भारतीय सीमा क्षेत्रबाट हुँडार पसेको भन्दै रंगेलीमा त्रास, सतर्क रहन आग्रह
सारांश
- मोरङको रंगेलीमा भारतबाट ब्वाँसो (हुँडार) आएको हल्लाले स्थानीयमा त्रास फैलिएको छ।
- डिभिजन वन कार्यालय मोरङले अहिलेसम्म हुँडार नभेटिएको जनाएको छ, तर सतर्कता अपनाउन आग्रह गरेको छ।
- स्थानीयका अनुसार, हुँडारले अहिलेसम्म क्षति नगरे पनि बालबालिकालाई एक्लै छाड्न नहुने सुझाव छ।
विराटनगर । दुई दिनदेखि मोरङको रंगेलीमा भारतबाट हुँडार (ब्वाँसो) देखिएको हल्ला चलेपछि त्यस क्षेत्रमा आतङ्क फैलिएको छ । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले भारतबाट हुँडार पसेको भन्ने सर्वसाधारणबाट जानकारी आएको बताए ।
‘भारतबाट हुँडार आएको भनेर सर्वसाधारणले जानकारी गराएका छन् । कति आएको छ भन्ने विषयमा अपुष्ट कुरा आएको हो । हामीले सूचना जारी गरेर सतर्क रहन सर्वसाधारणलाई भनेका छौँ,’ अग्रवालले भने ।
त्यहाँ हुँडारले मानिसलाई घाइते बनाएको हल्ला छ, तर त्यो नेपालमा नभइ भारतमा भएको घटना हुनसक्ने अग्रवालले बताए । डिभिजन वन कार्यालय मोरङले भने अहिलेसम्म हुँडार नभेटिएको जनाएको छ । ‘हामीले हुँडारले घाइते बनाएको मानिस पनि भेटेका छैनौँ, हुँडार पनि भेटिएको छैन,’ वन कार्यालयका प्रमुख उत्सव थापाले भने, ‘हामीले रंगेली सवडिभिजन वन कार्यालय, उर्लाबारीस्थित मंगलबारेको वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षसँग पनि सम्पर्क गरिरहेका छौँ ।’
स्थानीय पालिका र वडासँग समन्वय गरेर सतर्कता अपनाउन लगाइएको थापाले बताए । ‘अहिलेसम्म हुँडार भेटिएको छैन, तर भेटिएन भनेर आनन्दले बस्ने कुरा भएन । हामीले सतर्कता अपनाउन भनेका छौँ,’ उनले भने, ‘हुँडार मांसाहारी र खतरनाक जीव भएकाले सतर्क रहनुपर्ने देखिन्छ ।’
नेपालको पश्चिम क्षेत्रमा हुँडार देखिए पनि पूर्वमा हालसम्म देखिएको थिएन । नेपालमा हुँडार लोपोन्मुख जनावरको सूचीमा छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले आफूहरूले त्यसबारे जानकारी नपाएको बताइन् । ‘हामीलाई यसबारे कुनै आधिकारिक रिपोर्ट आएको छैन,’ उनले भनिन्, ‘यसबारे म बुझेर जानकारी दिन्छु ।’
रंगेली नगरपालिकाका प्रमुख अग्रवालको सचिवालय सदस्य करण ठाकुरले भने रंगेलीको आँपगाछी क्षेत्रमा आइतबारदेखि हुँडार देखिएको दाबी गरे । ‘यो हुँडार केही दिनअघि बडङ्गा क्षेत्रमा देखिएको र त्यहाँबाट सर्दै रंगेलीतिर आएको अनुमान गरिएको छ,’ उनले भने, ‘हुँडार खतरनाक जीव भएकाले मानिसहरू डराउनु स्वाभाविक हो । यसको समाधान खोज्नुपर्ने देखिन्छ ।’
अहिलेसम्म हुँडारले कुनै क्षति नगरेको पनि उनले बताए । ‘स्थानीय बासिन्दाहरू सूचना पाएपछि सतर्क भएका छन् र विशेषगरी केटाकेटीहरूलाई साँझ र दिउँसोको समयमा एक्लै छाडिएको छैन,’ उनले भने ।
हुँडारले भेटेमा विशेषगरी केटाकेटीलाई आक्रमण गर्न सक्ने र त्यो उसको स्वभाव नै भएकाले आतङ्क मच्चिएको हो ।
उता, सामाजिक सञ्जाल फेसबुकमा भने सडकमा हुँडारको बथानको फोटो शेयर गर्नेहरू बढ्दै गएका छन् । रंगेली– ५ का वडाध्यक्ष महान्द मण्डलले शनिबार राति हुँडारको हुल देखिएको दाबी गरे । वन कार्यालयले भने सामाजिक सञ्जालमा राखिएको फोटो नेपालको नभएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण