शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुटिएका हतियार र भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न भारत तयार

बिहीबार, २७ कात्तिक २०८२, १७ : ०३
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा लुटिएका र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले भारतसँग आग्रह गरेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा अर्यालले सो प्रस्ताव राखेका हुन् ।

भारतको नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय पक्षले सो प्रस्तावमा सहमति जनाएका छन् । 

सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलले जेलबाट भागेका कैदी र लुटिएका सुरक्षाकर्मीको हतियार भारत पक्षलाई पनि चुनौतीको विषय भएको छलफलमा बताए । 

बुधवारको बैठकमा सहभागी एक जना नेपालका प्रतिनिधिले रातोपाटीसँग भने, ‘उहाँले भारतका लागी पनि त्यो खतरा हुने बताउनुभयो ।’

जेलबाट ५२० जना भारतीय नागरिक र ९९ जना अन्य मुलुकका कैदीबन्दी फरार भएका थिए । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार १२ सय हतियार लुटिएको छ । तीमध्ये ७ सय १८ थान हतियार फिर्ता आएको गृह मन्त्रालयले जनाएको छ । प्रदर्शनकारीले सशस्त्रको हतियार पनि लुटेका थिए ।

लुटिएका हतियार र कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न तयार रहेको एसएसबी का महानिर्देशक सञ्जय सिंघलले बताएको नेपालका अधिकारीहरूले जानकारी दिए ।

सशस्त्रका आईजी अर्याल कार्तिक २५ मा भारत प्रस्थान गरेका थिए । अर्याल नेतृत्वको टिममा सशस्त्रका एआईजी गणेश ठाडा मगर, वरिष्ठ उपरीक्षक किरण बस्नेत, नेपाल प्रहरीका डीआईजी दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास र सशस्त्रका इन्स्पेक्टर सुरज पौडेल सहितका ८ जना प्रतिनिधि सहभागी छन् ।

नेपाली नागरिक भारतबाट फर्किँदा सीमानामा लुटिने र भारतीय पक्षले दुःख दिने गरेको विषय नेपालको तर्फबाट उठाइएको छ । 

सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, तेस्रो मुलुकका नागरिकहरूको आवागमन नियन्त्रण र पर्यटक हेल्प डेस्क राख्ने विषय उठाइएको छलफलमा सहभागी एक जना अधिकृतले जानकारी दिए । 

उनले भने, ‘सूचना आदान प्रदान, राजस्व चुहावट नियन्त्रण र बोर्डर क्षेत्रमा २४ सै घण्टा संयुक्त पट्रोलिङ गर्नुपर्ने विषयमा छलफल भएको छ ।’

नेपालका अधिकारीहरूले नेपालबाट भारततर्फ बालबालिका र महिला बेचबिखन हुने गरेको र त्यसलाई नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् । नेपालका प्रतिनिधिले कात्तिक २८ मा भारतको गृह मन्त्रालयका सचिवसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

दशगजा क्षेत्र क्लियर गर्ने र पिल्लर मर्मतलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएका छन् । छलफलमा सहभागी एक जना अधिकृत भन्छन्, ‘दशगजा क्षेत्र क्लियर गर्ने र पिल्लर मर्मतलाई गम्भिरतापूवर्क फलो गर्न आग्रह गरेका छौँ ।’ 

दुई देशको सीमाबारे बिडब्लुजी (बाउण्ड्री वर्किङ ग्रुप) ले तयार गरेको रोडम्याप फलो गर्नेबारे दुवै पक्षको बिचमा छलफल भएको छ ।

आठौँ समन्वय बैठक २०८१ मा नेपालमा भएको थियो । नेपाल–भारत सीमा करिब १ हजार ८८० किलोमिटर फैलिएको छ । खुला सीमानाका कारण एक देशमा अपराध गर्नेहरू अर्को देशमा सहजै भाग्न सक्ने अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप