ट्रेकिङमा निरन्तर रमाउँदै हेमराज, रहरमा चालेको पाइलाले छुट्टै पहिचान दिलायो
सारांश
- सहरिया जीवनशैलीबाट मुक्ति खोज्दै हेमराज जोशीले विभिन्न रमणीय स्थानको यात्रा गरे।
- रारा, अपि हिमाल र डोल्पाको शे-फोक्सुन्डो यात्राले उनलाई फरक अनुभव गरायो।
- यात्राले उनलाई जीवनको अनिश्चितता स्वीकार्न र नयाँ बाटो खोज्न प्रेरित गर्यो।
धनगढी । सहरिया जीवनशैलीले मानिसलाई भिडभाडमा सीमित राख्दै आएको छ । घरदेखि अफिस, अफिसदेखि घरसम्मको दौडधुपमा कयौँ मानिसको दिन बित्ने गरेको छ । यसले नजानिँदोगरी मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ ।
स्वास्थ्यमा पर्न थालेको असरलाई बुझेर होस् वा एकै खालको दैनिकीबाट केही समयका लागि मुक्ति खोज्नका लागि होस्– पछिल्लो समय केही मानिस प्रकृतिसँग साक्षात्कार गर्ने र मनोरम दृश्य अवलोकन गर्न सहरबाट केही टाढा घुमफिरका लागि निस्कने गरेका छन् । यो क्रमसँगै नेपालमा ट्रेकिङको संस्कार विकास हुँदै गएको छ ।
सुदूरपश्चिमको दार्चुलामा जन्मिएका हेमराज जोशीले प्राकृतिक सुन्दरता अवलोकन गर्ने उद्देश्यले रहरै रहरमा चालेका पाइलाले अन्ततः उनलाई यस क्षेत्रकै एक विज्ञका रूपमा स्थापित गराएका छन् ।
जागिरे बुवासँगै उनी ७ वर्षको उमेरमा काठमाडौँ पुगेका थिए । बुवाले आफ्नो जागिर काठमाडौँमा भएपछि परिवारलाई पनि साथमै लगेका थिए । हेमराजले कक्षा १२ सम्मको पढाइ काठमाडौँमै पूरा गरे ।
स्कुल पढ्ने वेला उनी साथीहरूसँग रमाइलोका लागि कहिलेकाहीँ कीर्तिपुरका अग्ला डाँडासम्म पुग्थे । पछि बिस्तारै उनी नगरकोटसम्म पुग्न थाले । नजानिँदो गरी उनी प्रकृतिसँग मोहित हुँदै काठमाडौँ उपत्यका आसपासका डाँडा चहार्न थालेका थिए । यसरी घुम्दा उनले मनमा अलग्गै शान्ति महसुस गर्दथे ।
हुर्किएपछि हेमराज ‘ट्रेकिङ’ जाने योजना बनाउन सक्ने भए । ‘ट्रेकिङ’ नै भनेर उनी पहिलो गन्तव्यका रूपमा रारा ताल जाने भए ।
४ वर्ष अगाडि हेमराज कैलालीको टीकापुरस्थित कृषि विज्ञान क्याम्पसमा स्नातक तहको छैटौँ सेमेस्टरमा अध्ययनरत थिए । स्कुले जीवनमा कहिलेकाहीँ डाँडापाखा चहार्ने उनी कलेज जीवनमा प्रवेश गरेपछि पनि किताबी ज्ञान र क्याम्पसको सीमित परिधिभन्दा बाहिर निस्कन खोज्दै थिए । यही क्रममा साथी लुइससँग बाइकमा रारा ताल जाने योजना बन्यो ।
‘पुस्तकमा पढेको वा डकुमेन्ट्रीमा हेरेकोभन्दा आफैँ पुगेर साक्षात्कार गर्दाको अनुभूति बेग्लै हुन्छ,’ हेमराजले भने, ‘त्यही भएर पनि मलाई कर्णालीको प्राकृतिक सुन्दरता हेर्न मन लाग्यो ।’
हेमराजका अनुसार किताबमा पढेको कर्णाली र यथार्थको कर्णालीबिचको भिन्नता यात्राको सुरुवातबाटै महसुस हुन थाल्यो । नेपालगन्जबाट उकालो लागेर सुर्खेतको वीरेन्द्रनगर पुग्दा आफूले किताबमा पढेको कर्णालीको विकटताभन्दा पर एउटा जीवन्त र ठुलो सहर देख्न पाएको उनले बताए ।
सुर्खेतबाट बड्डीचौर हुँदै उनीहरूको यात्रा दैलेखतर्फ मोडियो । जब गुराँसेको पहाडी बाटो सुरु भयो, तबमात्र उनले कर्णालीको वास्तविक भूगोलको स्वाद चाख्न थाले । ‘पहाडको छाती चिरेर बनाइएको जस्तो त्यो साँघुरो र डरलाग्दो बाटोमा बाइक कुदाउँदा मनमा एक किसिमको डर र रोमाञ्च एकैसाथ दौडिरहेको थियो,’ उनले भने, ‘हामी कहाँ हरायौँ ? यो कुन ठाउँ हो ? मनमा यस्तै प्रश्न उब्जिरहेका थिए ।’
उनीहरूले माथितिर सायद राम्रो होटल पाइँदैन होला, गोठमा बास बस्नुपर्ला भन्ने सोचेका थिए । दैलेख हुँदै कालिकोट सदरमुकाम मान्म पुग्दा उनीहरूको त्यो भ्रम टुट्यो । मान्म बजार सोचेभन्दा निकै व्यवस्थित र विकसित पाएको हेमराजले बताए । ‘त्यहाँका होटलहरू तराईका भन्दा पनि राम्रा र सुविधायुक्त थिए । गरिबी र अभावको चित्र बोकेर गएको मनले विकास र समृद्धिको नयाँ तस्बिर देखिरहेको थियो,’ रातोपाटीसँग उनले भने ।
मान्मबाट उनीहरूको यात्रा नेपाली भाषाको उद्गमस्थल सिञ्जातर्फ लाग्यो । ‘धेरै पहिलादेखि सिञ्जा पुग्ने चाहना थियो । त्यो पनि पूरा भयो,’ हेमराजले भने, ‘तिला नदीको किनारमा अवस्थित धानका पहेंलपुर फाँटहरूले भरिएको सिञ्जा उपत्यका साँच्चै मनमोहक थियो । राजा महेन्द्रको भ्रमणका लागि बनाइएका पुराना काठेपुलहरूले त्यस ठाउँको ऐतिहासिक महत्त्वलाई दर्शाउँथे । खस राज्यको त्यो पुरानो राजधानीको हावामा एउटा छुट्टै मौलिकताको सुगन्ध थियो ।’
त्यहाँबाट उनीहरूले यात्राको सबैभन्दा कठिन खण्ड पार गरे । भुलभुले जाने बाटो यति डरलाग्दो र चिप्लो थियो कि बाइक चलाइरहेको साथी लुइस आधा घण्टासम्म एक शब्द पनि बोल्न नसकेको हेमराजले सुनाए । ‘एकातर्फ गहिरो भिर, अर्कातर्फ चिप्लो बाटो । जीवन र मृत्युबिचको दुरी कति कम हुँदो रहेछ भन्ने अनुभूति त्यहीँ भयो,’ उनले भने, ‘तर त्यो कठिन यात्रा पार गरेपछि जब रारा राष्ट्रिय निकुञ्जको गेटमा पुग्यौँ, सबै थकान र डर एकाएक हरायो ।’
निकुञ्जभित्रका हरिया फाँट र सुन्दर परिदृश्यले आफूहरूलाई नै स्वागत गरिरहेजस्तै अनुभूति भएको हेमराजको भनाइ थियो । त्यहीँबाट उनले जीवनमा पहिलो पटक हिमाललाई यति नजिकबाट देखे । त्यहाँ पुगेपछि उनलाई साथीले भनेको थियो, ‘रारा ताल नदेखे पनि यहाँसम्म पुग्नु नै हाम्रो यात्रा सफल हुनु हो ।’
अन्ततः उनीहरू स्वर्गको टुक्राझैँ रारा तालको किनारमा पुगे । ‘बिहानको कलिलो घाममा टल्किरहेको राराको नीलो पानी, पृष्ठभूमिमा सेता हिमाल र चारैतिर हरिया डाँडा, त्यो दृश्य शब्दमा वर्णन गर्न नसकिने थियो,’ हेमराजले भने, ‘तालको स्थिरताले मनको चञ्चलतालाई पनि शान्त बनाइदिएको थियो ।’
हेमराजलाई लाग्यो– जीवनको सबै अस्थिरताबाट म स्थिरतामा पुगेको छु, तर त्यो अनुभूति क्षणिक थियो । ताल स्थिर रहे पनि जीवन त चलायमान थियो ।
राराको प्राकृतिक सौन्दर्यमात्र होइन, त्यहाँको सामाजिक जीवनले पनि हेमराजलाई गहिरो प्रभाव पार्यो । बिहान घोडा चराउन आएका केही भाइहरूसँग उनको कुराकानी भयो । उनीहरूले आफ्नो जीवन, घोडाबाट हुने आम्दानी र दैनिकीबारे सुनाए ।
फर्कंदा उनीहरूले ती भाइहरूकै घोडामा यात्रा गरे । अरूलाई पाँच सय लिने उनीहरूले हेमराज र उनका साथीसँग जम्मा तीन सय रुपैयाँमात्र लिए । त्यो आत्मीयता र सरलताले उनको मन छोयो ।
यात्रामा एउटा अविस्मरणीय घटना घट्यो । उनीहरूले रारातिर अनलाइन पेमेन्ट चल्छ होला भनेर सीमित पैसा बोकेका थिए । त्यो पैसा सकियो । एक छाक खाना खाने पैसा पनि नहुँदा उनीहरू एउटा होटलमा निराश भएर बसिरहेका थिए । होटल साहुले उनीहरूको अनुहार पढेर सोधे, ‘के भयो बाबु ?’
हेमराजले हिच्किचाउँदै भने, ‘काका, हामीसँग त पैसा नै सकियो ।’
ती भलादमी साहुले मुस्कुराउँदै भने, ‘एक छाक खाना त हामी खुवाइहाल्छौँ नि बाबु, के चिन्ता मान्नु पर्छ र ?’
त्यो निःस्वार्थ सहयोगले हेमराजलाई मानिस र मानवताप्रतिको विश्वास अझै प्रगाढ बनायो । त्यो होटल साहुको भिजिटिङ कार्ड आज पनि उनको पर्समा सुरक्षित छ– अप्ठ्यारोमा पाएको त्यो न्यानो सहयोगको प्रतीक बनेर ।
राराले हेमराजलाई धेरै कुरा दियो । साथीले पहिलो पटक शीतलाई हिउँ ठानेर रमाएको बालसुलभ खुसी, तालमा पौडी खेल्दाको आनन्द, एक स्थानीय आमाले सित्तैमा दिएको भांगोको दाना र सानो भाइलाई बोकेर कर्तव्यको भारीसँगै हिँडिरहेकी ११ वर्षे बहिनीको त्यो मार्मिक दृश्य– यी सबै पल उनको स्मृतिमा जिउँदो छन् । यात्रामा एउटा नयाँ मोबाइल हरायो र फेला पनि पर्यो । नेपालको झन्डा बोकेर खिचिएका तस्बिरहरूले त्यो यात्रालाई अझै अविस्मरणीय बनाए ।
राराबाट फर्कंदा हेमराज एक यात्रीमात्र थिएनन्, उनी एक अन्वेषक बनिसकेका थिए । उनले जुम्लाको अपार सम्भावना देखे– स्वास्थ्यवर्द्धक मार्सी चामल र ग्लुटिन–रहित गहुँको उत्पादन, जसले स्वस्थ जीवनशैली खोज्नेहरूलाई आकर्षित गर्न सक्थ्यो । उनले पर्यटनको सम्भावना देखे– गाडीमा परिवारसहित जानेका लागि सडक र हिँडेर प्रकृतिको आनन्द लिनेका लागि पदमार्गको विकास ।
हेमराजले विभिन्न समस्या पनि देखे– बसाइसराइ, गुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ ।
राराको त्यो पहिलो ट्रेकिङले उनलाई संसार घुम्नुपर्छ र समाजलाई बुझ्नुपर्छ भन्ने गहिरो बोध गरायो । यो एउटा यस्तो अद्भूत यात्रा थियो, जसले उनलाई अर्काे यात्रामा निस्कनका लागि उत्प्रेरित गर्यो ।
जीवन सधैँ रारा तालजस्तो शान्त र सुन्दर हुँदैन । कहिलेकाहीँ यस्ता आँधीबेहरी आउँछन्, जसले मन र मस्तिष्कलाई तहसनहस बनाइदिन्छन् ।
हेमराजको जीवनमा पनि यस्तै एउटा त्रासदीपूर्ण घटना घट्यो । उनीसँगै टीकापुरमा पढेका, सँगै भविष्यका सपना बुनेका १० जना साथी इजरायलमा हमासको आक्रमणमा मारिए । उनको सबैभन्दा मिल्ने साथी विपिन जोशी बेपत्ता थिए । यो खबरले उनलाई भित्रैदेखि हल्लाइदियो । मनमा तनाव, छटपटी र निराशाको कालो बादल मडारिन थाल्यो ।
यही असह्य पीडा र फ्रस्टेसनबाट बाहिर निस्कन उनले अर्काे यात्रा रोजे– अपि हिमालको पदयात्रा । यो यात्रा रमाइलोका लागि थिएन, यो त मनको घाउमा मलम लगाउने एउटा प्रयास थियो ।
कक्षा ११–१२ मा आफूसँगै पढेका साथी शिशिर देवकोटा, पुर्ननेस चन्द र विशाल अधिकारी पनि यो यात्रामा सामेल भए । दुई वर्षअघि असोज २७ गते उनीहरू चार जना अपिको काखमा शान्ति खोज्न निस्किए ।
दार्चुलाकै छोरा भएकाले हेमराजलाई अपिको भूगोल नौलो थिएन, तर पदयात्राको अनुभव भने विल्कुलै फरक थियो । मार्माको लटिनाथसम्म गाडीमा र त्यहाँबाट मकरीगाडसम्म जिपमा पुगेपछि उनीहरूको वास्तविक पदयात्रा सुरु भयो ।
दिनमा १८ किलोमिटर हिँड्नुपर्छ भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन् । पहिलो दिनको यात्राले नै उनीहरूको शरीरलाई गलाइसकेको थियो । सुन्तलाले पहेंलपुर बोटहरू, कमेरोले पोतिएको र ढुंगाले छाएको सुन्दर घर र त्यही घरको बारीमा ढकमक्क फुलेका सयपत्री फूलहरूले सुरुमा मन लोभ्याए पनि घुसा पुग्नुअघिको तीन–चार घण्टाको ठाडो उकालोले उनीहरूको सातो लियो ।
साँझ ६ बजेतिर एउटा गाउँमा पुग्दा उनीहरू थकाइले चुर भइसकेका थिए, तर बास बस्ने ठाउँ अझै माथि थियो । अँध्यारोमा थकित शरीर घिसार्दै उनीहरू अगाडि बढे । एउटा ठाउँमा त थकाइले यति गले कि उनीहरू त्यहीँ बसेर सुस्ताउन थाले । भोलिपल्ट उज्यालोमा फर्कंदा थाहा भयो, राति उनीहरू बसेको ठाउँ त कहालीलाग्दो भिर रहेछ । ‘त्यो सम्झिँदामात्र पनि आङ जिरिङ्ग हुन्थ्यो । घुसा पुग्दासम्म त खुट्टाले काम गर्नै छोडेका थिए,’ हेमराजले भने ।
पाँच दिनको त्यो यात्रामा उनीहरूले अनेकौँ अनुभव सँगाले । छिरछिरे खोलाको किनारमा बसेर आगो तापे । अपि बेसक्याम्पमा पुगेर हिमाललाई यति नजिकबाट नियाले कि मानौँ हातैले छुन सकिन्छ । चौलानी नदीको उद्गमस्थल र कालीढुंगा तालको सौन्दर्यमा उनीहरू मोहित भए ।
हेमराजका अनुसार उनीहरूको यो यात्राको मुख्य उद्देश्य थियो— विपिनको सकुशल फिर्तीको कामना ।
हेमराजलाई एक जना साथीले भनेका थिए, ‘हिमालमा गएर मनले मागेको कुरा पूरा हुन्छ ।’
त्यसैले, उनले बाटोमा भेटिएका हरेक मन्दिरमा हात जोडेर प्रार्थना गरे, ‘भगवान, विपिनलाई फर्काइदेऊ ।’
उनीहरूले हिउँमा विपिनको नाम लेखे । बेसक्याम्पमा पुगेर ४१०० सय मिटरको उचाइमा खाना खाँदै गर्दा पनि उनीहरूको मनमा साथीहरूकै याद आइरहेको थियो ।
यात्राका क्रममा लेक लाग्ला भनेर साथीहरू डराइरहेका थिए । डरैडरका बिच गोठमा सुतिरहँदा राति १२ बजे केही असजिलो महसुस भएपछि आफूहरू बाहिर निस्किएको हेमराजले सुनाए । ‘अचानक बाहिर अनौठो उज्यालो भयो । चन्द्रमाको प्रकाशले टल्केको हिमालले मध्यरातमा पनि दिनजस्तै उज्यालो छरेको थियो । त्यो अद्भुत तर रहस्यमयी दृश्य देखेर साथीहरू डराए,’ उनले भने ।
ट्रेकिङको अर्को एक फाइदाबारे हेमराजले त्यहीवेला थाहा पाए । जब शारीरिक कष्ट हुन्छ, तब मनलाई अन्य कुरा सोच्ने फुर्सद नै हुँदैन । कहाँ जाने, के खाने, कहाँ बस्ने– यिनै कुरामा ध्यान केन्द्रित हुँदा मनको तनाव र पीडा कम हुँदै जाँदो रहेछ ।
फिरफिरेको एक होटलमा आगो ताप्दै गर्दा विशालले विपिनलाई सम्झेर गीत गायो, ‘सक्ने भए फकाई ल्याउँथेँ तिम्रा हातहरू, सधैँ–सधैँ आइरहन्छ यादहरू ।’
उनीहरूले सुदूरपश्चिमका देउडा गाए, नाचे र आफ्नो मनको बह पोखेर हल्का भए । अपि हिमालको यात्राले हेमराजलाई प्रकृतिसँग मात्र होइन, आफैँसँग पनि साक्षात्कार गरायो । शरद ऋतुमा पात झर्दै गरेका जङ्गलको बिचमा, चराहरूको चिरबिर सुन्दै, खोलाको किनारमा बस्दा उनले जुन शान्ति र शून्यताको महसुस गरे, त्यो अतुलनीय थियो । ‘जब मान्छेको मन शून्य हुन्छ, तब उसले नयाँ ज्ञान र शक्ति प्राप्त गर्छ भन्ने त्यतिवेला बुझेँ,’ उनले भने ।
फर्कंदा उनीहरूले अपि क्षेत्रको जीवनशैली र सम्भावनालाई पनि नियाले । दसैं–तिहारमा घर फर्केका युवाहरू पर्यटकको गाइड बनेर पैसा कमाइरहेका थिए । यार्सागुम्बा टिप्ने सिजनमा हेलिकप्टर चार्टर गरेर आउने मानिसहरूले त्यहाँको आर्थिक अवस्थालाई चलायमान बनाएको थियो, तर शिक्षा र स्वास्थ्यको अवस्था भने कमजोर नै थियो ।
अपिबाट फर्केपछि हेमराजले आफूलाई निकै हल्का र परिपक्व महसुस गरे । जीवनका दुःख र पीडाहरूसँग अभ्यस्त हुन सक्ने शक्ति उनमा आइसकेको थियो । मनको तनाव हटेपछि उनको दिमाग पनि सफा भयो । यही यात्राबाट पाएको ऊर्जाले उनलाई स्नातकोत्तरको प्रवेश परीक्षाको तयारी गर्न उत्प्रेरित गर्यो र उनले नाम पनि निकाले ।
अपिको यात्रा शारीरिक रूपमा खर्चिलो (प्रतिव्यक्ति करिब ७ हजार) भए पनि मानसिक शान्ति र नयाँ जीवनको सुरुवातका लागि यो अमूल्य थियो ।
हेमराजको तेस्रो पदयात्रा थियो– डोल्पाको शे–फोक्सुन्डो ।
यो यात्रा अघिल्ला दुई यात्राभन्दा फरक र परिपक्व थियो । यसमा घुमघाम र पीडा भुलाउने उद्देश्यमात्र थिएन, मित्रता, आत्मिक खोज र सामाजिक विमर्शको गहिरो तह जोडिएको थियो । इजरायलको आक्रमणमा घाइते भएका साथी हिमाञ्चलको फोक्सुन्डो हेर्ने तीव्र इच्छा पूरा गर्नु यो यात्राको मुख्य प्रेरणा थियो ।
नेपालगन्जबाट सुरु भएको जिपको लामो यात्रा आफैँमा एउटा कथा थियो । यस पटक हेमराजको आँखाले प्राकृतिक सौन्दर्यमात्र खोजिरहेको थिएन । एक विकास अध्येताको नजरले देशको सामाजिक–आर्थिक मुहार पनि पढिरहेको थियो । ‘राम्रोसँग बनेको मध्यपहाडी लोकमार्गले विकासको संकेत गर्थ्यो भने जाजरकोटको नलगडमा देखेका परम्परागत नेपाली घरहरूको मौलिक वास्तुकलाले निकै प्रभावित बनायो,’ यात्राको अनुभव उनले सुनाए, ‘हामी पश्चिमा शैलीको नक्कल गरिरहेका छौँ, तर हाम्रो आफ्नै वास्तुकला कति सुन्दर र वैज्ञानिक रहेछ ।’
यसलाई भूकम्प प्रतिरोधी बनाएर संरक्षण गर्न सके पर्यटनको लागि यो ठुलो सम्पत्ति हुन सक्ने हेमराजको भनाइ छ । बाटोमा देखेका सुनजस्तै पहेँलपुर धानका फाँटहरूले उनलाई कृषिमा सम्भावनाको मार्ग देखायो ।
डोल्पाको सदरमुकाम दुनै पुग्दा त्यहाँको तिब्बती संस्कृति र रहनसहनले उनलाई नयाँ संसारमा पुगेको अनुभूति गरायो । सुलिगाडबाट पदयात्रा सुरु भयो । यात्राको पहिलो दिन नै प्रकृतिका केही रहस्यमयी संकेतहरूले उनीहरूलाई स्वागत गरे– जङ्गलमा देखिएको सेतो घोडा, बाच्छो र एकै ठाउँमा सयौँको संख्यामा उडिरहेका पुतलीहरूले उनीहरूलाई स्वर्गमै पुगेको जस्तो आभास दिलायो ।
यात्रा सधैँ सोचेजस्तो मात्र हुँदैन । पहिलो रात चेप्कामा बास बस्दा घरबाट हजुरबुवा सिकिस्त बिरामी भएको खबरले उनको मन बेचैन भयो । एकातिर यात्राको रोमाञ्च, अर्काेतिर पारिवारिक चिन्ता । यही द्वन्द्वका बिच उनी अगाडि बढे । दोस्रो दिनको यात्रा अझै चुनौतीपूर्ण रह्यो । बाटोमा खाना खान ढिलाइ हुनु र त्यही बेला सहपाठी विपिन जोशी यो संसारमा नरहेको खबर सुन्नुले उनको समूहको मनस्थिति खलबलियो । तर, उनीहरूले एक अर्कालाई सम्हाल्दै यात्रा जारी राखे ।
साँझमा फोक्सुन्डो पुग्ने उनीहरूको योजना थियो, तर अँध्यारो हुन लागेपछि एक स्थानीय घोडावालाले बाटो गाह्रो भएको र अगाडि नबढ्न सल्लाह दिए । तलको होटल पनि भरिएको हुन सक्ने अनिश्चितताका बिच उनीहरूले एउटा टेन्टमा आश्रय लिए । त्यो टेन्ट फोक्सुन्डो गाउँकी छिरिङ दिदीको थियो, जो भर्खरै आफ्नो चिया पसल खोल्ने तरखर गर्दै थिइन् ।
‘ट्रेकिङले जीवनको अनिश्चिततालाई स्विकार्न सिकाउँछ,’ हेमराजले भने, ‘हाम्रो योजना एउटा थियो, तर परिस्थिति अर्कै भयो । हामी त्यसलाई स्विकारेर अगाडि बढ्यौँ ।’
त्यो टेन्टको बास, छिरिङ दिदीसँगको कुराकानी र डोल्पाको खुला आकाशमुनिको रातले उनलाई नयाँ अनुभव दियो । व्यक्तिगत चिन्ता र यात्राको थकानका बिच भोलि देखिने फोक्सुन्डो तालको कल्पनाले उनलाई निदाउन मद्दत गर्यो ।
जब उनीहरू फोक्सुन्डो तालको नजिकैको रिग्मो गाउँमा पुगे, यात्राको थकाइ कता हरायो भन्ने पत्तै भएन । त्यो ठाउँको सुन्दरताले उनीहरूलाई मन्त्रमुग्ध बनाइसकेको थियो । रिग्मो गाउँमा एक जना हजुरबुवा र उनको नातिसँग उनीहरूको भेट भयो । उनीहरूले बच्चालाई चकलेट दिए, बदलामा हजुरबुवाले हात जोडेर जुन माया र खुसी देखाए, त्यसले हेमराज र साथीहरूको मन छोयो ।
भोलिपल्ट उनीहरूले फोक्सुन्डो ताल अवलोकन गरे, फोटो खिचे । तालको रङ घरीघरी बदलिन्थ्यो । कहिले गाढा निलो त कहिले हल्का निलो । ‘साँझपख तालको किनारमा घोडाहरूले पानी पिइरहेको दृश्यले साँच्चै स्वर्गको अनुभूति गरायो । एकातर्फ हिमाल, अर्काेतर्फ तालको त्यो अलौकिक दृश्यले मनलाई शान्त बनायो,’ हेमराजले भने ।
केही साथी शारीरिक रूपमा थकित भएकाले माथिको भ्यू पोइन्टसम्म जान नसकिएको हेमराजले सुनाए । ‘हामी ताललाई हेर्दै त्यहीँ बस्यौँ । त्यो शान्त वातावरणले एक किसिमको मानसिक शान्ति दियो,’ उनले भने ।
फर्किने क्रममा उनीहरूको भेट स्वीट्जरल्याण्डकी ७० वर्षीय एलिजाबेथसँग भयो, जो चौथो पटक फोक्सुन्डो घुम्न आएकी थिइन् । आफ्नो जीवनको उतारचढावबाट शान्ति खोज्न नेपाल आएका न्यूयोर्क निवासी एक अमेरिकी नागरिकसँग पनि बाटोमा कुराकानी भएको उनले सुनाए ।
‘होटेलमा पोखराका दाइहरूसँगको भेट र सँगै बसेर गीत गाएको त्यो साँझ अविस्मरणीय रह्यो । त्यो रात होटेलमा बस्ने सबैजना एक अर्कासँग घुलमिल भएर एउटा छुट्टै रमाइलो माहोल बनेको थियो,’ हेमराजले भने ।
उनका अनुसार जीवन पनि एक पदयात्रा हो, जहाँ योजनाहरू बदलिन्छन्, तर गन्तव्यको आशाले नै अगाडि बढ्न प्रेरित गरिरहन्छ भन्ने ज्ञान त्यो यात्राले सिकाएको हेमराजको भनाइ छ ।
हेमराजका लागि ट्रेकिङ भनेको हिँड्नुमात्र होइन, यो आफैँलाई खोज्ने एउटा प्रक्रिया हो । ‘यो नयाँ ठाउँ, त्यहाँको सामाजिक जीवन र प्रकृतिलाई नजिकबाट चिन्ने अवसर हो,’ उनले भने, ‘खोलाको कोलाहलबाट सुरु भएको यात्रा जब उचाइको शान्तिमा पुगेर टुङ्गिन्छ, त्यसले जीवनको एउटा गहिरो अर्थ सिकाउँछ ।’
विभिन्न कुलतमा फसेका युवाका लागि यस्तो यात्रा एउटा नयाँ सुरुवात बन्न सक्ने हेमराजको भनाइ छ । ‘जब मान्छेले आफैँलाई माया गर्न थाल्छ, तब ऊ नकारात्मक कुराहरूबाट टाढा हुँदै जान्छ । ट्रेकिङले मानिसलाई आफैँसँग प्रेम गर्न सिकाउँछ,’ उनले भने ।
आजभोलि ट्रेकिङमा युवाहरूको सहभागिता बाक्लो छ । यो यात्रामा सबै उमेर समूहका मानिस हिँडिरहेका देखिन्छन् । सामाजिक सञ्जालले गर्दा पनि यस्ता ठाउँ निकै लोकप्रिय भएका छन् । कोरोना महामारीपछि मानिसहरूमा घुम्ने बानी बढेको छ । कतिपय फोटो र भिडियोका लागि मात्रै पनि यस्ता ठाउँमा पुग्छन् । फोटो र भिडियोमार्फत नेपालका सुन्दर ठाउँहरूको प्रचारप्रसार भएर पर्यटनमा टेवा पुगेको छ ।
आफ्ना तीन वटा यात्राका क्रममा अधिकांश ठाउँमा स्थानीयको व्यवहार न्यानो र सहयोगी नै पाएको हेमराज बताउँछन् । केही ठाउँमा भने खानाको बिल अस्वाभाविक महँगो तिर्नु परेको उनको अनुभव छ । ‘बाहिरबाट आएको मान्छेलाई लुट्नुपर्छ भन्ने मानसिकता केहीमा देखिन्छ तर, समग्रमा मेरो अनुभव राम्रै रह्यो,’ उनले भने ।
हेमराजका अनुसार तीन फरक भूगोलका ट्रेकिङले तीन फरक सन्देश दिएका छन् । राराले किताबी भ्रमबाट बाहिर निकालेर देशको यथार्थसँग साक्षात्कार गराएको उनको भनाइ छ । रारासम्मको यात्राले आफ्नो मनमा अन्वेषणको भोक जगाएको उनले बताए ।
यस्तै, अपिको यात्राले शारीरिक कष्टमार्फत मानसिक पीडाबाट मुक्त हुन र जीवनमा नयाँ लक्ष्य निर्धारण गर्न सिकाएको उनले बताए । फोक्सुन्डोसम्मको यात्राले आध्यात्मिकता, सामाजिक विकास र जीवनको अनिश्चिततालाई स्विकार्ने दर्शन दिएको उनले प्रस्ट पारे ।
हेमराजले भने, ‘ट्रेकिङ भनेको हिमाल तथा पहाड चढ्नुमात्र होइन, यो त आफ्ना धारणाहरूको उकालो चढ्नु हो, पीडाहरूको ओरालो झर्नु हो र जीवनको समथर फाँटमा नयाँ बाटो खोज्नु हो ।’
उनका लागि पदमार्गहरू नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था बुझ्ने खुला किताब हुन् । उनी त्यहाँका सम्भावनाहरू देखेर उत्साहित हुन्छन् र समस्याहरू देखेर चिन्तित । युवाहरूले आफ्नो देश घुमुन्, यहाँको समाजलाई बुझुन् र यसको दिगो विकासमा योगदान पुर्याउन् भन्ने उनको अपेक्षा छ ।
नेपाललाई र आफैँलाई चिन्न सहरका चिल्ला सडकमा होइन, गाउँ र हिमाल जोड्ने कच्ची पदमार्गहरूमा हिँड्नुपर्छ भन्ने हेमराजको बुझाइ छ । जीवनको वास्तविक अर्थ त्यही धुलो, ढुङ्गा र प्रकृतिको काखमा लुकेको उनको भनाइ छ ।
यो यात्राले अझै धेरै घुम्न आफूलाई प्रेरित गरेको उनले सुनाए । अब उनको अर्काे योजना खप्तड जाने छ । नेपालका सबै ठाउँ नघुमी उनी विदेश घुम्न नजाने उनी बताउँछन् ।
‘पहिला यता घुम्छु, त्यसपछि विदेशका ठाउँ घुम्छु । मेरा सबै साथीहरू विदेश गइसके, तर म यहीँ बसेर केही गर्न चाहन्छु,’ हेमराजले भने, ‘मलाई विश्वास छ, निरन्तर आफ्नो काममा लागिरह्यो भने एकदिन अवश्य सफल भइन्छ ।’
देशमा विभिन्न अवसर रहेको जिकिर गर्दैै उनले ती अवसरलाई चिन्न सक्नुपर्ने प्रस्ट पारे । उनले भने, ‘ट्रेकिङले मलाई यही सिकाएको छ– आफ्नो बाटोमा निरन्तर हिँडिरहनु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण