बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नयाँ पार्टी बनाउने कसरत

पार्टी बनाउन बालेनको 'होमवर्क'

मङ्गलबार, २५ कात्तिक २०८२, १६ : १७
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै सचिवालयका सदस्यहरूमार्फत नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन्।
  • मेयर बालेन र कुलमान घिसिङबीच कुरा नमिलेपछि 'देश विकास पार्टी' खोल्ने तयारी भइरहेको छ, सुदीप ढकालको संयोजकत्वमा।
  • बालेनले आगामी संसदीय निर्वाचनमा भाग नलिने तर जेनजी आन्दोलनको मर्म बोक्ने पार्टीलाई समर्थन गर्ने भएका छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफ्नै सचिवालय सदस्यहरूमार्फत राजनीतिक दल खोल्ने तयारी गरेका छन् । 

‘उज्यालो नेपाल’ पार्टी खोल्ने तयारी गरेका ऊर्जामन्त्री कुलमान घिसिङसँग कुरा नमिलेपछि मेयर बालेनेको सचिवालयकै एक सदस्यको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भएको बुझिएको छ । मेयर बालेननिकट एक सदस्यले रातोपाटीसँग भने, ‘कुलमान घिसिङबाट पार्टीमा आउनु भनेर पटक–पटक हाम्रा साथीहरूलाई नागरिकतालगायत कागजात माग गरिएको थियो, तर कोही पनि गएनन् ।’ 

उनका अनुसार मेयर बालेन पनि आफूहरूबाट कसैलाई कुलमानको टिम पठाउनुपर्छ भन्नेमा थिए । ‘घिसिङले पार्टी खोल्न गरेको समझदारीमै प्रश्न उठेपछि हाम्रो टोली फर्केको हो,’ उनले भने । ती सदस्यका अनुसार कुलमानले पार्टीका नाम र अन्य केही विषयमा लचिलो हुने भने पनि अन्तिममा एकल निर्णय गरेका थिए । त्यसपछि आफूहरूको टिम ब्याक भएको उनले खुलाए । 

अब बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ दल दर्ता हुने प्रक्रियामा रहेको स्रोत दाबी गर्छ । उक्त पार्टी सुदीप ढकालको संयोजकत्वमा दर्ता हुने तयारीमा छ भने चुनाव चिह्न ‘लौरो’ प्रस्ताव गरिएको छ । यद्यपि यो चुनाव चिह्न अहिले ‘हामी नेपाली पार्टी’सँग छ । 

‘प्रत्येक घण्टा सिनारियो परिर्वतन भइरहेको छ, साँझसम्म केही ठोस कुरा आउला, तयारीचाहिँ तीव्र नै छ,’ महानगरकै अर्का सचिवालय सदस्यले पनि खुलाए । उक्त पार्टीका संयोजक बन्ने भनिएका बालेन सचिवालयका सदस्य ढकालले भने अहिलेसम्म यसबारे कुनै औपचारिक निर्णय भइनसकेको बताएका छन् । ‘औपचारिक निर्णय केही भएको छैन, राजनीतिक गतिविधिमा संलग्न हुने सम्भावना त खुला नै छ नि,’ उनले भने । 

ढकालले रातोपाटीसँग भने, ‘हामी अब कुलमानजीसँगै मिलेर जाने भन्ने कुरा भएको थियो, तर सहमति कार्यान्वयन नभएको अवस्था हो ।’ 

जेनजीले पारदर्शिता र जवाफदेहिता चाहेको उल्लेख गर्दै ढकालले थपे, ‘हामीले चाहेको पारदर्शिता र एकाउन्टिबिलिटी हो, कुलमानसँगको छलफलमा यी पक्षहरूमा कमी देखियो, धेरै कुराहरू लुकाइयो त्यहाँ ।’

जेनजीलाई अगाडि सार्ने रणनीति

कसैले वैकल्पिक राजनीतिक दल एक हुनेगरी पार्टी नखोले र जेनजीहरूको माग सम्बोधन हुनेगरी काम नगरे दल खोल्नुपर्ने अवस्था आउन सक्ने ढकालले प्रस्ट्याए । ‘कसैले गरेन भने त कोही न कोही अगाडि सर्नुपर्‍यो नि । अहिले छलफल र संवाद त सबैको भइरहेको छ । तर आधिकारिक निर्णय भइसकेको छैन,’ उनले भने । 

ढकालले जेनजीका अधिकांश अनुहारले जहाँ हुन्छन्, त्यहीँबाट आफूहरूलाई समर्थन गर्ने समेत बताए । ‘जेनजीहरूचाहिँ जता हुन्छन्, उनीहरूलाई हामीले समर्थन गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो । यदि भोलि कुलमान घिसिङसँग सहमति हुन्छ र जेनजीले पनि समर्थन गरे आफ्नो टोलीले पनि समर्थन गर्छ,’ उनले स्पष्ट पारे ।

बालेननिकट सचिवालयका अर्का सदस्यका अनुसार घिसिङको पार्टीमा सहभागी हुन महानगरका सहरी योजना आयोगका सहायक विज्ञ (बालेनले नै नियुक्त गरेका) सन्तोष गिरीको नाम पठाइएको थियो । जेनजी आन्दोलन अगाडि रुपन्देहीमा हुन भनिएको उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका गिरी वैकल्पिक राजनीतिक क्षेत्रमा सक्रिय छन् । उनले केही दिनअघि ललितपुरमा ‘राष्ट्रहित सर्वोपरि’ नामक कार्यक्रमसमेत संयोजन गरेका थिए । जहाँ पुराना राजनीतिक दलका नेता, जेनजी अगुवादेखि पूर्वप्रधानन्यायाधीश, उच्च ओहोदामा बसेका कर्मचारीहरूको संग्लनता थियो । तर पार्टीको नाम, नेतृत्वलगायत विषयमा कुरा नमिलेपछि गिरी फर्केका थिए ।  

यो विषयमा थप बुझ्न रातोपाटीले बालेन सचिवालयका १०  भन्दा बढी सदस्यहरूसँग कुरा गरेको थियो । जहाँ सात जनाले पार्टीको तयारी भएको स्वीकार गरेका छन् ।  

बालेनको सहभागिता के हो ?

बालेन सचिवालयको सक्रियतामा खोल्न लागिएको पार्टीमा बालेनले समर्थन गर्ने भए पनि प्रत्यक्ष रूपमा अब हुने संसदीय निर्वाचनमा भने उनी भाग लिने मनसायमा देखिएका छैनन् । स्रोतका अनुसार जेनजी आन्दोलनको मर्म बोक्ने पार्टी आवश्यक भएको र चुनावअघि देखिएको विश्वस्त पार्टी अभाव भएको कारण बालेनले खुलेरै यो पार्टीलाई समर्थन गर्नेछन् । 

‘उहाँ पाँच वर्ष मेयर नै रहने कुरामा अडिग हुनुहुन्छ, तर जेनजी आन्दोलनको मर्म र यो जनमत क्यारी गर्ने कोही न कोही त चाहियो,’ दल निर्माण पक्रियामा रहेका एक सदस्यले भने, ‘जहाँ मेयरको पनि समर्थन हुन्छ । यसका लागि दल निर्माण अगाडि बढेको हो । यो सचिवालय सदस्यहरूको सक्रियतामा बन्ने भन्दा पनि हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप