दाङको तुइसोताले खोला तर्नुपर्दा स्थानीयलाई सास्ती, नौ स्थानमा पुलको अभाव
सारांश
- दाङको तुलसीपुरका बासिन्दा तुइसोताले खोलामा पक्की पुल नहुँदा समस्यामा परेका छन्।
- सात वर्षअघि सुरु भएको पुल अलपत्र अवस्थामा छ, जसले गर्दा स्थानीय निराश छन्।
- मजघटुवामा ५० लाख बजेटमा बक्स पुल बन्ने प्रक्रिया अघि बढेको छ, जेठसम्म पुल निर्माणको लक्ष्य छ।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले खोलाका कारण त्यहाँका बासिन्दाले हरेक वर्ष ठूलो सास्ती भोग्नुपरेको छ। फूलबारीबाट बराखुट्टीसम्म पुग्न स्थानीयहरूले यही खोला नौ पटक तर्नुपर्छ, तर पनि खोलामा पक्की पुल नहुँदा निकै समस्या भएको छ।
स्थानीय बालाराम घर्तीका अनुसार, सो क्षेत्रमा एउटा पनि पक्की पुल छैन। यसका कारण सवारी साधन (गाडी) को आवतजावतमा पनि समस्या हुने गरेको छ। उनका अनुसार, तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य छ स्थानमा पुल निर्माण भएका छैनन्।
झोलुङ्गे पुलहरू बराखुट्टी र गाईखुट्टीको बीचमा, साजखुट्टी र बराखुट्टी जोड्ने स्थानमा तथा अमुवापुरमा गरी तीन स्थानमा मात्र छन्। यी झोलुङ्गे पुलले आवतजावतमा केही सहजता ल्याए पनि अन्य छ वटा स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समयमा स्थानीयलाई निकै समस्या हुने घर्तीको भनाइ छ।
उनले भने, "हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ। तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ।"
- पुल अलपत्र, स्थानीय निराश
गिधनियामा सात वर्षअघि निर्माण सुरु गरिएको पुल पनि अलपत्र अवस्थामा छ। अहिले त्यहाँ दुईवटा पिल्लर मात्रै ठडिएका छन् र निर्माण कार्य अगाडि बढ्न सकेको छैन। पुल यसरी बीचमै अलपत्र परेपछि स्थानीय भक्तबहादुर बस्नेतले आफूहरू आजित भएको बताए। "बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्," उनले भने, "यसरी त हामी निकै मारमा परेका छौँ।"
यसैबीच, हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ। नगर प्रमुख टिकाराम खड्काका अनुसार उपमहानगरपालिकाले त्यसका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ र उपमहानगरपालिकाभित्रकै पहिलो 'बक्स पुल' निर्माणका लागि सोही स्थानमा सर्भे भइरहेको छ।
नगर प्रमुख खड्काले उक्त पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको र पुल निर्माण भएपछि मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दालाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण