधार्न सकिन्छ । सुधार्नु पर्छ पनि ।

  • यो पटक पनि चार वर्ष बित्न लागिसक्यो महाधिवेशन हुने सम्भावना त देखिएन ? 

–अब चार वर्ष बित्दा ०८२ मङ्सिरमा महाधिवेशन गर्न सम्भव छैन । भर्खरै हामीले क्रियाशील सदस्यता नवीकरणका लागि म्याद थप्दै–थप्दै जाँदा केन्द्रीय समिति बैठकबाट असोज मसान्तसम्मको समय दिएका छौँ । यो नयाँ वितरणका लागि होइन, पुरानो नवीकरणका लागि मात्रै हो । नवीकरणको काम सकिएपछि मात्रै नयाँ वितरणको कार्य सुरु हुन्छ । 

६ हजार ७ सय ४३ वडामा रहेका पार्टीका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गर्ने काम सकिएपछि नयाँ वितरण गर्ने काम सुरु हुन्छ । अनि उजुरी आह्वान हुन्छ । उजुरीमाथि छानबिन सकिएपछि केन्द्रीय कार्यालयले नवीकरण गरेर र नयाँ सदस्यता पाएकाको नामावली सूचनामार्फत सार्वजनिक गर्छ । त्यो नामावली सम्बन्धित ठाउँमा पुगेपछि मात्रै सबैभन्दा तल्लो तह वडा अधिवेशन प्रारम्भ हुने हो । त्यसैले मंसिरभित्र महाधिवेशन गर्न सम्भव देखिन्न । 

  • मंसिरभित्र महाधिवेशन सम्पन्न नहुने भएपछि कसरी अगाडि बढ्ने योजना छ ? 

–२०८२ को मङ्सिरमा महाधिवेशन नहुने टुङ्गो लागिसकेपछि हामीले विधिसम्मत तरिकाले एक वर्ष वर्तमान कार्यसमितिको म्याद थप्नुपर्छ । त्यसका लागि अब कुनै वेला केन्द्रीय कार्यसमिति बैठक बोलाएर निर्णय गरी टुङ्ग्याउनुपर्छ । प्रक्रियागत रूपमा त्यसलाई सामान्य तरिकाले लिनुपर्छ । ०८३ मङ्सिरसम्म महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ भन्नेमा हामी लागिरहेका छौँ । 

  • यसअघि त केही न केही बाधा परेर महाधिवेशनहरू सारिएका थिए । अहिले त त्यस्तो खासै केही थिएन, त्यै पनि सारियो । किन ? 

–यसपालि क्रियाशील सदस्यता समयमा नटुङ्गिएकाले महाधिवेशन सार्नुपर्ने अवस्था आएको हो । यसलाई सुधार गर्नुपर्नेछ । लामो र झन्झटिलो प्रक्रिया छ । 

  • यसलाई सुधारेर समयमै महाधिवेशन गर्न के गर्नुपर्ला ? 

–यसबारे दुई तीन विषयमा बहस भइरहेका छन् । पहिलो आन्तरिक लोकतान्त्रीकरणको बहस । पार्टीमा हामीले अहिले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरू अधिकांश निर्वाचनबाट आउने व्यवस्था गरेका छौँ । त्यसो गर्न त समय लाग्छ । यो लोकतान्त्रिक पद्धति हो । लोकतान्त्रिक पद्धतिले धेरै समय लिन्छ । लोकतान्त्रिक पद्धतिमा निर्वाचनलाई सबैभन्दा महत्त्वपूर्ण उपकरण मानिन्छ । निर्वाचनको प्रक्रिया अवलम्बन नगर्दा लोकतान्त्रिक प्रक्रिया मानिँदैन ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसमा हामी गर्व पनि गर्छौँ । लोकतान्त्रिक पार्टीको रूपमा राख्न चाहन्छौँ । कांग्रेसमा आन्तरिक लोकतन्त्र पनि अत्यन्त बलियो र पारदर्शी छ । तर यसले केही जटिलता उत्पन्न गरेको छ । त्यो हामीले अनुभव गरिरहेका छौँ । यस तरिकाले अगाडि बढ्दा शक्ति केन्द्रहरू धेरै भएका छन् । शक्ति केन्द्र धेरै भइसकेपछि निर्णय प्रक्रिया, नीतिगत निर्णय गर्ने प्रक्रिया केही जटिल बनेका छन् । त्यसकारण यसलाई सुधार्नु पर्छ ।

दोस्रो, विश्वेश्वरप्रसाद कोइरालाको समयमा रहेको ‘प्रेसिडेन्सियल सिस्टम’मा जानुपर्‍यो । जसलाई कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले अवलम्बन गर्नुभएको थियो । त्यो वेला सभापति वा अध्यक्षको चुनाव हुन्थ्यो, बाँकी नेतृत्वले मनोनयन गर्थ्यो । कि त्यो प्रक्रियामा फर्कनुपर्‍यो । 

अर्को विकल्प, विधानमा भएको क्रियाशील सदस्यको टुङ्गो लगाउने विधि अवलम्बन गर्नुपर्‍यो । प्रत्येक वर्ष क्रियाशील सदस्य यति हो भन्ने कुरा टुङ्गो लाग्न सक्ने प्रविधिको विकास गर्नु पर्‍यो । र पार्टी विधानमा संशोधन गरी विषय राख्नुपर्छ भन्ने छलफल चलिरहेको छ । 

  • १५ औँ महाधिवेशनमा पार्टी विधान संशोधन गर्ने तयारी पनि हो ? 

तयारी नै भइसकेको त छैन । तर सोच विचार भने नेताहरूले गरिरहनु भएको छ । तयारीको लागि ठोस कुनै कार्ययोजना बनिसकेको छैन । छलफल र बहस भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप