आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धार्मिक गन्तव्यस्थल बन्दै थानीमाई मन्दिर

मङ्गलबार, २५ कात्तिक २०८२, ०१ : ४६
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • भानु नगरपालिका-७, वसन्तपुरमा रहेको थानीमाई मन्दिर धार्मिक गन्तव्यका रूपमा विकास भएको छ, जहाँ भक्तजनहरू फूलको डोली चढाउन आउँछन्।
  • कात्तिक महिनाको दुई मंगलबारमा १५ हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए, जसमा डोली चढाउने परम्परा रहेको छ।
  • थानीमाई मन्दिरमा फूलको डोली चढाउँदा मनोकामना पूरा हुने विश्वास गरिन्छ, र मन्दिरको पुनर्निर्माण २० लाखको लागतमा सम्पन्न भएको थियो।

तनहुँ । यहाँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भएको छ । यहाँ फूलको डोली भित्र्याउन देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । 

कात्तिकको दुई वटा मङ्गलबारमा १५ हजार भन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेका थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कात्तिकको दोस्रो र तेस्रो मङ्गलबार मन्दिरमा १५ हजार ५५७ जना भक्तजनले दर्शन एवं पूजाआजा गरेका समितिका अध्यक्ष जीवन थापाले राससलाई जानकारी दिए । उनका अनुसार कात्तिकको दोस्रो मङ्गलबार (११ गते) आठ हजार र तेस्रो मङ्गलबार (१८ गते) सात हजार ५५७ जना भक्तजनले पूजाआजा गरेका हुन् ।

कात्तिकको पहिलो मङ्गलबार औँसी तिथि परेकाले फूलको डोली नभित्र्याइएको थापाको भनाइ छ । उनका अनुसार दुई वटा मङ्गलबार मन्दिरमा एक सय ४४ वटा फूलको डोली भित्रिएको छ । 

अध्यक्ष थापाले तनहुँबाट ५९, लमजुङबाट ३५, गोरखाबाट २३, चितवनबाट १६, काठमाडौँबाट तीन, कास्कीबाट सात र नवलपरासीबाट एक डोली भित्रिएको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । 

ती महिनाका मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको समितिका अध्यक्ष थापाले बताए ।

उनका अनुसार भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । “परिक्रमापछि माथि थुम्कास्थित मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना तथा भाकल पूरा होस् वा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गर्दछ”, उनले भने ।

प्रत्येक सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा उक्त डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

समुन्द्री सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो ।

विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटेनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तर्ध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको ज्येष्ठ स्थानीय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप