बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्ने अधिकांशको पृष्ठभूमि आपराधिक

हालसम्म ४२९ जना पक्राउ
मङ्गलबार, २५ कात्तिक २०८२, २१ : २८
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • जेनजी प्रदर्शनको क्रममा भएका हिंसात्मक घटनाहरूमा संलग्न ४२९ जना पक्राउ परेका छन्।
  • प्रदर्शनको क्रममा भएको झगडामा एक व्यक्तिको हत्या भयो, जसमा संलग्न एक व्यक्ति अझै फरार छन्।
  • प्रदर्शनमा संलग्न व्यक्तिहरूमाथि आगजनी, लुटपाट, र प्रहरीमाथि आक्रमण गरेको आरोप लागेको छ, जसमा पूर्व सैनिक र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू पनि संलग्न थिए।

काठमाडौं । जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ मा किशोरहरूको ज्यान जानेगरी गोली चलेपछि भोलिपल्ट देशभर उच्छृङ्खल घटना भए । सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय र निजी सम्पत्तिमा आगजनी गरियो । उच्छृङ्खल जत्थाले प्रहरीका सवारी साधन र निजी सवारीमा पनि आगजनी गरे । प्रहरीका युनिफर्म र हतियार लुटे ।

उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अहिलेसम्म मुलुकभरबाट ४२९ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता ९डीआईजी० अबि नारायण काफ्लेले जानकारी दिए । उनले भने, ‘४२९ जनालाई पक्राउ गरेर कसुरअनुसारको मुद्दामा अनुसन्धान भइरहेको छ ।’

काठमाडौंको ठमेलस्थित बुद्धबार गल्लीमा असोज १३ मा झगडा भयो । झगडामा घाइते भएका मकवानपुर घर भई बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङको भोलिपल्ट मृत्यु भयो । जेनजी प्रदर्शनको क्रममा नख्खु कारागारबाट भागेका आकाश मगरले कैँची प्रहार गरेर उनको हत्या गरेका हुन् । आकाश मगर दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । मगर अझै पक्राउ परेका छैनन् । आकाश लागूऔषध मुद्दामा जेल परेका थिए । 

आफूलाई जेनजी अगुवा दाबी गर्ने अर्जुन बहादुर शाही असोज २९ मा पक्राउ परे । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने शाही बैंकिङ कसुर मुद्दा खेपिरहेका व्यक्ति रहेको भेटिएको छ । उनी वैदेशिक रोजगार ठगीमा पनि संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापनपत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो । प्रहरीले उनको साथबाट असईको परिचयपत्र बरामद गरेको छ ।

जेनजी प्रदर्शनमा सहभागी अर्का युवक हुन्, राजु परियार ‘सम्राट’ । प्रहरीले बोक्ने एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुटेको आरोपमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियार अहिले जावलाखेलस्थित ललितपुर प्रहरीको हिरासतमा छन् ।

परियारले एसएलआर बोकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो । परियारको पृष्ठभूमि आपराधिक रहेको पाइएको छ । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ८ वटा मुद्दा चलेको अपराध रेकर्ड सिस्टममा देखिएको छ । ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहार र बैंकिङ कसुर मुद्दामा प्रहरीले उनलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

जेनजी प्रदर्शनमा आगजनी र लुटपाट गर्नेहरू परियारजस्तै यसअघि पनि अपराधमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई भन्छन्, ‘उच्छृङ्खल गतिविधि गरेर हाम्रो नियन्त्रणमा रहेका अधिकांश व्यक्तिहरूको पृष्ठभूमि आपराधिक छ ।’ 

त्यसदिन एउटै व्यक्ति धेरै ठाउँमा गएर आपराधिक काम गरेको अनुसन्धानबाट थाहा भएको छ । एसपी भट्टराई भन्छन्, ‘प्रहरी कार्यालय, संसद भवन र सिंहदरबार जलाउन एउटै व्यक्ति पुगेको देखिन्छ ।’
‘अपरिपक्व’ र आपराधिक पृष्ठभूमि भएकाहरू भदौ २४ को विध्वंसमा सहभागी रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

गुण्डादेखि हत्या मुद्दामा प्रतिवादीसम्म

जेनजी प्रदर्शनमा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा ताप्लेजुङ घर भएका ४० वर्षीय सोनाम थेबे पक्राउ परे । थेबे गुण्डा नाइके चक्रे मिलन ‘मिलन गुरुङ’ समूहका सदस्य हुन् । जेनजी प्रदर्शनको क्रममा उनले भदौ २४ मा बूढानीलकण्ठमा एकजना प्रहरी अधिकृतको घर जलाउन भीडलाई उत्तेजित बनाएको भिडियोको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

महाराजगन्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापालाई भदौ २४ मा प्रदर्शनकारीले कुटेर हत्या गरे । कुटपिटमा संलग्न मध्येका इन्द्र बहादुर राई यसअघि पनि ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । महाराजगन्ज प्रहरीले नै उनलाई ज्यान मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । अहिले उनी प्रहरीको हत्या गरेको कसुरमा पक्राउ परेका छन् । भोजपुर घर भएका राईको डेराबाट प्रहरीले बोक्ने टाइप–५४ पेस्तोल बरामद गरिएको एसपी पवन भट्टराईले बताए । 

प्रदर्शनको नाममा उच्छृङ्खल काम गर्नेमा पूर्व सैनिक पनि भेटिएका छन् । नेपाली सेनाले बर्खास्त गरेको भुवन शाही भदौ २४ मा बानेश्वरस्थित ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा आगजनी गरेको आरोपमा अहिले थुनामा छन् । उनी कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१ घर भई धापासी बस्दै आएका छन् ।

२०७४ मा नेपाली सेनामा भर्ना भएका उनी बर्खास्तीमा परेका थिए । नक्कली चालक अनुमतिपत्र पेस गरेर सेवा प्रवेश गरेको भेटिएपछि जङ्गी अड्डाले उनलाई २०७५ मा बर्खास्त गरेको थियो । 

प्रदर्शन सुरु भएपछि प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतबाट भागेका नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठले रेस्टुरेन्टमा गएर गोली चलाए । कार्तिक ११ मा समीर र उनको साथी काभ्रेको पनौती नगरपालिका–१० खोपासी घर भई क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

चिनियाँ पेस्तोल ‘टाइप–५४’ सहित पक्राउ परेका समीर लागूऔषध प्रयोगकर्ता हुन् । समीर र एलेक्सले हलचोकस्थित एउटा रेस्टुरेन्टमा गएर पेस्तोलबाट गोली चलाएर भिडियो बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप