शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

डोल्पा भ्रमणपछि मुख्यमन्त्री कँडेलले भने, ‘भौगोलिक कठिनाइका बाबजुद क्रमशः समृद्धितर्फ ’

तीन दिन पैदल यात्रा गर्दै समस्यासँग साक्षात्कार
सोमबार, २४ कात्तिक २०८२, ०९ : ००
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • मुख्यमन्त्री यामलाल कँडेलले डोल्पाको ६ दिने भ्रमण सकेर सुर्खेत फर्केका छन्, जसमा उनले पुल उद्घाटन र योजना शिलान्यास गरे।
  • उनले फोक्सुण्डो तालको अवलोकन गरे र स्थानीयसँग छलफल गर्दै पर्यटकीय पदमार्गको विकास र सञ्चार सुविधाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
  • कँडेलले रिङ्गबो बस्ती विकास कार्यक्रमको शिलान्यास गरे र डोल्पालाई समृद्ध बनाउन सबैलाई हातेमालो गर्न आह्वान गरे, जसको लगानी २१ करोड बढी रहेको छ।
00:00 / NaN:NaN
Audio By AI

‎‎सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल करिब छ दिनको डोल्पा भ्रमण सकेर आइतबार सुर्खेत फर्किएका छन् । यसबिचमा उनले एउटा योजनाको शिलान्यास गरे भने एउटाको उदघाटन गरे ।

उनले दुर्गम डोल्पावासीका कुरा सुन्नका साथै फोक्सुण्डो तालको अवलोकनसमेत गरे ।

मुख्यमन्त्री ‎‎कँडेल कात्तिक १८ गते डोल्पा सदरमुकाम दुनै पुगेका थिए । उनको साथमा कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा पनि थिए ।

‎स्थलमार्गबाट भेरी करिडोर अन्तर्गत जाजरकोटको रिम्ना, तल्लुबगर, त्रिपुरासुन्दरी हुँदै डोल्पाको सदरमुकाम दुनै पुगेका मुख्यमन्त्री कँडेलले कात्तिक १९ गते सदरमुकाम दुनैको भेरी नदीमाथि निर्माण भएको कालिका मन्दिरबाट जिल्ला अस्पताल जोड्ने ४८ मिटर लामो बेलिब्रिज पुल उदघाटन गरे । ‎कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत् विनियोजित बजेटबाट उक्त बेलिब्रिज बनेको हो । पुलको लागत ४ करोड १७ लाख रुपैयाँ छ ।

त्यस क्रममा मुख्यमन्त्री कँडेलले सकारात्मक सोच र सामूहिक प्रयासले विकास गर्न सकिने बताए । बजेट पारेरमात्र विकास नहुने भन्दै उनले आ–आफ्नो तर्फबाट सबै लाग्नुपर्नेमा जोड दिए । डोल्पाको विकासका लागि प्रदेश सरकार सधैँ तयार रहेको उनको भनाइ थियो ।

yamalal dolpa (1)

‎सदरमुकामका कार्यक्रम सकेर मुख्यमन्त्री कँडेल सोही दिन पैदल यात्रामा फोक्सुण्डोतर्फ लागे । राति शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्का भन्ने ठाउँमा उनी बास बसे ।

‎२० गते फोक्सुण्डो ताल पुगेका उनी दिनभर त्यहाँका स्थानीयसँग छलफलमा व्यस्त रहे । स्थानीयले विभिन्न विषय समेटेर उनलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

‎स्थानीयलाई मुख्यमन्त्री कँडेलले त्यहाँको विकासबारे प्रदेश सरकार अग्रसर हुने आश्वासन दिए । फोक्सुण्डो कर्णाली प्रदेशकै एउटा पर्यटकीय गन्तव्य हो, जहाँ पर्यटक संख्या बढाउने सम्भावना खोज्दै उनले पर्यटकीय पदमार्गको अवलोकनसमेत गरे ।

सहज तरिकाले पदमार्ग निर्माण गर्ने, व्यवस्थापन गर्ने, होटल व्यवसायीहरूलाई अझै व्यवस्थित गरी आर्थिक गतिविधि चलायमान बनाउन मुख्यमन्त्री कँडेलले जोड दिए । ‎उनले भने, ‘डोल्पा दुर्गम छैन ।’

yamalal dolpa (3)

‎मुख्यमन्त्री कँडेलका अनुसार कर्णाली राजमार्गबाट हुँदै रारा पुग्न कठिन भए पनि भेरी करिडोरको बाटोबाट फोक्सुण्डो पुग्न त्यति कठिन छैन । ‎अहिलेको ट्रेकिङ रुटलाई बरु व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए । ‎पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको जिल्ला डोल्पालाई तीनै तहको सरकारले एक साथ अझै व्यवस्थित बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।

‎प्रदेश सरकार बनेपछि पहिलो पटक दुनैबाट पैदल हिँडेर फोक्सुण्डो पुग्ने कँडेल पहिलो मुख्यमन्त्री हुन् । ‎महेन्द्र शाही मुख्यमन्त्री भएका बेला हेलिकप्टरमा गएर तीन घण्टामात्र बसेर फर्किएका थिए ।

‎कँडेलले पैदल यात्राका क्रममा घोडा पनि प्रयोग गरेनन् । उनले भने, ‘पैदल मार्गमा जाँदैगर्दा तालसम्म के–के कुराको आवश्यकता छ, के कुराको कमी छ ? के कुराचाहिँ प्रदेश सरकारले व्यवस्थापन गर्न सक्छ ? आफ्नै आँखाले देखेपछि बल्ल अनुभूति हुन्छ ।’

yamalal dolpa (4)

‎मुख्यमन्त्री कँडेलका अनुसार पैदल यात्राका क्रममा बाटोमा स्थानीयले सञ्चार सुविधा नभएको गुनासो गरे । ‎पर्यटकहरू पनि सञ्चारविहीन हुँदा समस्यामा पर्ने गरेको गुनासो कँडेलले सुने । जबाफमा उनले तत्कालै टेलिकमसँग समन्वय गरेर समस्या समाधानमा जोड दिने प्रतिबद्धता जनाए ।

‎२१ गते शुक्रबार बिहान साढे नौ बजे उनले रिङ्गबो बस्ती विकास कार्यक्रमको शिलान्यास गरे । ‎फोक्सुण्डो ताल र त्यस नजिकै रहेको यो प्राचीन बस्ती प्रवद्र्धन गर्न प्रदेश सरकारले ‘रिङ्गबो वस्ती विकास कार्यक्रम’ सुरु गरेको हो ।

‎यो महत्त्वाकांक्षी परियोजना अन्तर्गत डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित रिङ्गबो बस्तीलाई केन्द्र र प्रदेश सरकारको सहयोगमा विकास गरिनेछ । यस कार्यक्रमको मुख्य उद्देश्य रिङ्गबो बस्तीलाई बौद्ध कला, संस्कृति, प्राकृतिक तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नु हो ।

‎कार्यक्रम अन्तर्गत, साङ्टादेखि फोक्सुण्डोसम्मको पदमार्गको स्तरोन्नति, दुनैदेखि ट्रेकिङ रुटसम्म प्रत्येक दुई किलोमिटरमा १६ वटा प्रतीक्षालय निर्माण, रिङ्गबो बस्तीको भित्री सडक विस्तार, ढल निकासको व्यवस्था, दुई वटा विद्यालयको पूर्वाधार निर्माण, दुई वटा ट्रस पुल, गुम्बामा खानेपानीको व्यवस्था, फोक्सुण्डो ताल स्पष्ट देखिने भ्यु प्वाइन्टसम्म पदमार्ग र प्रतीक्षालय निर्माण, रिङ्गबो बस्तीमा सङ्ग्रहालय र पार्क निर्माण तथा बस्तीको जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण जस्ता कार्य सम्पन्न गरिनेछन् ।

‎मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश सरकारको २१ करोड १२ लाखको लगानीमा सञ्चालन हुने यो योजना २०८४ साल असारसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ । ‘यसले फोक्सुण्डोको प्रवर्द्धनमा थप सहयोग पुग्नेछ,’ उनले भने ।

yamalal dolpa (2)

‎त्यसपश्चात् कँडेल फर्केर छेप्का बास बसे । शनिबार बिहान दुनै आएका उनी विभिन्न कार्यक्रममा सहभागी भए ।

जिल्लास्थित कार्यालय प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया र जिल्लास्थित प्रमुख राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा अन्तरसंवाद तथा सदरमुकाममा रहेको सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा शिक्षण सिकाइमा भइरहेको प्रगतिबारे उनले जानकारी लिए ।‎

‎शनिबार दुनैमा बास बसेका कँडेल आइतबार बिहान त्रिपुरसुन्दरीको मन्दिर दर्शन गरेर सुर्खेत फर्किए । ‎उनले डोल्पा भ्रमणको निष्कर्ष निकाल्दै भने– ‘भौगोलिक कठिनाइका बाबजुद पनि डोल्पा क्रमशः समृद्धितर्फको यात्रामा अघि बढ्दैछ । सबैले हातेमालो गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप