बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जापानका तीन सहरमा गुन्जिँदै नेपथ्य

सोमबार, २४ कात्तिक २०८२, १२ : ५८
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • नेपाली ब्यान्ड नेपथ्यले जापानका तीन सहरमा कन्सर्ट गर्ने भएको छ, जसमा नागोयाबाट यात्रा सुरु हुनेछ।
  • टोकियो डोम सिटी हलमा नेपथ्य दोस्रो पटक प्रस्तुत हुँदैछ भने ओसाकामा पनि कन्सर्ट हुनेछ।
  • कन्सर्टको संयोजन भिजोनिया समूहले गरेको छ, र टिकट बिक्री तीव्र गतिमा भइरहेको छ।

टोकियो । नेपाली लोकरक ब्यान्ड नेपथ्यले जापानका तीन प्रमुख सहर नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। दुई वर्षपछि ब्यान्ड जापानमा प्रस्तुत हुन लागेको हो।

जापानमा नेपथ्यको यो यात्रा नोभेम्बर १३ बिहीबार नागोया सहरको 'नागोया लाइभ्स' सभागृहबाट सुरु हुनेछ। नागोयामा नेपथ्यको यो पहिलो प्रस्तुति हो। पाँच दिनपछि नोभेम्बर १८ मङ्गलबार ब्यान्ड राजधानी टोकियोको प्रसिद्ध 'टोकियो डोम सिटी हल' मा प्रस्तुत हुनेछ। यो अन्तर्राष्ट्रिय पहिचान बनाएको हलमा नेपथ्य दोस्रो पटक उभिन लागेको हो।

टोकियोको कन्सर्टपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ। कन्सर्टका लागि ओसाकाको 'जेप ओसाका बे साइड' चयन गरिएको छ। नेपथ्यको जापान यात्रालाई यसपटक 'भिजोनिया' समूहले संयोजन गरेको छ, जसका प्रमुख सुभाष लामिछानेका अनुसार टिकट बिक्री तीव्र गतिमा भइरहेको छ।

ब्यान्डका अगुवा तथा मुख्य गायक अमृत गुरुङले तीन दशक लामो साङ्गीतिक यात्रामा नेपथ्यले जापानसँग धेरै सम्झनाहरू बोकेको र विगतमा ब्यान्ड टुक्रिएको तीतो अनुभव पनि यहीँको रहेको सुनाएका छन्। अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामासहित अन्य पाँच कलाकारले सघाउनेछन्। नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार व्यवस्थापन र प्राविधिक फाँटका आठ सदस्यसहित १४ जनाको टोली जापान पुग्दैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप