शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

मधेसमा एकता र मोर्चाबन्दी चुनाव कि आन्दोलनका लागि ?

बिहीबार, २७ कात्तिक २०८२, १९ : ००
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • मधेसमा पहिचानवादी शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइरहेको छ, आगामी चुनावलाई लक्षित गरी छलफलहरू चलिरहेका छन्।
  • विभिन्न दलहरूले मोर्चा बनाउने र एकता गर्ने प्रयास गरिरहेका छन्, तर जनमत पार्टीले आफूलाई अलग राखेको छ।
  • दलहरूबीच एकता नभए चुनावी तालमेल गर्ने तयारी छ, जसपा नेपालका अनुसार मुद्दा र एजेण्डा मिल्नेसँग मोर्चाबन्दी हुनेछ।

काठमाडौँ । मधेसमा पहिचानवादी शक्तिहरूको बिचमा ध्रुवीकरण भइरहेको छ । फागुन २१ गते हुने चुनावअघि दलहरूको बिचमा सकेसम्म एकता गर्ने, एकता हुन नसकेका दलहरूको बिचमा गठबन्धन वा तालमेलको गृहकार्य सुरु भइसकेको छ । 

मधेस केन्द्रित ६ वटा दल मिलेर संघीय लोकतान्त्रिक मोर्चा बनेको छ । यस अतिरिक्त राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच कार्यगत एकता भएको छ । 

डा. सीके राउत नेतृत्वको जनमत पार्टी र अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी कुनै मोर्चा वा गठबन्धनमा छैनन् ।

जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चाबाट आफूलाई अलग गराइसकेको छ । रुपन्देही–२ मा हुने भनिएको उपनिर्वाचनलाई लिएर मोर्चामा कुरा नमिलेपछि जनमत पार्टी अलग भएको हो । 

संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी अवद्ध छन् । 

मोर्चामा रहेका दलहरूको बिचमा एकताकै लागि प्रयास भइरहेको छ । सम्भव भएसम्म मोर्चामा आवद्ध दलहरूले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने, नभए चुनावी तालमेल गरेर सिट बाँडफाँटको तयारी गरेका छन् ।

  • एकताका लागि प्रयास

मोर्चामा आवद्ध दलहरू बिच एकता गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । सो सहमति कार्यान्वयनका लागि दलहरूको बिचमा आन्तरिक छलफल चलिरहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशलकुमार सिंहले बताए । उनले भने, ‘मोर्चामा आवद्ध दलहरूको बिचमा एकता नै हुने गरी गृहकार्य सुरु भएको छ । दलहरूको बिचमा आन्तरिक छलफल चलिरहेको छ । एकता नभए अर्को विकल्पमा जाने कुरा हुन्छ ।’

राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबिच एकताका लागि गृहकार्य चलिरहेको छ । राष्ट्रिय मुक्ति पार्टीले जनमुक्ति पार्टीसँग पनि एकताका लागि प्रयास गरिरहेको छ । 

यता, लोसपा नेपाल र जसपा नेपालबिच एकताका लागि छलफल अगाडि बढिसकेको छ । अर्कोतिर लोसपा र तमलोपाबिच पनि एकताका लागि आन्तरिक गृहकार्य चलिरहेको छ । त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग पनि लोसपाले एकताको लागि प्रयास थालेको छ ।

उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालले अशोक राई नेतृत्वको जसपालाई एकताका लागि प्रस्ताव गरिसकेको छ । मोर्चामा रहेका वा नरहेका दलहरू बिच ध्रुवीकरणका लागि तीव्र रूपमा गृहकार्य अगाडि बढेको यी घटनाक्रमले नै पुष्टि गरेको छ । मुद्दा–एजेण्डामा नजिक रहेका दलहरू आपसमा एकताका लागि प्रयास गरिरहेका छन् । 

जसपा नेपालका महासचिव इस्तियाक राईले मुद्दा, एजेण्डा मिल्नेसँग मोर्चाबन्दी वा एकता गर्ने निर्णय पार्टीले गरिसकेको बताए । एकता तथा मोर्चाबन्दीका लागि विभिन्न दलबाट प्रस्ताव आएको बताउँदै उनले दलहरूसँग आन्तरिक छलफल भइरहेको जानकारी दिए । ‘एकताका लागि प्रयास भइरहेको छ । एकता नभए कार्यगत एकता, मोर्चान्दी गरेर अगाडि बढ्ने तयारी छ,’ उनले भने ।

लोसपा नेपालका महासचिव मनिष मिश्रले अहिले एकता र मोर्चाबन्दी अपरिहार्य रहेको बताए । उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता एकता नै हो, एकता नभए अरु विकल्पमा पनि जान सकिन्छ तर सबै दल तथा शक्ति एक ठाउँमा रहने सोच र तयारी हो ।’

  • मोर्चा वा गठबन्धन

तराई मधेसमा एकताका प्रयासका साथै विभिन्न दलको बिचमा मोर्चाबन्दी वा गठबन्धन पनि भइरहेका छन् । महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोहरूले संघीय लोकतान्त्रिक मोर्चा बनाएर कार्यगत एकता गर्दा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा संघीय गणतान्त्रिक गठबन्धन बनेको छ ।

सो गठबन्धनमा नेपाल संघीय समाजवादी पार्टीसहित, हरिनन्दन अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी, ध्रुवलाल मिसाद नेतृत्वको नेपाल जनशक्ति पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी र बद्री ठाकुर नेतृत्वको ऐतिहासिक जनता पार्टी छन् । 

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले अशोक राई नेतृत्चको जसपासँग एकताका लागि प्रस्ताव गरिसकेका छन् । दुई दलको बिचमा यसबारे प्रारम्भिक कुराकानी पनि भएको छ ।  

यता, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जसपाबिच कार्यगत एकता भइसकेको छ । दुई दलबिच अब पार्टी एकताका लागि प्रयास भइरहेको छ । 

जनमत पार्टीले एकता तथा मोर्चामा त्यति बल गरेको देखिँदैन । सुरुमा संघीय लोकतान्त्रिक मोर्चामा सामेल भए पनि अहिले निष्क्रिय छ । सो पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा आफूहरू पार्टीको संगठन बनाउनै केन्द्रित रहेको बताउँछन् । उनले भने, ‘मोर्चा वा एकता केका लागि भन्ने नै स्पष्ट छैन, त्यही भएर हामीले त्यतातिर ध्यान नदिएर आफ्नै संगठन बनाउन केन्द्रित छौँ ।’

संघीय लोकतान्त्रिक मोर्चा संविधान संशोधनका लागि दबाब दिन बनेको थियो, तर पछि चुनावमा केन्द्रित भयो । त्यसमा आफूहरूको असहमति रहेको कुशवाहाले बताए । संविधान संशोधन, संघीयता तथा गणतन्त्रलाई थप सुदृढ गर्नमा आफूहरूको सहकार्य हुनसक्ने उनको भनाइ छ । यद्यपि मिलेर चुनाव लड्ने, तालमेल गरेर चुनाव लड्नेमा आफूहरू अहिले तयार नरहेको उनले प्रस्ट पारे ।

  • विगतका अनुभव

मधेसवादी दलहरू विगतमा पनि मोर्चा गरेरै शक्तिमा आएका थिए । सुरुमा महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मोर्चा गठन गरेर मधेस आन्दोलन गरेका थिए । 

मोर्चाकै कारण आन्दोलन सफल भयो । आन्दोलनदेखि सत्ता सहकार्यमा मोर्चालाई प्रयोग गरेका दलहरूले चुनावमा भने आ–आफ्नै ढंगले प्रतिस्पर्धामा उत्रिए । एउटै दलबाट विभाजित भएका दलहरू पनि विभिन्न गठबन्धन तथा महागठबन्धन बनाएर अघि बढेका थिए । 

यस्ता गठबन्धन, मोर्चा तथा महागठबन्धन जति बनाए पनि चुनावमा भने मधेसवादी दल एक्लाएक्लै गएका थिए । बरु कांग्रेस, एमाले, माओवादी दलसँग उनीहरूले चुनावी तालमेल गरेका थिए तर मधेसी दलहरूको बिचमा चुनावी तालमेल भएन । परिणामस्वरुप विस्तारै मधेसवादी सबै दल कमजोर हुँदै गए । 

२०७९ को चुनावसम्म आइपुग्दा ती दलहरू चार–पाँच सिटमा सीमित भए । राष्ट्रिय दल बनाउन धौधौ भयो । त्यसबाट पाठ सिकेर दलहरू यसपटक सके पार्टी एकता, नसके गठबन्धन बनाएर अघि बढ्न खोजेको लोसपा नेपालका महासचिव मिश्रले बताए । 

  • मोर्चा र एकता किन ? 

तराई मधेसका दलहरू निकै कमजोर भइसकेका छन् । कतिपय दल विभाजन भएका छन् भने कतिपय नेता मधेसवादी दलबाट निस्केर अन्य ठुला दलमा गइसकेका छन् । 

जेनजी आन्दोलनपछि त्यो चुनौती झन् थपिएको छ । जेनजी आन्दोलनपछि नेतृत्वको कुरा पनि जोडतोडले उठेको छ । मधेसवादी विभिन्न दलका शीर्ष नेता लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहे पनि मधेसको मुद्दालाई टुङ्गोमा पु¥याउन असफल हुँदै आएका छन् ।

त्यसैले ती दलहरू अहिले एकता वा मोर्चाबन्दीका लागि विशेष जोड दिइरहेका छन् । यसपटकको चुनावअघि दलहरूको बिचमा एकता गर्ने तयारी भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सिंहले बताए । यो एकता वा मोर्चा चुनावमा मात्र सीमित नरहने उनको दाबी छ । उनले भने, ‘सम्पूर्ण पहिचानवादी शक्ति एक नभएसम्म परिवर्तन सम्भव छैन ।’ पहिचानवादी शक्तिहरू एक हुनका लागि नै गृहकार्य भइरहेको उनले बताए । 

पछिल्लो समय मधेसी र आदिवासी जनजातिको बिचमा पनि सहकार्य सुरु भएको छ । यो देशमा मधेसी र जनजाति मिलेमात्र परिवर्तन सम्भव रहने सिंहले बताए । आफूहरू त्यसका लागि गृहकार्य गरिरहेको उनको भनाइ छ ।

जसपाका महासचिव राईले परिवर्तनको रक्षाका लागि एकता तथा सहकार्य आवश्यक भइसकेको बताए । ‘प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने चुनौती छ । त्यसका लागि पनि एकजुट हुनु अपरिहार्य भइसकेको छ,’ उनले भने, ‘थप अधिकारका लागि लड्न पनि एकता चाहिन्छ । त्यसैले दलहरूको बिचमा सहकार्यका लागि संवाद भइरहेको छ ।’

महासचिव मिश्रले यो एकता वा मोर्चाबन्दी चुनावमा मात्र सीमित नरहने दाबी गरे । अहिले संघीयता जोगाउनका लागि जनकपुरमा भइरहेको आन्दोलनमा सबै मधेसवादी दलको साथ र सहयोग रहेको उनको भनाइ छ ।

देशको गणतन्त्र र संघीयता नै खतरामा रहेको भन्दै उनले त्यसलाई जोगाउन मधेसवादी दलहरू एक हुनुपर्ने आवश्यकता औँल्याए । मधेस सरकार गठनका लागि एमालेले अपनाएको शैली र उसका गतिविधिले सबैलाई संशकित बनाएको मिश्रको भनाइ छ । त्यसले नै मधेसमा धु्रवीकरण बढाएको उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप