बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला उद्घाटन सम्पन्न

मङ्गलबार, २५ कात्तिक २०८२, ०० : २९
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • भक्तपुर क्यान्सर अस्पतालले ३१औँ वार्षिकोत्सव मनायो र नवनिर्मित प्रयोगशालाको उद्घाटन गर्‍यो।
  • स्वास्थ्य मन्त्री, प्रदेश मन्त्री र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
  • अस्पतालले आगामी वर्षका योजना प्रस्तुत गर्दै, सरकारले यसलाई 'क्यान्सर एक्सिलेंस सेन्टर' बनाउने योजना बनाएको छ।

भक्तपुर।  भक्तपुर क्यान्सर अस्पतालले सोमबार आफ्नो ३१औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशालाको उद्घाटन गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लब, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहकार्यमा वि.सं. २०५१ सालमा स्थापना भएको अस्पतालले सोमबार अस्पताल प्राङ्गणमा आफ्नो ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशालाको उद्घाटन भव्यताका साथ सम्पन्न गरेको हो । 

कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव तथा अस्पताल विकास समिति अध्यक्ष प्रा. डा. श्रीकृष्ण श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय डा. सुधा गौतम शर्मा रहेकी थिइन्। सो अवसरमा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापामगर, संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ लगायत प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख र स्वास्थ्य क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पतालको ३१ वर्षको यात्राबारे जानकारी दिँदै उपचार सेवाको गुणस्तर, प्रयोगशालाको आधुनिकता र आगामी वर्षका योजना प्रस्तुत गरे । उनले साँघुरो ठाउँ भएता पनि गुणस्तरीय सेवामा कुनै कमी नगरेको बताए । साथै उनले जग्गा प्राप्ति भएर सुविधा सम्पन्न भवन निर्माण गर्न सके अझ उत्कृष्ट सेवा दिने विश्वस्त गरे । साथै उनले सबैभन्दा पुरानो अस्पताललाई यहाँसम्म पुर्‍याउने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गरे । 

उक्त अवसरमा अस्पतालमा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई उत्कृष्ट अनुशासन पुरस्कार प्रदान गरिएको थियो।

प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय डा. सुधा गौतम शर्माले भनिन् “भक्तपुर क्यान्सर अस्पतालले विगत तीन दशकमा देखाएको प्रगति गौरवको विषय हो। यो अस्पतालले जनतामाझ क्यान्सर उपचारको पहुँच विस्तार गरेको छ। अब सरकारले यसलाई राष्ट्रिय स्तरको ‘क्यान्सर एक्सिलेंस सेन्टर’का रूपमा विकास गर्न दीर्घकालीन योजना बनाइरहेको छ। अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरूले समर्पणका साथ सेवा दिइरहेका छन्। सरकारले यस संस्थाको पूर्वाधार, जनशक्ति र प्राविधिक उपकरणमा थप लगानी गर्दै यसको क्षमता विस्तार गर्नेछ।

bhaktapur hospital

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुर क्यान्सर अस्पतालले प्रदेशकै गौरव बढाएको बताए। यहाँका सेवा विस्तारका लागि प्रदेश सरकार पनि सहकार्यका साथ अघि बढ्न इच्छुक छ। क्यान्सर उपचारलाई पहुँचयोग्य बनाउने हाम्रो साझा दायित्व भएको  उनले बताए । यसै गरी बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भक्तपुर ऐतिहासिक र सांस्कृतिक सहर मात्र होइन, स्वास्थ्य सेवा र सामाजिक चेतनाको पनि केन्द्र बन्दै छ। क्यान्सर अस्पतालले यो सहरको मान बढाएको छ। स्वास्थ्यसँगै स्वच्छ वातावरण र जनचेतनामा पनि जोड दिनु जरुरी रहेको बताए । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिकाकी उपप्रमुख रञ्जना जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लगायतका अतिथिहरूको उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रा. डा. श्रीकृष्ण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै भक्तपुर क्यान्सर अस्पताललाई देशकै प्रमुख क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै कार्यक्रममा अस्पतालको स्मारिका समेत विमोचन गरिएको थियो । 

अस्पताल स्थापना भएदेखि नै यसले नेपालभरिका क्यान्सर बिरामीहरूलाई स्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ। विषम परिस्थितिमा पनि सेवा अवरुद्ध नहुने गरी सञ्चालन हुँदै आएको यो सामुदायिक अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को मिति २०७७ कार्तिक २४ गतेको बैठकले “भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश–२०७७” स्वीकृत गरी मन्त्रालय मातहत १२३ बेडबाट सेवा सञ्चालनमा ल्याएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप