झलनाथ खनाललाई प्रश्न : विरोध गर्दागर्दै अन्तिममा कसरी एकताको पक्षमा पुग्नुभयो ?
सारांश
- झलनाथ खनाल, पहिला एकताको विपक्षमा रहेर पनि, प्रचण्ड-माधवसहितको एकतामा सामेल भए।
- खनालले एमाले अध्यक्ष ओलीसँगको कुराकानी नमिलेपछि १० दलको एकता घोषणा सभामा भाग लिए।
- प्रचण्डसँगको छलफलपछि, खनाल नेपाली विशेषताको समाजवाद स्थापना गर्न एकतामा आए।
काठमाडौँ । पहिला एकताको विपक्षमा उभिएका झलनाथ खनाल एकाएक प्रचण्ड-माधवसहितको एकतामा सहभागी बने । पार्टी एकताबारे खनालको यूटर्नलाई धेरैले चासोका साथ हेरेका छन् । जबकि कात्तिक १८ गते रातिसम्म खनाल एमालेमा जाने चर्चा थियो । उक्त दिन खनाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थिए ।
तर ओलीसँग कुरा नमिलेपछि कात्तिक १९ गते तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दल मिलेर बन्ने नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा सहभागी भए । पहिले चर्कै विरोधमा रहेका खनाल किन एकीकृत पार्टीमा सहभागी भए त ? रातोपाटीले खनाललाई सोधेको छ ।
- माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गर्ने सवालमा सुरुमा तपाईं विपक्षमा उभिनुभएको थियो । तर अचानक एमाले अध्यक्ष ओलीलाई भेट्न जानुभयो र भोलिपल्ट नै पार्टी एकतामा सामेल हुनुभयो । यसको कुनै रहस्य छ कि ?
म धेरै लामो समयदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरौँ, सबै समूहहरूका बिचमा निकटता स्थापित गरौँ, साझा आधारमा अगाडि बढौँ र अहिलेको अवस्थामा चारवटा आधारभूत सिद्धान्तमा एकताबद्ध भएर एकीकृत पार्टी निर्माण गरौँ अथवा साझा वामपन्थी मोर्चा निर्माण गर्ने दिशातर्फ अगाडि बढौँ भन्दै आएको थिएँ ।
तर यो बिचमा मेरो म्याडम (श्रीमती)को उपचारको सिलसिलामा नयाँ दिल्लीतिर रहेँ । त्योभन्दा ठिक अगाडि हाम्रो पार्टी तत्कालीन नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । त्यो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न ढङ्गले एकताका निम्ति वार्ता भइरहेको जानकारी दिनुभयो । यस सन्दर्भमा हामीले सोधेको प्रश्नमा उहाँले अहिले हामीले पार्टी एकीकरणको कुरा होइन, हामी कार्यगत एकताको कुराहरू गरिरहेका छौँ’ भन्ने जवाफ दिएकाले यो एकता यति चाँडै र यसरी हुन्छ भन्ने जानकारी थिएन ।
- तर एकीकृत समाजवादीको पछिल्लो बैठकमा तपाईं एमालेसँगको विद्रोह औचित्य पुष्टि नभई एकता गर्नुहुन्न भन्ने पक्षमा उभिनुभएको थियो नि ?
हामीले चार वर्ष अगाडि एमालेसँग विद्रोह नेकपा एकीकृत समाजवादी निर्माण गरेका थियौँ, यो पार्टीको अहिलेसम्मको यात्राको पहिले समीक्षा गरौँ । त्यो समीक्षा गरेर दूधको दूध, पानीको पानी छुट्ट्याउने काम गरौँ । त्यसो गरेपछि पार्टी अलि हल्का पनि हुन्छ, पार्टीभित्रका कतिपय वैचारिक, सङ्गठनात्मक विकार, विकृतिबाट यसलाई मुक्त गर्न सकिन्छ । त्यसरी हल्का भएपछि मात्र सही दृष्टिकोण लिएर उभिएको पार्टीले अरूसँग एकता, एकीकरणको कुराहरू गर्दा बढी प्रभावकारी हुन्छ भन्ने मेरो धारणा रहँदै थियो । त्यही आधारमा म अगाडि बढ्दै आएँ ।
मैले केपी ओलीलाई धन्यवाद दिनुपर्ने थियो । किनभने अहिले यो सङ्कटको अवस्थामा उहाँले मलाई केही मद्दत गर्नुभएको थियो, म्याडमको उपचारको सिलसिलामा ।
यही बिचमा ‘पार्टी एकीकरण हुने भयो’ भन्ने ढङ्गले केन्द्रीय कमिटीको तेस्रो बैठक बोलाइयो । त्यो बैठकलाई मैले छोड्न सकिनँ । मैले सिकिस्तै अवस्थामा रहेकी मेरी जीवनसङ्गिनीलाई दिल्लीमा छोडेर बैठकका लागि भनेर यहाँ आएँ । यहाँ आउँदाखेरि सबै तामझाम र तयारी एकीकरणको बिन्दुमा पुगिसकेको देखेँ । तर पनि मैले आफ्ना कुराहरू राखेँ । त्यो राखिसकेपछि मैले एकपटक सबै साथीहरूसँग कुराकानी गरौँ भनेर माधव नेपालको नेतृत्वप्रति असहमत भएका साथीहरूसँग पनि अलग्गै कुराकानी गरेँ । उहाँहरूसँग कुराकानी गर्दा उहाँहरूका धारणाहरूमा अलि गैर मार्क्सवादी चिन्तनहरू रहेको, गुटवादका चिन्तनहरू रहेको जस्ता कुराहरू पाएँ र त्यो चिन्तनबाट नयाँ पार्टी निर्माण हुने मैले देखिनँ । त्यसैले म नेपाली कम्युनिस्ट पार्टी एकतामा सामेल भएँ ।
- तर तपाईं एकतामा सहभागी हुनु अघिल्लो राति १२ बजेसम्म एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न गुण्डु पुग्नुभएको थियो नि ?
मैले केपी ओलीलाई धन्यवाद दिनुपर्ने थियो । किनभने अहिले यो सङ्कटको अवस्थामा उहाँले मलाई केही मद्दत गर्नुभएको थियो, म्याडमको उपचारको सिलसिलामा । त्यसले गर्दा कात्तिक १८ गते राति म उहाँको निवास पुगेको हुँ ।
- धन्यवाद दिनबाहेक ओलीसँग अरू राजनीतिक छलफल भएन ?
त्यस क्रममा केही राजनीतिक कुराहरू भए । उहाँले अहिलेको अवस्थामा चारवटा सिद्धान्तको बारेमा सकारात्मक कुरा गर्नुभएन । ‘सुखी नेपाली, समृद्ध नेपाल भए पुग्छ’ भन्ने उहाँको ओलीको धारणा रहेछ । अनि कम्युनिस्ट एकता र वामपन्थी एकताको सन्दर्भमा उहाँले ‘म कुनै कम्युनिस्ट नै देख्दिनँ, कुनै वामपन्थी नै देख्दिनँ, यस्तो बेलामा केको वाम एकता, केको कम्युनिस्ट एकता’ भन्ने कुरा गर्नुभयो ।
उहाँको त्यो जवाफ आएपछि उतातिर (एमालेसँग)को एकताको कुरा कम्प्लिट बन्द भएको देखेँ, वैचारिक रूपले त यसै बन्द भो, सङ्गठनात्मक रूपले पनि बन्द भएको देखेपछि अनि उहाँलाई मैले धन्यवाद दिएर फर्किएँ ।
अनि पार्टीमा आउन चाहने कतिपय साथीभाइहरूको चर्चा पनि चलिरहेको छ । त्यस्तो भयो भने तपाईं कसरी एकीकरण गर्नुहुन्छ भन्ने कुरा गर्दा ‘अब नीति र नेतृत्व मानेर कोही पनि आउँछ भने व्यक्तिगत रूपले एकता गर्ने हो, स्वागत गर्ने हो । समूहगत रूपले चाहिँ इन्टरटेन गर्दिनँ’ भन्ने कुरा गरेपछि उहाँसँगको त्यो सामान्यतः पार्टी सङ्गठनको एकताको कुरा कम्प्लिट्ली बन्द भयो ।
- तपाईंले अध्यक्ष ओलीलाई तत्कालीन एकीकृत समाजवादीको एउटा समूह नै आउने अवस्था आयो भने के गर्नुहुन्छ भनेर सोध्नुभयो ?
हो । त्यसरी सोध्दा उहाँको त्यो जवाफ आएपछि उतातिर (एमालेसँग)को एकताको कुरा कम्प्लिट बन्द भएको देखेँ, वैचारिक रूपले त यसै बन्द भो, सङ्गठनात्मक रूपले पनि बन्द भएको देखेपछि अनि उहाँलाई मैले धन्यवाद दिएर फर्किएँ ।
- त्यसपछि प्रचण्डसँग संवादमा जानुभयो ?
त्यसपछि अब एकताको एउटा सम्भावना नेकपा माओवादी केन्द्रसँग थियो । त्यही सिलसिलामा कमरेड प्रचण्डको फोन आयो, कमरेड नारायणकाजीको फोन आयो, कमरेड वर्षमानको फोन आयो, कमरेड देव गुरुङको फोन आयो । यी सबै साथीहरूको कुरा मैले सुन्दै गएँ, अरू विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय कुराहरू पनि गर्दै गएपछि, ठिक छ अब अहिलेको अवस्थामा वैचारिक रूपले चाहिँ हामी जब मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छौँ, अहिलेको क्रान्ति समाजवादी क्रान्ति हो भन्ने कुरालाई मान्छौँ, कार्यक्रम नेपाली विशेषताको समाजवाद हो भन्ने कुरा मान्छौँ र त्यो प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अगाडि बढ्छौँ भन्ने हो भने एकताको एउटा आधारभूत कुरा हुनसक्छ भन्नेमा म पुगेँ ।
अब ऐतिहासिक रूपले नै फेल खाइसकेको नेतृत्वलाई निरन्तर जारी राखेर अब पनि ठुला–ठुला प्रगतिहरू हुन्छन् भन्ने कुरामा मलाई विश्वास छैन ।
यद्यपि कतिपय कुरामा रिजर्भेसन भए पनि हामी यो आधारमा एकताबद्ध भएर जाऔँ भन्ने निर्णय गरेर म त्यो एकताको घोषणा गर्ने सभामा गएको हुँ ।
- एकीकृत समाजवादीमा हुँदा तपाईंले एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्नुपर्ने र अध्यक्ष माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लागेकाले नेतृत्व छाड्नुपर्ने अडान राख्नुभएको थियो । तर एकीकृत पार्टीमा फेरि उहाँलाई नै नेता मान्न तयार हुनुभयो । यसरी पार्टी पुनर्गठन, गठन अनि रूपान्तरणको नाउँमा फेरि उनी पुरानै नेतालाई नेता बनाउने कुराले जेनजी पुस्ताले गरेको आन्दोलनको भावना समेटिन्छ ?
त्यो हुन सक्दैन । अहिले समग्र देशको स्थिति, कम्युनिस्ट आन्दोलनको स्थिति, युवाहरूको भावनाहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति यी सबै कुरा ध्यानमा राख्दा र यो संविधान निर्माण गरेदेखि यहाँसम्मको यात्राका अनुभवहरूलाई समेत ध्यान दिँदा हाम्रो देशमा आन्तरिक रूपले यो बिचमा सत्तामा बसेर काम गरिरहेका पार्टीका नेतृत्वहरू सबै फेल खाएका छन् । त्यसकारणले अब ऐतिहासिक रूपले नै फेल खाइसकेको नेतृत्वलाई निरन्तर जारी राखेर अब पनि ठुला–ठुला प्रगतिहरू हुन्छन् भन्ने कुरामा मलाई विश्वास छैन ।
अब क्रमशः अब पार्टीको महाधिवेशन हुन्छ अथवा सम्मेलन हुन्छ, त्यो सम्मेलनबाट नेतृत्व रूपान्तरण गर्ने कुराहरू गरौँला, गर्न सकिन्छ नि भन्ने कुराहरू गर्नुभएको थियो ।
यसबारे प्रचण्डसँग मैले लामो कुराकानी पनि गरेको छु । उहाँले अब नेतृत्व, नेता आदि पनि क्रमशः रूपान्तरित हुँदै जाने कुरा गर्नुभयो । यो नेतृत्व परिवर्तन हुन्छ, तर हामी मिलेर काम गरौँ । आन्दोलनलाई अहिले एकताबद्ध गरौँ र नेतृत्वको रूपान्तरण गर्ने कुराहरूमा मेरो कुनै रिजर्भेसन छैन भन्ने कुरा गरेपछि यो खालको एउटा लचिलोपन देखाएर भविष्यमा पनि त्यो ढङ्गले अगाडि बढ्ने कुरामा तयार हुनुहुन्छ भने त्यसमा समझदारी राखेर जान सकिन्छ भन्ने ठाउँमा म पुगेँ ।
- प्रचण्डसँगको छलफलमा उहाँले नेतृत्व छाड्ने सवालमा कहिले र कसरी छाड्न तयार भएको बताउनुभयो ?
उहाँले केही ठोस कुराहरू राख्नुभएको छ । जुन कुरा एकता घोषणाका क्रममा आफ्नो सम्बोधनको अन्तिममा पनि सङ्केत गर्नुभएको छ ।
- के थियो त्यो ?
अब क्रमशः अब पार्टीको महाधिवेशन हुन्छ अथवा सम्मेलन हुन्छ, त्यो सम्मेलनबाट नेतृत्व रूपान्तरण गर्ने कुराहरू गरौँला, गर्न सकिन्छ नि भन्ने कुराहरू गर्नुभएको थियो ।
- भनेपछि प्रचण्ड महाधिवेशनबाट नेतृत्व छोड्न तयार हुनुहुन्छ भन्नेमा तपाईं विश्वस्त हो ?
मलाई सबैभन्दा ठुलो आकर्षणको विषय नेपाली विशेषताको समाजवाद स्थापना गर्ने, मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, अहिले हामी समाजवादी क्रान्तिको चरणमा छौँ भन्ने कुराहरू स्वीकार गर्ने र क्रान्तिकारी कार्यदिशा निर्माण गरेर यो लक्ष्यतर्फ अगाडि बढ्ने बन्यो । यी चारवटा कुराहरू नै मेरो निम्ति सबैभन्दा आकर्षणका विषय रहे र त्यो कुरालाई छोड्न नसकेर म अहिले यहाँ एकतामा आएँ ।
यो भद्रगोल शब्द त रमाइलो छ, तर यो अभद्रगोल हो । यसलाई हामीले एउटा सभ्य र एकताबद्ध गोलमा रूपान्तरण गर्नुपर्ने छ ।
- १० वटा पार्टी जोड्नुभएको छ, भद्रगोल देखिन्छ । यस्तो भद्रगोल पार्टीले तपाईंले भनेका चारवटा कुरा गर्न सक्ला त ?
यो भद्रगोलको अवस्था अलि अगाडिदेखि नै सिर्जना भएको छ । जतिबेला हामी नेकपा गठन गर्ने अवस्थासम्म पुगेका थियौँ, त्यतिबेला पुग्दा हामीसँग संसद्मा पनि दुई तिहाइ बहुमत, पार्टीमा १० लाख सदस्य, अनि तलका निकायहरूमा पनि हामीसँग ६० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरूको उपस्थिति रहेको अवस्थासम्म हामी आइपुगेका थियौँ । त्यसपछि अब हाम्रो कार्यदिशा, नीति र सिद्धान्तमा अनि व्यवहारमा रहेका केही त्रुटिहरूको कारणले, गल्तीहरूको कारणले फेरि कम्युनिस्ट आन्दोलन विखण्डन, विशृङ्खलतातिर गयो र यो भद्रगोलको अवस्था सिर्जना भयो ।
यो भद्रगोल शब्द त रमाइलो छ, तर यो अभद्रगोल हो । यसलाई हामीले एउटा सभ्य र एकताबद्ध गोलमा रूपान्तरण गर्नुपर्ने छ । यो सजिलो कुरा होइन र यो खाली टाउको जोरेर एकताबद्ध भएर मात्रै यो एकीकृत हुन सक्ने कुरा पनि होइन ।
हामीले वैचारिक, राजनीतिक कार्यदिशाका आधारमा, क्रान्तिकारी नीतिको आधारमा, क्रान्तिकारी सिद्धान्तको आधारमा र सही कार्यशैली र कार्यपद्धतिको आधारमा मात्रै एकता गर्न सक्छौँ । यो सवालमा हामीले धेरै गृहकार्य समेत गर्न बाँकी छ । त्यो कार्यमा हामीले धेरै निर्णय गर्न पनि बाँकी छ । फगत अहिले एक ठाउँमा आएर एउटा एकताको उद्घोष गर्ने बिन्दु मात्रै हो । त्यसकारण अब हामीले मार्क्सवाद–लेनिनवादलाई नेपाली समाजवादी क्रान्तिको ठोस व्यवहारमा गाँस्ने कार्यदिशा, नीति, सिद्धान्तहरूको विकास गर्दै जानुपर्ने हुन्छ । त्यो विकास गर्ने क्रममा मात्रै कम्युनिस्ट आन्दोलन एकताबद्ध, सुदृढ हुन्छ र यो गतिशील बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण